सशस्त्रको रिक्त एआईजी दौडमा चारजना, को बन्ला भावी आईजीपी ? – Nepal Press

सशस्त्रको रिक्त एआईजी दौडमा चारजना, को बन्ला भावी आईजीपी ?

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीमा चारजना नायब महानिरीक्षक (डीआईजी) ले आवेदन दिएका छन् ।

राजु अर्याल, नारायणदत्त पौडेल, सिपी गौतम र वंशी दाहालले बढुवा समितिमा निवेदन बुझाएका हुन् ।

यसअघि पुष्पराम केसीले आईजीपी नियुक्त भएकै दिन गत बुधबार रिक्त एक एआईजी दरबन्दीका लागि तीन दिनभित्र दरखास्त दिन सूचना आव्हान गरेका थिए । आवेदन दिएकामध्ये अर्याल, पौडेल र गौतम एउटै मितीमा डीआईजी भएका हुन् भने दाहाल भने उनीहरूभन्दा केही समयपछि बढुवा भएका थिए ।

अर्याल, पौडेल र सुवेदीले २०५४ चैतमा नेपाल प्रहरीमा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका हुन् । गौतम २०५२ सालमा नेपाल आर्मीबाट सेवा प्रवेश गरेका हुन् । उनीहरु चारै जना २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि एक तह बढुवा भएर गएका थिए ।

सशस्त्र प्रहरीमा एआईजीको दुईवटा दरबन्दीमध्ये एउटा खाली छ । केसी संगठन प्रमुख बनेसागै रामशरण पौडेल मात्र एआईजी छन् ।

स्रोतका अनुसार आजै साँझ बढुवा समितिको बैठक बस्ने सम्भावना रहेको छ । समितिले सिफारिस गरेपछि कसैको उजुरी नपरे एक सातापछि मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुनेले यही वैशाख १९ देखि सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।

सशस्त्र प्रहरीमा एआईजीमध्येबाट आईजिपीमा बढुवा गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ । वर्तमान आईजीपी केसीसँगै एआईजी पौडेलले वैशाख १८ देखि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर