सहमति अनुसार पोष्टमार्टम भएपनि पीडितले बुझेनन् अमृताको शव – Nepal Press

सहमति अनुसार पोष्टमार्टम भएपनि पीडितले बुझेनन् अमृताको शव

प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेको गुनासो

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा बुधबार राति रहस्यमय ढंगले मृत्यु भएकी २९ वर्षीया अमृता टण्डन खत्रीको शव पोस्टमार्टम गरिएको छ ।

रुपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने लिखित प्रतिबद्धता जनाएपछि मृतकका माइती पक्ष पोष्टमार्टमका लागि सहमत भएका हुन् । शनिबार भएको सहमतिपछि आइतबार मृतकको पोष्टमार्टम भएको हो । शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान टोलीबाट घटनाको अनुसन्धान गर्ने, पोष्टमार्टमको फोरेन्सी ल्याब एक्पटको रोहबरमा पीडित पक्षले चाहेको हस्पिटलमा गराउन प्रशासनले सहयोग गर्ने र शन्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी दमनको छानबिन हुने सहमतिपछि पोष्टमार्टमका लागि सहमत भएका थिए ।

सहमतिअनुसार पोष्टमार्टम भएपनि अन्त्येष्टिका लागि शव जिम्मा लिइएको छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख रबिन्द्र रेग्मी, प्रवक्ता डीएसपी नवरत्न पौडेलको उपस्थिति रहेको बैठकमा पीडितहरूसँग सहमति भएको थियो । गत चैत्र ३० गते तिलोत्तमा नगरपालिका-२ ड्राइभर टोल बस्ने २९ वर्षीया अमृता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको थियो । सोही दिन साँझ झण्डै ८:३० बजे माइतबाट सकुशल घर पुगेकी अनिताको पौने १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

माइती पक्षले हाँसीखुसी ८:३० बजे माइतबाट घर जानु, घर पुगेको १ घण्टामा बाँच्न चाहेको भन्दै गुहार मागेर दाइलाई म्यासेज पठाउनु, घटनास्थलमा विषादीको बट्टा फेला पर्नु, विष सेवन गरेको भनिएको कोठाको ढोका खुल्लै रहनु तथा सो कोठामा विष सेवन गरेपछि हुनसक्ने कुनै गतिविधि भएको नदेखिनु (ओछ्यान-कपडा साविक अवस्थामा रहेको) बाट अनिताको हत्या भएको दाबी गर्दै आएका छन् ।
अमृताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डन, सासूससुरालाई पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा आइतबार माइती पक्षले आफ्नै घर पत्रकार सम्मेलन गरेर निष्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै मृतक अनिताका दाजु पुष्प खत्रीले मुद्दा दर्ता नै नगरी २ दिनसम्म बुटवलका नायव प्रहरी उपरीक्षक ठगबहादुर केसीले मुद्दा दर्ता भइसकेको भनेर आफूहरुलाई अन्याय गरेको बताए ।

कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गर्न डीएसपीले आनकानी गर्नु र न्याय माग्न प्रहरी कार्यालय पुगेका आफन्त र शुभचिन्तकहरूलाई डीएसपीकै आदेश र संलग्नतामा अमानवीय ढंगबाट दमन गरिएबाट पनि निष्पक्ष अनुसन्धानमा आशंका रहेको खत्रीले बताए ।

बैशाख २ गते इलाका प्रहरी कार्यालय बुटवल पुगेका मृतकका माइती र आफन्तहरुलाई प्रहरीले निर्ममतापूर्वक कुटपिट गरेको अमृताका माइती पक्षले बताउँदै आएका छन् । सोही घटनामा रिपोर्टिङ गर्न पुगेका ५ जना पत्रकारहरु बुटवल प्रहरीको शिकार बनेका थिए । पत्रकारमाथि हातपात र दुव्र्यवहार भएको थियो ।

उता माइती पक्षको आरोपको खण्डन गर्दै बुटवल प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले भने पीडितहरुको मुद्दा तुरुन्त दर्ता गरी अनुसन्धान सुरु गरिएको बताए । अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

माइती पक्षले कर्तव्य ज्यानमा जाहेरी दिएको प्रहरीले जनाएको छ । सात वर्ष प्रेमविवाह गरेकी अमृतको ५ वर्षीय छोरा छन् । भदौ महिनामा दुई जनाबीच विवाद बढेपछि वडा कार्यालयमा पुगेर विवाद नगर्ने सहमति भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *