चुनावी तालमेल : आधार इलाका कांग्रेसले हडप्न खोजेपछि बिच्किँदै माओवादी – Nepal Press

चुनावी तालमेल : आधार इलाका कांग्रेसले हडप्न खोजेपछि बिच्किँदै माओवादी

रोल्पा-रुकुममा गठबन्धन भत्किने खतरा बढ्यो

रुपन्देही । आफ्नो आधार इलाकाका रुपमा मान्दै आएका रुकुम, रोल्पा, दाङलगायतका जिल्लामा समेत सत्तागठबन्धनको मुख्य शक्ति नेपाली कांग्रेसले ठूलो भाग खोजेपछि माओवादीका स्थानीय नेता कार्यकर्ता बिच्किएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि केन्द्रमा नेताहरू बसेर देशभर वडातहसम्म एमालेविरुद्ध गठबन्धन गरेर जाने निर्णय कार्यान्वयनमा यी क्षेत्रमा समस्या देखिएको हो ।

पहिलेको रुकुम अहिले पूर्व र पश्चिम गरी दुई जिल्लामा मात्रै होइन दुई प्रदेशमा बाँडिएको छ । माओवादीका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको नेतृत्व गर्छन् भने रुकुमपूर्व र रोल्पाको नेतृत्वमा अर्का प्रभावशाली नेता वर्षमान पुन छन् ।

त्यसो त पार्टीभित्र पनि उनीहरू दुवैजनाबीच प्रतिस्पर्धा छ । यही टकराबका कारण महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले महासचिव टुंग्याउन सकेको छैन । पूर्वीरुकुम र रोल्पामा पुनसँगै नेता कृष्णबहादुर महरा, ओनसरी घर्तीलगायत शीर्ष नेताहरूको क्षेत्र रहेको छ ।

तर, यी ठाउँमा कांग्रेसले माओवादीको भन्दा धेरै भाग खोजेको छ । यदि मागेजति सिट नपाए गठबन्धन नगर्ने कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ ।

रुकुमपश्चिम माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लासमेत रहेको माओवादीको विरासत बलियो छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको यहाँको सबै स्थानीय तहमा २०७४ मा माओवादीले जितेको थियो ।

रुकुमपश्चिममा माओवादीको प्रतिस्पर्धी नेपाली कांग्रेस हो । ७४ मा माओवादीले ५८ वटा वडा जित्दा कांग्रेसले १३ र एमाले २ वडामा सीमित थियो । यहाँ अन्य दल एकातिर र माओवादी अर्कोतिर हुँदा पनि माओवादीलाई जित्न नसक्ने माओवादी केन्द्रका नेताहरूको दाबी छ । ७४ मा बाँफीकोट गाउँपालिकामा विप्लव, राप्रपा, कांग्रेस र एमालेले गठबन्धन गर्दा पनि माओवादीलाई पराजित गर्न सकेका थिएनन् ।

स्थानीय तहको निर्वाचनलाई लिएर अहिले राजनीतिक दलहरु आ-आफ्नो गृहकार्यमा छन् । यहाँ सत्ता गठबन्धन दलहरूको बैठक बसेर जिल्लामा कुन दलको जनाधार कस्तो छ भन्ने रिपोर्ट केन्द्रमा पठाउने काम भएको नेताहरु बताउँछन् । तर, गठबन्धन बनाएर जाने कि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भन्नेमा ठोस निर्णय भने हुन सकिरहेको छैन ।

माओवादी केन्द्रका पूर्वजिल्ला अध्यक्षसमेत रहेका कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री गोपाल शर्मा गठबन्धनमा भागबण्डा लगाउँदा माओवादीलाई घाटा हुने बताउँदै आएका छन् । रुकुममा माओवादी र अन्य दलबीच मुसीकोट नगरपालिकामा मात्रै प्रतिस्पर्धा हुने गरेको उनको भनाइ छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले गठबन्धन बनाएर चुनावमा जाने-नजाने भन्ने कुरा माओवादीमा निर्भर रहने बताउँदै आएका छन् । माओवादीले ०७४ मा जितेको ठाउँमा अहिले नेतृत्व नछाड्ने भन्ने अहंकार देखाए अन्य दलहरूसँग तालमेल गरेर पनि जान सकिने भनाइ ओलीले बताएपछि विवाद अझै बढेको हो ।

एमालेले पनि काँग्रेससँग तालमेलका लागि प्रस्ताव गरेको र माओवादीले अहंकार देखाए आफूहरु त्यसतर्फ पनि सोच्न बाध्य हुने कांग्रेस नेताहरुले सार्वजनिकरूपमै व्यक्त गरेका छन् ।

ओलीले ०७४ मा मुसीकोट नगरपालिकामा राम्रो जनमत हुँदाहुँदै पनि आफ्नै आन्तरिक कारणले पराजित भएको बताए । अहिले अन्य दुई पालिकामा पनि काँग्रेसको राम्रो जनमत भएकाले काँग्रेसले विगतको भन्दा फराकिलो जनमत ल्याउन सक्ने उनको आंकलन छ ।

रोल्पामा माओवादी एक्लै लड्ने पक्षमा

रोल्पा जिल्लामा गठबन्धनको मुख्य दल माओवादी केन्द्रलाई ठेस पुग्नेगरी नेपाली कांग्रेसले आधा हिस्सा मागेको भन्दै माओवादी एक्लै लड्ने पक्षमा पुगिसकेको छ । यहाँ गठबन्धन दलहरू बैठक बस्ने र छलफल गर्ने गरिरहेकै समयमा एकाएक कांग्रेसको विज्ञप्ति आएपछि मनमुटाव सुरू भएको हो ।

गठबन्धन हुने विषयमा छलफल चलिरहेका बेला कांग्रेस रोल्पाले विज्ञप्तिमार्फत नयाँ सर्त अघि सारेपछि थप अन्योल उत्पन्न भएको हो । कांग्रेसले आधा हिस्सा मागेपछि गठबन्धनभित्रका दलहरूमा झन् अविश्वास मात्रै जगाएको छैन माओवादीले दबाबका लागि कांग्रेसले चालेको कूटनीतिक चाल भनेर एक्लै अगाडि जानेसम्मको तयारी गरेको छ ।

गत चैत २० गते माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र घर्ती मगरको संयोजकत्वमा कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका प्रतिनिधि रहेको गठबन्धन कार्यदल बनाइएको छ । चारपटक संयुक्त बैठक बसिसकेको कार्यदलले कुनै ठोस योजना र निर्णय गर्नसकेको छैन । गठबन्धनका संयोजक माओवादी केन्द्रका जिल्ला अध्यक्ष घर्तीमगरले कांग्रेसको विज्ञप्तीले विश्वासको वातावरणमा आशंका ल्याएको बताए । गठबन्धनमा छलफल भइरहेका बेला विज्ञप्ति निकालेर भिन्न परिस्थिति ननिम्त्याएको भए राम्रो हुने उनको भनाइ छ ।

के छ माओवादीको आन्तरिक रणनीति ?

माओवादीले आफ्नो शक्ति जाँच्नका लागि प्रारम्भिक सर्वेक्षण पनि गराएको छ । यो सर्वेक्षणमा सबै तहमा प्रमुख र उपप्रमुखसहित ५८ वटा वडामा एक्लै निर्वाचनमा जित हासिल गर्ने निष्कर्ष निकालिएको सूचना कांग्रेस नेताको कानमा परेपछि नै कांग्रेसले त्यो खालको विज्ञप्ति निकालेको बुझिएको छ । स्थानीय नेताहरू सकेसम्म यो जिल्लामा गठबन्धन नभए नै पार्टीलाई फाइदा हुने माथिल्लो तहका नेताहरूलाई सर्वेक्षणका आधारमा सुनाएका छन् ।

यहाँ कांग्रेसले २०४९ र २०५४ को स्थानीय निर्वाचनमा बहुमत ल्याएको सम्झेर अहिले गठबन्धनमार्फत पुरानै शक्ति आर्जन गर्ने गरी तयारी गरेको माओवादी बुझाइ छ । यही सूचना पाएका माओवादीका स्थानीय नेताहरू यस्तो अवस्थामा कांग्रेसलाई बोक्न नहुने सुझाव नेताहरूलाई गरेका छन् । माओवादी र कांग्रेसको यही आन्तरिक विवादमा खेलेर नेकपा एमालेले केही पालिकामा जित निकाल्ने रणनीति बनाएको छ । १० पालिका रहेको जिल्लामा गठबन्धनमा नरहेका दलको साथ लिएर आफ्नो उपस्थिति देखाउने रणनीतिमा छ एमाले ।

कांग्रेसले १० वटा तहमध्ये ५ वटामा अध्यक्ष र बाँकी ५ वटा तहमा उपाध्यक्षसहित ३६ वटा वडामा वडाध्यक्षलाई उम्मेदवार सुनिश्चित गर्न सार्वजनिक माग गरेको हो । कांग्रेसले सबैमा आधा हिस्सा खोजेपछि जिल्लामा ठूलो मानिएको माओवादी केन्द्रका नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसले एक स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष जितेको थियो भने १२ वटा वडा अध्यक्ष विजयी भएका थिए । ७२ वटा वडामध्ये माओवादी केन्द्र एक्लैले ४८ वडामा जितेको थियो । रोल्पाका ९ मध्ये रोल्पा नगरपालिकासहित माओवादी केन्द्रले ७ तहमा प्रमुख र उपप्रमुख जितेको थियो । जिल्ला समन्वय समितिमा उक्त दलको एकलौटी प्रतिनिधित्व भएको थियो ।

अघिल्लो निर्वाचनमा एमालेले भने दुई वटा तहमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको थियो । एमालेले अन्य १० वटा वडामा वडाध्यक्ष जितेको थियो ।

माओवादीको आधार इलाका रुकुम पूर्वमा रहेका तीनै पालिका गत स्थानीय तहमा माओवादीले सबै जितेको थियो । तर, यहाँ पनि कांग्रेसले बराबरी भाग खोजेपछि माओवादी असन्तुष्ट भएको हो ।

दलहरूबीच आ-आफ्नो दाबी कायमै राखेपछि जिल्लास्तरबाट सबै पालिकामा गर्न खोजिएको गठबन्धन प्रयास सफल हुन नसकेको र तालमेलको सम्भावना पनि क्षीण हुँदै गएको एक नेता बताउँछन् ।

माओवादीको बलियो क्षेत्र मानिएको यो जिल्लामा नेपाली कांग्रेसले गठबन्धनमा जाँदा समान हैसियत खोजेपछि माओवादी केन्द्रले अस्वीकार गरेपछि यस्तो अवस्था आएको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पनि आफ्नो अस्तित्वसहितको समानजनक भागबन्डा हुनुपर्ने बैठकमा राखिरहेका छन् ।

यद्यपि दलहरूले पालिका र वडामा गठबन्धन गर्न चाहेमा उनीहरूले नै निर्णय गर्ने अधिकार भने दिएको र पालिका तथा वडालाई तालमेलका लागि जिम्मा दिइएको नेपाली कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्काले नेपाल प्रेसलाई बताए ।

वडामा मात्रै वा कुनै एक पालिकामा गठबन्धन हुन सकेको खण्डमा त्यतिमा मात्रै भए पनि गठबन्धन गर्ने कुरामा सबै दल सहमत भएको उनले बताए । तीन पालिका रहेको यो जिल्लामा गत स्थानीय तहको निर्वाचनमा तीनै पालिका माओवादीले जितेको थियो भने दुई स्थानमा मात्रै कांग्रे प्रतिस्पर्धामा थियो ।

यस्तो थियो अघिल्लोपटक रोल्पा, रुकुमपूर्वको चुनावी अवस्था

रोल्पा

१. त्रिवेणी गाउँपालिका- एमाले (३३३३), माओवादी(३११२), कांग्रेस(९८४)

२. थवाङ गाउँपालिका- माओवादी (१९९०), कांग्रेस(९६५), एमाले( १२०)

३. दुईखोली गाउँपालिका- माओवादी (४६०८), कांग्रेस (१९८९), एमाले (६५९)

४. माडी गाउँपालिका- माओवादी (३१८२), कांग्रेस(२६२१)

५. रुन्टीगढी गाउँपालिका- एमाले (३४०२), कांग्रेस (३२७९), माओवादी (३१०८)

६. लुङग्री गाउँपालिका- कांग्रेस (३१२५), माओवादी (२९१०), राप्रपा (१०११), एमाले (७०९)

७. सुकिदह गाउँपालिका- माओवादी (२४१४), एमाले (२२९०), कांग्रेस (२२६१)

८. सुनछहरी गाउँपालिका, माओवादी (२५६१), कांग्रेस (११३६), एमाले (९४७)

९. सुवार्णवती गाउँपालिका- माओवादी (४१५५), कांग्रेस (३०६०), एमाले (१०१९)

१०. रोल्पा नगरपालिका- माओवादी (५६३४), कांग्रेस (३८२७), एमाले (४७८)

रुकूमपूर्व

१. पुथाउत्तरगंगा गाउँपालिका- माओवादी (२५५१), एमाले (१२३६), कांग्रेस (१११४)

२. भुमे गाउँपालिका- माओवादी (३४८२), कांग्रेस (१७१४), एमाले (४४२)

३. सिस्ने गाउँपालिका- माओवादी (३२९६), कांग्रेस (२४७१), एमाले (४६)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर