धरान मेयरको स्वतन्त्र उम्मेदवारमा हर्क साम्पाङको चर्चा : कांग्रेस र एमालेमा कसलाई घाटा ? – Nepal Press
स्थानीय चुनाव

धरान मेयरको स्वतन्त्र उम्मेदवारमा हर्क साम्पाङको चर्चा : कांग्रेस र एमालेमा कसलाई घाटा ?

इटहरी । पछिल्ला चार वर्षमा धरानमा कसैले कुनै ठूलो नागरिक मुद्दा उठाउँछ भने त्यो हर्क साम्पाङले नै उठाउँछन् । चाहे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेतिथिको मुद्दामा होस् या काकाकुल धरानको खानेपानी संकटको बारेमा होस् । सबै मुद्दाको अग्रमोर्चामा दरिलो आवाजसहित हर्क साम्पाङ नै उभिन्छन् ।

धरानमा ढुंगा, गिटी र बालुवा उत्खननमा व्यापक आलोचना भयो । उक्त उत्खननको विरोध गरेकै कारण सबैभन्दा धेरै कसैले पेलान खाएको छ भने त्यो हर्क साम्पाङले नै हो । सूचनाको हकदेखि भ्रस्टाचारविरोधी मुद्दा त उनका सदाबहार मुद्दा हुन् ।

साम्पाङको विरोध गर्ने शैलीमा मान्छेको एकै मत छैन । उनका समर्थकहरूमात्रै होइन आलोचकहरू पनि छन् । तर, साम्पाङले उठाएका मुद्दा अलोकप्रिय छैनन् । धरानमा क्रियाशील दलहरूले उठाउन नसकेको वा उठाउन नचाहेका मुद्दा साम्पाङले जोडदार रूपमा उठाउँदै आएका छन् । आम जनताका जल्दाबल्दा मुद्दा बोक्ने भएकाले साम्पाङको अभियानको आयतन बढेको छ । उनको सामाजिक सञ्जालको लोकप्रियता बढेको छ । उनले नेतृत्व गर्ने जुलुसमा संख्या थपिएको छ, चर्चा बढेको छ ।

साम्पाङ भने दलहरूसँग रुस्ट छन् । लोकतन्त्रमा दलतन्त्र हाबी भएकोमा उनी आक्रोश पोख्छन् । साम्पाङ भन्छन्, ‘कुनै दिन यस्तो आउला कि दल मिल्दामात्रै मान्छेहरू सँगै चिया खालान् । दल मिलाएरमात्रै बसमा यात्रा गर्लान् ।’

देशका सबै निकायमा दलहरूको दलदलले स्वतन्त्र नागरिकको कुनै ठाउँ नभएकोमा उनको ठूलो विरोध छ । अस्पतालमा नागरिकले बेड नपाउने तर दलका नेताको फोन आउँदा पाइने राजनीतिक दाउपेच हेरेर आजित भएको साम्पाङले सुनाए । डेंगुको विषादी छर्दासमेत पार्टी समर्थकहरूको क्षेत्रमा मात्रै ध्यान दिने स्थिति आएको साम्पाङ बताउँछन् ।

मिडियासँग पनि उनको दुःखेसो छ । स्वतन्त्र अभियानमा मिडियाले चासो नदिएकोमा उनले असन्तुष्टि पोखे । केही अगाडि उनी धरानमा दिउँसै मोबाइलको लाइट अन गरेर हिँडे । प्रश्नकर्ताहरूले कारण सोधे । उनले उत्तर दिए, ‘धरानमा स्वतन्त्र पत्रकारहरू भेटिन्छन् कि भनेर बत्ती बालेर खोज्न हिँडेको ।’

दलदेखि मिडियासँग आजित साम्पाङ भुइँ तहका नागरिकसँगको संवादमा भने उत्साही हुन्छन् । उनको खटाइ लोभलाग्दो छ । नेपाल प्रेससँग कुरा गर्ने टुंगो लाग्दा उनी धरानको भानु चोकमा थिए । एक घन्टापछि कुराकानीको स्थानबारे सोध्दा उनी श्याम चोक नजिकैको मिलन चोकमा थिए । उनले मिलन चोकमा धराने जनताको चासो र चिन्ताको विषय सर्भे गर्दै हिँडेको भन्दै थिए ।

हातमा डायरी र डायरीभरि अक्षर देखाउँदै साम्पाङले भने, ‘जनताका मुख्य मुद्दाहरू के के छन् भनेर संकलन गर्दै हिँडेको छु ।’

शत प्रतिशत साबिक धरानेको माग खानेपानी पाएको उनले बताए । तर, धरानमा पछि गाभिएका पाँचकन्या र विष्णुपादुकावासीको माग फरक फरक भएको उनले सुनाए ।

उनले भने, ‘विष्णुपादुकाको समस्या खानेपानी होइन । त्यहाँ सडक छ तर सार्वजनिक सवारी सजिलो छैन । त्यहाँ सटल बस आवश्यक छ । सामाजिक सुरक्षाभत्ता लिन धरान बजारको बैंकमा दिनै बिताएर आउनुपर्ने बाध्यता विष्णुपादुकावासीको छ ।’

पाँचकन्याको धेरै क्षेत्रको माग धरान बजारको भन्दा भिन्न भएको साम्पाङले बताए । उनले भने, ‘मैले भेटेका धेरै नागरिकहरूले मोबाइलको नेटवर्क राम्रो नटिपेको गुनासो गरे ।’

मेयर उम्मेदवारीको विषयमा साम्पाङ सहज उत्तर दिन्छन् । उनी भन्छन्, ‘लोकतन्त्रको अधिकार चुन्ने र चुनिने हुन् । मैले दोस्रो छानेँ ।’

मुख्य दलहरू सबै सत्ताधारी भएपछि उदाएका साम्पाङ

एक कोणमा धरानका मूलधारका सबै दल सत्ताधारी छन् । सत्तापक्ष र प्रतिपक्षको कल्पना नगरिएको स्थानीय सरकारको काममा मात्रै हैन सडकमा पनि दलीय प्रतिपक्षीको अभाव छ ।

मेयरसहित ६ वडा अध्यक्ष जितेको कांग्रेस स्थानीय सरकारको नेतृत्वमा छ । उपमेयरसहित १३ वडा अध्यक्ष जितेको एमाले सत्ताकै बलियो अंग छ । नेकपा माओवादी केन्द्रको एक वडा अध्यक्ष छन् । नेकपा विभाजन अगाडिको एक पार्टीको लिगेसी र अहिले नेपाली कांग्रेससँग गठबन्धनको लय मिलेको माओवादी पनि सत्ताधारी छ । केन्द्रीय सत्तामा रहेका जसपा र नेकपा एकीकृत समाजवादीको धरानमा प्रभावशाली उपस्थिति छैन ।

सबै दल कुनै न कुनै सार र कोणबाट सत्ता पक्ष भएपछि साम्पाङले प्रतिपक्षीको स्पेस भरपुर प्रयोग गरेका छन् । दलहरूले मिलेमतोमा देश बर्बाद गरेको मुद्दा उठाएर उनी दलहरूको दलदले दृश्यविरुद्ध रहेको जनमत आफूतिर तान्ने प्रयासमा छन् ।

गत उपनिर्वाचनमा मेयर जितेको कांग्रेसले धरानलाई कायाँपलट गर्ने आश्वासन पूरा नगरेको अवस्थाले साम्पाङको प्रतिपक्षी नागरिकस्तरको अभियानले भाउ पाएको छ । अभियानले भाउ पाउनुमा उनको दुःखको पनि उत्तिकै योगदान छ ।

२०७८ साल जेठ २६ गते गिटी र बालुवा उत्खननको विरोध गर्दा उनीमाथि कुटपिट भयो । गुन्डा लगाएर आफूमाथि कुटपिट गरिएको उनको भनाइ छ ।

साम्पाङ भन्छन्, ‘स्थानीयको धेरै आग्रहपछि बोल्दा कुटपिट भयो । नगर प्रहरीले उत्खनन रोक्न आएका वनका कर्मचारीहरूलाई कुटपिट गरे ।’

आफूले जायज मुद्दा उठाउँदा प्रहरी लगाएर दमन गर्ने, थुन्ने र झूटा मुद्दा लाउने काम भएको साम्पाङको आरोप छ । उनको प्रश्न छ, ‘खानेपानीको मुद्दा लिएर मेयर तथा उपमेयरकहाँ जाँदा उहाँहरू आफ्नो कुर्सीमा नबस्ने, गाडीका गाडी पुलिस राख्ने, दमन हुने र त्यसको विरोध गर्दा गुन्डा लगाउने यो कस्तो खाले लोकतन्त्र हो ?’

धरानमा राजनीतिक दलहरू स्वार्थमा सबै मिल्ने भन्दै साम्पाङ समाजका सचेत नागरिकले मुद्धा उठाउँदा चरम दमन हुँदै आएको सुनाउँछन् ।

साम्पाङको चुनावी अभियान – ‘घरमै बसेर सहयोग गर्नू, खर्च गर्न सक्दिनँ’

साम्पाङको अभियानले धरानको मेयरमा उम्मेदवारी दिने निश्चित छ । मेयरका उम्मेदवार साम्पाङ नै हुने तय भएको छ । मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उनले केही वडामा स्वतन्त्रहरूकै सेट बन्ने जानकारी दिए । उनको चुनावी मुद्दामा धरानलाई स्मार्ट सिटी बनाउने कुरा छैन । उनको मूल मुद्दा छ, धरानेलाई पानी खुवाउने । उनको दोस्रो मुद्दा धरानलाई उपभोक्ताको सहरमात्रै नबनाइ उत्पादकको सहर बनाउने र निर्यात गर्ने रहेको छ ।

विष्णुपादुकामा उत्पादन हुने बेसार धरानमा प्रशोधन गरी निर्यात गर्नेसम्मका सामान्य काम गर्न सकिने उनी बताउँछन् । धरानलाई कंक्रिटको जंगलबाट सहर बनाउने उनको अर्को योजना छ । सुकुम्बासी उठाउने विपक्षमा छन् उनी । धरानमा बन्दै गरेको ६ लेन सडक बाइपास गरेर लाने कि बजारबाटै लाने भन्ने मुद्दामा पनि उनको फरक मत छ ।

साम्पाङले खानेपानी समितिको नाममा हरेक वडा र हरेक टोलमा समिति बनाएका छन् । समितिमा दलहरूसँग असन्तुष्ट मतदाताको बाहुल्य छ । ती मतदाताको मत साम्पाङले पाउँछन् या पाउँदैनन्, त्यो वैशाख ३० को चुनावले देखाउने नै छ ।

साम्पाङ भन्छन्, ‘अहिलेको मूल मुद्दा ६ लेन सडक हैन, खाँचो सार्वजनिक यातायात सुधार हो । ६ लेनमा हतारो आवश्यक छैन ।’

धरानमा अनधिकृत खोला उत्खनन् र बीपीको बेथिति अन्त्य जस्ता उनको चुनावी मुद्दाको फेहरिस्त लामो छ । सूचनाको सहज पहुँच र भ्रष्टाचार निवारण आफ्ना प्राथमिक मुद्दा भएको साम्पाङ सुनाउँछन् ।

धरान १८ का ४२ वर्षे साम्पाङ दुई सन्तानका पिता हुन् । धरानमा अघि बढेको खानेपानी आन्दोलनको आफू दोस्रो पुस्ता भएको बताउने उनी आफू स्थानीय सत्तामा नपुगे तेस्रो पुस्ता आउनुपर्नेमा जोड दिन्छन् ।

‘धरानको खानेपानी आन्दोलनको पहिलो पुस्ता कृष्णनारायण पलिखे हुन् । दोस्रो म हुँ । अब तेस्रो पुस्तासम्म पुग्ने डर भयो’, उनले भने । धरानको खानेपानी सरोकारको टोलस्तरीय कमिटीका सदस्य हाल एकहजार ३६५ पुगेको साम्पाङले जानकारी दिए ।

उनी चुनावी अभियानमा घरमै बसेर आफूलाई समर्थन गर्न आग्रह गर्छन् । ‘घरमै बसेर समर्थन गर्नुहोस् । खर्च गर्न सक्दिनँ’, साम्पाङले भने, ‘चुनावमा खर्च गरेपछि उठाउन मैले भ्रष्टाचार गर्नुपर्छ ।’

साम्पाङमा ओइरिएला त स्वतन्त्र धरानेको मत ?

स्थानीय चुनाव बैशाख ३० गते तोकिएको छ । धरानमा एक लाख बढी मतदाता छन् । २०७४ को चुनावमा ७९ हजार २८२ मतदाता थिए । यस वर्ष एक लाख ३२४ मतदाता पुगेका छन् । जसमा ४७ हजार ४०८ पुरुष र ५२ हजार ९१६ महिला छन् । मतदातामा युवाहरूको बाहुल्यता छ । दलहरूको सम्पर्कमा नगएका युवाहरूको मत साम्पाङले पाउलान् कि नपाउलान् त्यो प्रतीक्षाको विषय छ ।

साम्पाङले खानेपानी समितिको नाममा हरेक वडा र हरेक टोलमा समिति बनाएका छन् । समितिमा दलहरूसँग असन्तुष्ट मतदाताको बाहुल्य छ । ती मतदाताको मत साम्पाङले पाउँछन् या पाउँदैनन्, त्यो वैशाख ३० को चुनावले देखाउने नै छ ।

धरान सहर ।

२०७४ को चुनावमा एमालेका एमालेका तारा सुब्बाले ४ हजार ७७३ मतान्तरले मेयर जितेका थिए । कांग्रेसका तिलक राई १६ हजार २०२ मत ल्याई दोस्रो स्थानमा रहे । उपनिर्वाचनमा तिलक राई एमालेका प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित मेयर निर्वाचित भए । तिलकले अघिल्लो चुनावभन्दा साढे दश हजारभन्दा बढी २६ हजार ७०१ मत ल्याए ।

२०७४ को चुनावमा एमाले एक्लै लडेको थियो । उपनिर्वाचनमा एमाले र माओवादी मिलेर नेकपा (नेकपा) बनेको थियो । २०७४ को चुनावमा माओवादीका मेयर उम्मेदवारले पाएको ११ हजार १८० मत जोड्दा नेकपा (नेकपा) का प्रकाश राई झन्डै १६ हजार मतले अगाडि देखिन्थ्यो । तर, त्यो अंक गणितले उपनिर्वाचनमा काम गरेन । एमाले उम्मेदवार प्रकाश राई पराजितमात्रै भएनन्, पहिलोपल्ट धरानको स्थानीय नेतृत्व कांग्रेसको पोल्टामा गयो ।

कसलाई हो साम्पाङको ‘चेक’ ?

उपनिर्वाचनमा कांग्रेसले अत्यधिक लोकप्रिय मत पायो । अब त्यहींस्तरको लोकप्रिय मत आउने सम्भावना देखिन्न । कांग्रेससँग बिच्किएको मत साम्पाङले पाउँछन् वा पाउँदैनन् त्यो पनि प्रतीक्षाकै विषय छ ।

कम्युनिस्टसँग बिच्किएका धरानेले उपनिर्वाचनमा कांग्रेसलाई जिताए । यसपटक कांग्रेससँग बिच्किएको मत कम्युनिस्टले पाउँछ कि साम्पाङ जस्ता स्वतन्त्र उम्मेदवारले पाउँछन् त्यो हेर्न चुनावी परिणाम नै कुर्नुपर्ने हुन्छ ।

तर, एउटा आधार के देखिन्छ भने मुख्य दलहरूबाट असन्तुष्ट एवं स्वतन्त्र धराने मतदाताको रोजाइ साम्पाङजस्ता स्वतन्त्र एवं प्रभावशाली उम्मेदवार हुनेछन् ।


प्रतिक्रिया

4 thoughts on “धरान मेयरको स्वतन्त्र उम्मेदवारमा हर्क साम्पाङको चर्चा : कांग्रेस र एमालेमा कसलाई घाटा ?

  1. राम्रो विष्लेषण गर्नु भएकोमा धन्यवाद पत्रकार महोदयलाई,
    यसपालिको निर्वाचनमा अवस्य पनि हर्क साम्पाङ ज्युको प्रवल सम्भावना देखेको छु मैले चाहिँ…. आशा गरौं यो सम्भावना यथार्थमा बदलियोस र बदल्ने पनि छ धराने जनताले….. जय धरान ……जय हर्क साम्पाङ…..

    1. अबस्य पनि हर्क साम्पाङ ले जित्ने प्रबल सम्भावना छ । म पनि सपोर्ट सर्छु

  2. यसपालित मनाेज मेयाङवाेकाे चर्चा छ नि, हुनत साङपाङजिकाे पनि रहर हाेला तर धराने जनताले पुरानै अनुहार दाेहराउन लनगेकाे धेरै चर्चा सुन्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर