भागबन्डा नटुंगिदा गठबन्धनलाई संयुक्त सभा गर्नै सकस – Nepal Press

भागबन्डा नटुंगिदा गठबन्धनलाई संयुक्त सभा गर्नै सकस

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न ६ दिन बाँकी छ । तर, साझा उम्मेदवार उठाउने सहमति गरेका गठबन्धनले कहिँ पनि संयुक्त चुनावी सभा गर्न सकेका छैनन् ।

गठबन्धनले संयुक्त अपिल भने २०७८ चैत २९ मा जारी गरे । तर, तालमेलको खाका तयार हुन नसक्दा चुनावी सभा अनिश्चित भएको हो ।

मतदातामाझ पुग्न सभा अनिवार्य मानिन्छ । चुनावी माहौलका लागि गरिने सभा अहिले दलहरू एक्लाएक्लै गरिरहेका छन् ।

तालमेलको व्यावहारिक निर्णय गर्न बाँकी रहेकाले गठबन्धन दलहरूले संयुक्त चुनावी सभा गर्न नसकेको नेकपा (एकीकृत समाजवादी) का उप महासचिव डा. बेदुराम भुसालले बताए ।

‘तालमेलबारे नीतिगत निर्णय मात्र भएको तर, व्यावहारिक निर्णयपछि भने संयुक्त चुनावी सभा गरेर जनताकहाँ पुगिने छ ’, उनले भने ।

१७ चैतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जाने सहमति गरेका थिए । तालमेलको प्रक्रिया अघि बढाउन भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समितिसमेत गठन भएको छ ।

गठबन्धन दलहरूले तालमेल टुङ्ग्याएर छिट्टै संयुक्त चुनावी सभा गर्ने कांग्रेस सह महामन्त्री भीष्मराज आङ्देम्बेले बताए ।

पेचिलो बन्दै गठबन्धन

अर्कोतिर, गठबन्धन दलहरूबिच चुनावी तालमेल पेचिलो बन्दै गएको छ । मधेस प्रदेशमा तालमेलको सम्भावना कम हुँदै गएको माओवादी केन्द्रका मधेस इन्चार्ज गणेश साहले बताए ।

प्रदेश १ का केही जिल्लाबाहेकमा तालमेल हुने सम्भावना कम हुँदै गएको छ । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धब थापाले साङ्गठनिक हैसियतभन्दा बढी स्थानीय तहमा गठबन्धनका अन्य दलहरूले दाबी गर्दा समस्या पैदा भएको बताए ।

थापाले भने, ‘अन्य दलहरूले आफ्नो सांगठानिक हैसियत भन्दा माथि गएर अन्य दलहरूले दाबी गरिरहेका कारणले पनि समस्या भएको छ ।’

संखुवासभामा कांग्रेस आफैंले गठबन्धन नहुने घोषणा गरेको थियो । कांग्रेसले ७४ को स्थानीय तह निर्वाचनमा जितेको स्थानको डेढगुणा बढी स्थानमा दाबी गरिरहेको कारणले पनि गठबन्धनको सम्भावना न्यून रहेको नेकपा माओवादी केन्द्र प्रदेश १ कार्यालय सचिव मुक्ति बरालले बताए ।

वागमती प्रदेशका पनि कतिपय स्थानका कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरी रहेको कारण अधिकांश स्थानमा चुनावी गठबन्धन धरमराएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन दलहरूबीच तालमेलको विषयलाई लिएर मतभेद चुलिँदो छ ।

कतिपय स्थानमा दलहरूले आफ्नै उम्मेदवार घोषण गरेका छन् । ठाउँठाउँमा गठबन्धन दलहरूबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन कार्य तालिकाअनुसार मनोनयन दर्ता ११ र १२ वैशाखमा हुने भएको छ । ३० वैशाखमा भने मतदान नै हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर