विभाजनपछि झन् तन्किएको एमाले – Nepal Press
विचार

विभाजनपछि झन् तन्किएको एमाले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला देशव्यापी चुनावी दौडाहामा छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ओली विगत एक महिनामा पूर्वको इलामदेखि पश्चिमको बझाङसम्मका २५ भन्दा बढी जिल्ला पुगेका छन् ।

मुलुकका विभिन्न स्थानहरुमा गइरहँदा उनले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत स्थानमा जित्ने दाबी गरिरहेका छन् ।

पार्टीको बेइज्जत गर्नेहरु र गुटबन्दी गर्नेहरु बाहिरिएर पार्टीमा शुद्धीकरण आएकोले पार्टी थप बलियो भएको उनको भनाइ छ । पार्टीका संगठित सदस्य सङ्ख्या ११ लाख पुगेको र एमालेप्रति जनआकर्षण बढेकाले पार्टी फुटपछि झनै बलियो र शक्तिशाली भएको पुष्टि विभिन्न आधारमा गर्न सकिन्छ ।

संगठित सदस्य ११ लाखभन्दा बढी

एमाले केन्द्रीय कार्यालयका अनुसार २०७८ चैत मसान्तसम्ममा एमालेको संगठित सदस्यको संख्या ११ लाख नाघेको छ । गत वर्ष मंसिरमा सम्पन्न १० औँ महाधिवेशनमा नेकपा एमालेको सङ्गठित सदस्य ८ लाख ५५ हजार थियो । यसबीचमा २ लाख ५० हजारभन्दा बढी एमालेका सदस्य थपिएका छन् ।

चुनाव नजिकिएसँगै कांग्रेस, माओवादी, जसपा, लोसपालगायतका पार्टी परित्याग गरी दिनप्रतिदिन एमालेमा प्रवेश गर्नेहरुको संख्या बढ्दैछ । पछिल्लो समयमा अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने नेतादेखि कार्यकर्ताहरुको संख्या जोड्दा एमालेमा संगठित सदस्य १३ लाख नाघ्ने अनुमान गर्न सकिन्छ । यस आधारमा एमाले विगतभन्दा झनै बलियो र शक्तिशाली देखिन्छ ।

२०७४ को चुनावी परिणाम

अघिल्लो निर्वाचन अर्थात् २०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा चुनाव भएको थियो । त्यसबेला एमाले सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो ।

निर्वाचन आयोगका अनुसार पाँच वर्षअघि ३५ हजार २१८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । उक्त चुनावमा एमाले एक्लैले झण्डै ४२ प्रतिशत जनप्रतिनिधि जितेको थियो ।

एमालेबाट १४ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमा स्थानीय तहको प्रमुख वा अध्यक्ष २९४, उपप्रमुख वा उपाध्यक्ष ३३१, वडा अध्यक्ष २,५६० र वडा सदस्य १० हजार ९१२ जना एमालेबाट निर्वाचित भएका थिए ।

त्यस्तै माओवादी केन्द्रसँग स्थानीय तहमा गठबन्धन गरेको कांग्रेसबाट ११ हजार ४५४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । कांग्रेसले २६६ प्रमुख, २२३ उपप्रमुख वा उपाध्यक्ष, २,२८६ वडा अध्यक्ष र ८ हजार ६७९ वडा सदस्य जितेको थियो । कांग्रेस स्थानीय तहको ३२.५ प्रतिशत जनप्रतिनिधि आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

कांग्रेससँग मिलेर चुनाव लडेको माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा स्थापित भएको थियो । जुन १५.४ प्रतिशतमात्रै हो । उक्त चुनावमा कांग्रेस–माओवादीले सहकार्य गरे पनि सोचेअनुसार परिणाम हासिल गर्न सकेका थिएनन् । यतिखेर पनि परिस्थिति उस्तै देखिन्छ । गठबन्धन असफल भएको त्यतिबेलाको परिणामका आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

मनोवैज्ञानिक त्रासमा नेपाली काङ्ग्रेस

यतिबेला नेपाली काङ्ग्रेस एमालेसँग एक्लै चुनावमा जान डराइरहेको छ । विगतमा माओवादीसँग एकता गरेर चुनाव लडेको काङ्ग्रेसले निराशा हात पारेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँग कति त्रस्त देखिन्छन् भन्ने कुरा केन्द्रीय समितिको बैठकमा गठबन्धनविना चुनाव जित्न सकिँदैन भन्ने दिएको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

विगतको निर्वाचनले काङ्ग्रेसभित्र एक खालको मनोवैज्ञानिक त्रास सृजना गरिदिएको छ ।

अदालतको परमादेशबाट ९ महिनादेखि सरकारमा रहेको गठबन्धनका दलहरु एमालेविरुद्ध एक भएका छन् । दलीय आधारमा एक्लाएक्लै चुनाव लड्ने हिम्मत र सामथ्र्य देखाउन भने सकेका छैनन् । उनीहरुको उद्देश्य, ध्येय र चिन्ता आफूले चुनाव जित्नेभन्दा एमालेलाई कसरी हराउने भन्ने देखिन्छ ।

संयोग- त्यसबेला पनि कांग्रेस–माओवादीको सत्ता गठबन्धन थियो र प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै थिए । अहिले पनि एमाले विपक्षमा छ । कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नभइसकेकोले यो चुनाव काङ्ग्रेसका लागि त्यति सहज देखिँदैन । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

विभाजनको क्षतिपूर्ति पूर्वमाओवादीबाट

गत स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेका १४ हजार ९७ जनप्रतिनिधिमध्ये गत असोजमा पार्टी विभाजित भएपछि एक हजार ५०१ जना (करिब १० प्रतिशत) ले एकीकृत समाजवादी रोजेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । कार्यकर्ता तहमा जम्मा ४ प्रतिशत संगठित सदस्य माधव नेपालसँग गएको एमालेको हिसाब छ ।

यसको क्षतिपूर्ति एमालेमा पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतका वरिष्ठ नेताहरू र हालै प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म माओवादीको ठूलो पंक्तिसहित करिब ७ प्रतिशत एमालेमा समाहित भएको सङ्ख्यालाई हेर्ने हो भने एमाले पहिलेभन्दा शक्तिशाली र मजबुत भएको आँकलन गर्न सकिन्छ । माधव नेपालले लिएर गएका नेता कार्यकर्ताको पुर्ताल पूर्वमाओवादीबाट भइसकेकोे छ । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली छ भन्ने देखिन्छ ।

मधेसमा एमालेप्रतिको आकर्षण बढ्दो

२०७४ को स्थानीय तह निर्वाचनका बेला केपी शर्मा ओलीलाई मधेसविरोधी नेता र एमालेलाई मधेसविरोधी पार्टीको विम्बको रूपमा प्रयोग गरिएको थियो ।
त्यसबेला एमाले खुलेर मधेस पस्ने सम्भावना नै थिएन । मधेसमा एमालेविरुद्धको जनमतको बिगबिगी थियो । त्यति बेला देशका विभिन्न ठाउँमा भएका सयौं आमसभामा अध्यक्ष ओलीले सम्बोधन गरे पनि मधेसका दुईवटा आमसभामा मुस्किलले पुग्ने वातावरण बनेको थियो ।

राजमार्ग छेउका क्षेत्रहरू बर्दिबास र चन्द्रनिगाहपुरमा मधेसवादी दलको अवरोधका बीच अध्यक्षले आफ्नो उपस्थिति देखाएका थिए । यतिखेर दैनिक हजारौंको संख्यामा मधेसका नेता–कार्यकर्ताहरु अन्य पार्टी त्यागेर एमाले प्रवेश गरिरहेका छन् । मधेस एमालेमय बनिरहेको छ । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

ओलीप्रति युवापुस्ताको आकर्षण

यतिखेर विशेष गरी युवापुस्ता नेकपा एमाले र केपी शर्मा ओलीप्रति आकर्षित देखिन्छ । अहिलेको चुनावमा अत्यधिक ठूलो संख्यामा युवा र नयाँ मतदाता छन् । त्यसमा पनि ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अत्यधिक छ । एमालेका संगठित सदस्यमध्ये झन्डै ५० प्रतिशत युवा छन् ।

उनीहरुको मनोविज्ञान नेकपा एमाले नजिक छ । गतिशील संगठन, जनतामा घुलनशील नेता कार्यकर्ता एमालेमै छन् । ओली सरकारले गरेका दूरगामी कामहरूको प्रभाव युवा जगतमा परेको छ । रेल, इन्धन पाइपलाइन, सुरुङ, भत्किएका संरचना पुनर्निर्माण, खानी उत्खनन्, उद्योग स्थापना, रोजगारीको सृजना सबैतर्फ हेर्दा देख्नेगरी काम भएको छ । विकास र समृद्धिको पहल अन्य दलले भन्दा बढी एमालेले नै गरेको छ । एमालेले नै सुरु गरेको वृद्ध भत्ता आज एक जना वृद्धलाई जिविको चलाउन सक्ने माध्यम बनेको छ । यिनै कुराले गर्दा एमालेप्रति आम जनताको विश्वास र भरोसा अझ बढ्दै छ ।

त्यसो त चुनावी परिणाम सीधा हिसाब गरेजस्तो आउँदैन । एमालेले लिने चुनावी रणनीति कस्तो हुन्छ, कस्ता उम्मेदवार छान्छ भन्ने कुरा प्रमुख हो । एमाले विभाजन हुँदाको क्षतिपूर्ति अन्य दलबाट भइसकेकाले स्थानीय तह निर्वाचनमा एमाले नै पहिलो दल बन्ने सम्भावना झन् बलियो बन्दै गएको छ । समग्रमा भन्दा फुटपछिको एमाले विगतभन्दा बलियो र थप शक्तिशाली भएको देख्न सकिन्छ ।

(ज्ञवाली रुपन्देहीका शैक्षिक अगुवा हुन्।)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *