बुटवलको मेयरमा दाबी गर्नेमध्ये तीन पत्रकार – Nepal Press

बुटवलको मेयरमा दाबी गर्नेमध्ये तीन पत्रकार

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा तीन पार्टीबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका तीन पूर्वअध्यक्ष लड्न कस्सिएका छन् ।

नेकपा एसबाट डा. बालकृष्ण चापागाई, माओवादी केन्द्रबाट विनोद पहाडी, नेपाली कांग्रेसबाट हरि लम्साल बुटवलको मेयरका लागि मैदानमा आएका हुन् । पहाडीले आफ्नो पार्टीबाट सर्वसम्मत आफ्नो नाम अनुमोदन गराएका छन् भने चापागाईँले पनि करिब टुंगाएका छन् । लम्साल पनि आफ्नो पार्टीबाट मुख्य दाबेदारको रूपमा सिफारिस भएका छन् यद्यपि उनको नाम टुंगिसकेको छैन ।

नेकपा माओवादी केन्द्रबाट बुटवलको मेयरका लागि महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीको नाम सर्वसम्मत अनुमोदन भइसकेको छ । उनी सो पार्टीको केन्द्रीय अनुशासन आयोगको सदस्य तथा प्रचार विभागको सदस्यको जिम्मेवारीमा छन् ।

‘पार्टीको भेलाबाट मलाई सर्वसम्मत गर्नुभएको हो, अरु साथीहरू पनि इच्छुक हुनुहुन्थ्यो तर मलाई अगाडि सार्नुभयो’, पहाडीले भने । माओवादीले उपमेयरमा भने मनोज राना र टीका वलीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।

नेकपा एसबाट डा. बालकृष्ण चापागाई मुख्य दाबेदार रहेका छन् । नेता माधव नेपालको नजिक रहेका चापागाई २०५४ सालमा पनि एमालेबाट मेयरको दावेदार रहेका थिए भने २०७४ सालमा पनि दाबेदार रहेका थिए ।

‘गठबन्धनबाट लुम्बिनीका उपमहानगरपालिकामध्ये हामीले मागेको बुटवल नै हो, म यसका लागि तयारी छु, पार्टी र गठबन्धनबाट सकारात्मक कुरा आउनेमा विश्वस्त छु, म ०५४ सालदेखि नै मेयरको दाबेदार रहेकाले पार्टी र गठबन्धनबाट विवेकपूर्ण निर्णय हुनेमा आशावादी छु’, चापागाईले भने ।

उनी पार्टीको केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रहेका छन् । पार्टीभित्र र बाहिर बौद्धिक नेताको छवि बनाएका उनले गठबन्धनभित्रबाट उम्मेदारी मिलाउन व्यापक दौडधुप गरेका छन् ।

यद्यपि उनकै पार्टीबाट नेता राजु गुरुङ पनि आकांक्षी रहेका छन् तर उनले संघीय सांसदमा एमाले नेता विष्णु पौडेलसँग लड्ने घोषणा यसअघि नै गरिसकेकाले नगरतर्फ नआउने आँकलन गरिएको छ ।

बुटवलको मेयरमा सत्तारुढ नेपाली कांग्रेसबाट मुख्य दाबेदार रहेका हरि लम्साल पनि पत्रकार महासंघ रुपन्देहीको पूर्वअध्यक्ष हुन् । पार्टीको क्षेत्रीय सभापतिमा दोस्रो कार्यकाल सम्हालेका लम्साल संस्थापनइतर समूहमा पर्दछन् ।

बुटवलमा कांग्रेसको इतर समूह बलियो भएको र अहिले बुटवल सभापति रहेका खेलराज पाण्डेइतर समूह भएपनि नेता बालकृष्ण खाण समूहले नरुचाउने भएकाले लम्सालले पाउने दावी उनी निकट नेताहरूले गरेका छन् ।

बुटवलमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए ।

सुवेदीले २३ हजार २४९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेलाई पराजित गरेका थिए । पाण्डेको मत २० हजार ८५१ थियो । मेयरमा २ हजार ३९८ मतको अन्तर थियो ।

उपप्रमुखमा आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् भने माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार ७९२ मत मात्र ल्याएका थिए । पोखरेल नेकपा विभाजनपछि एमालेमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर