प्रदेश नम्बर १ मा गठबन्धन हुने सम्भावना कमजाेर बन्दै – Nepal Press

प्रदेश नम्बर १ मा गठबन्धन हुने सम्भावना कमजाेर बन्दै

विराटनगर । प्रदेश नम्बर एकमा गठबन्धन गरेर जाने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गएको छ । गठबन्धन दलहरूले पटक पटक छलफल गरे पनि सहमतिको सम्भावना काम हुँदै गएको हो ।

विराटनगरस्थित वि होटेलमा शनिवार साँझ बसेको संयुक्त बैठकमा कुनै निर्णय भएको थिएन । आइतबार पनि बैठक बसेर सहमति जुटाउने भनिए पनि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

कुन पालिकामा कस्तो शक्ति के ? भन्ने विषयमा यकिन तथ्याङ्क नहुनु र अहिले कुन पालिका कुन पार्टीलाई दिने भन्ने विषय नै पेचिलो बन्दै गएको हो ।

मोरङको हकमा कुन पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठिक हुन्छ भन्ने विषयमा सुझाव पेस गर्न गठित कार्यदलको बैठक बस्दै गर्दा बाहिर भने कांग्रेसका कार्यकर्ताले गठबन्धन विरुद्ध नाराबाजी गदै आएका छन् ।

कांग्रेस कार्यकर्ताले गठबन्धन गर्न नहुने भन्दै विराटनगरस्थित पार्टी कार्यालयमा निरन्तर धर्ना समेत दिँदै आएका छन् । जसका कारण कांग्रेस धर्म सङ्कटमा फसेको छ ।

माओवादी प्रदेश १ का सचिव गणेश उप्रेती गठबन्धन भित्रका नेताहरू कांग्रेसको पार्टी कार्यालय भित्र बैठक चलिरहँदा बाहिर भने कांग्रेस कार्यकर्ता गठबन्धन गर्न हुन भनेर आफूहरुविरुद्ध कार्यकर्ताहरूलाई नाराबाजी गर्ने लगाउने कामले काँग्रेसले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

‘बाहिर नाराबाजी गर्नेभित्र हामीलाई राख्ने काँग्रेसको दोहोरो चरित्र अन्त्य नभएसम्म छलफल गर्नुको औचित्य देखिँदैन’सचिव उप्रेतिले भने,‘हामीलाई बैठकमा भित्र राखेर बाहिर हाम्रा विरुद्ध नाराबाजी गर्न लगाउने काँग्रेसको दोहोरो चरित्र अन्त्य नभएसम्म छलफल गर्नुको औचित्य देखिँदैन ।’

तर पनि उनले मोरङसहित प्रदेश १ का सबै स्थानीय तहमा गठबन्धन भने एक सय एक प्रतिशत हुने दाबी गरे ।

उनले भने, ‘पाँच गठबन्धन भित्रका दलहरूबिच चुनावी तालमेल गर्ने विषयमा घनीभूत रूपमा छलफल र वार्ता जारी छ । हामी सहमति नजिक पुगेका छौ ।’

उनले कांग्रेसले चुनावी तालमेलका लागि अलमल गरे अन्य दलहरूसँग ‘उपगठबन्धन’तयार गरेर भए पनि जान सकिने बताए ।

नेपाली कांग्रेसका प्रदेश अध्यक्ष उद्धव थापाले केन्द्रको मापदण्ड अनुसार प्रदेश १ मा सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेल हुने बताए । तर केन्द्रको मापदण्ड बाहिराएर गठबन्धन भित्रकै दलहरूसँग चुनावी तालमेलको सम्भावना नहरेको थापाको भनाई छ ।

‘कांग्रेस केन्द्रको सहमतिलाई जिल्ला र स्थानीय तहमा अक्षरशः पालना गर्न तयार छ’ अध्यक्ष थापाले भने, ‘तर गठबन्धन भित्रकै साथीहरूले केन्द्रको मापदण्ड बाहिर गएर डिमान्ड राख्ने काम हुँदै आएको छ । यो कुरा मान्य हुँदैन ।

गठबन्धन गर्नलाई गत निर्वाचनमा दलहरूले पाएको मताभरलाई आधार बनाइएको छ ।

प्रदेश १ मा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनको एक घटक भएकाले चुनावी तालमेलमा समेटेर लैजानुपर्ने उनको भनाई छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रदेश १ मा गठबन्धन चुनावी तालमेल प्रस्ताव राखेकाले सहकार्यका लागि केन्द्रबाट निर्णय गरी पठाउन भनिएको अध्यक्ष थापाले बताए ।

यता एमालेका प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले एमालेले केही स्थानीय तहबाहेक अन्य स्थानीय तहमा उम्मेदवार सिफारिस गर्ने काम स्थानीय कमिटीले पूरा गरेको बताए ।

प्रदेश १ का १३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेसी जनअधिकर फोरमले ३, राप्रपाले ३, सङ्घीय समाजवादी फोरमले २ स्थानमा जित हासिल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर