माओवादी ‘आधार इलाका’ मा आकांक्षीका दाउपेच, टिकट नदिए विद्रोहको चेतावनी – Nepal Press

माओवादी ‘आधार इलाका’ मा आकांक्षीका दाउपेच, टिकट नदिए विद्रोहको चेतावनी

सिन्धुपाल्चोक। स्थानीय निर्वाचन २०७४ मा माओवादीबाट चौतारा साँगाचोकगढी नगरपालिकामा मेयरका आकांक्षी थिए हालका मेयर अमानसिं तामाङ र हालका वागमती प्रदेश सभा सदस्य युवाराज दुलाल ।

माओवादीले दुलाललाई मेयरमा उठाउन चाहेको थियो । माओवादी अध्यक्ष प्रचण्डसँग निकट सम्बन्ध भएकाले पनि दुलालले टिकट पाउने लगभग ‘कन्र्फम’ जस्तै थियो त्यतीबेला । टिकटका लागि तामाङ र दुलालबीच पार्टीभित्र लामै रस्साकस्सी भयो ।

माओवादी अध्यक्ष प्रचण्डले समेत तामाङलाई फोन गरेर सम्झाउन खोजे तर तामाङ अध्यक्षको भनाइमा सहमत हुन सकेनन् । पार्टीले टिकट नदिए ‘विद्रोह’ गर्ने चेतावनी समेत तामाङले दिएका थिए ।

उमेदवार मनोनयनका दिन बिहान पार्टीको बैठक चल्दै गर्दा ठूलो समुह सहित तामाङका समर्थकहरु बैठकस्थल बाहिर बसेर तामाङलाई टिकट दिन ‘दबाब’ दिएका थिए । सबैको दबाब र विद्रोह हुन सक्ने खतरा पछि दुलाल ‘ब्याक’ भए र चौतारा साँगाचोकगढी नगरपालिकाको टिकट अन्तिम समयमा तामाङले पाए ।

नगरपालिकाको मेयर भएको ५ वर्ष पुरा हुँदैछ र यो निर्वाचनमा तामाङले पुनः चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा दाबी गरेका छन् । तर माओवादी केन्द्रले यो पटक तामाङलाई टिकट दिने सम्भावना छैन । चौतारा साँगाचोकगढी नगरपालिकाबाट मेयरमा माओवादी केन्द्रीय सदस्य एवम सिन्धुपाल्चोक इञ्चार्ज समेत रहेका कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’लाई अघि सारेको छ ।

सापकोटा सभामुख अग्निप्रसाद सापकोटाको भाइ समेत हुन् । युद्धकालमा आफ्ना परिवारका सदस्य गुमाएका सापकोटा माओवादीभित्र इमान्दार र शालिन नेताको रुपमा कार्यकर्तामाझ परिचित छन् । माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकामा हालका मेयर तामाङ,उपमेयर जानुका पराजुली,केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा,जिल्ला संयोजक गोविन्द पराजुली र श्यामसुन्दर श्रेष्ठ सहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

एक्लै भिड्दा पनि जित्ने नगरपालिका

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये एक्लै निर्वाचनमा उठ्दा समेत माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकामा चुनाव जित्ने दाबी गर्दै आएको छ ।

माओवादीको ‘आधार इलाका’को रुपमा चिनिएको कुभिण्डे समेत यही नगरपालिका भित्र रहेको छ । त्यसैले माओवादीले आफ्नो आधार इलाकामा यो पटक पनि विजयी हुन चाहान्छ । तर विजयी हुने चाहानामा हालका मेयर तामाङलाई माओवादी नेताहरुले बाधक देखेका छन् ।

एक कार्यकाल मेयर भएकाले अब स–सम्मान बिदा हुनु पर्नेमा माओवादीका नेताहरुको भनाइ छ । तर मेयर तामाङ र उनका पक्षधरहरु भने ५ वर्षे कार्यकालमा नगरपालिकाभित्र धेरै विकास निर्माणका कामहरु अघि बढेको र अब एक कार्यकाल आफ्नै नेतृत्वमा त्यसलाई पुरा गर्न पनि तामाङलाई नै उम्मेदवार बनाउनु पर्नेमा जोड दिएका छन् ।

तामाङ पक्षधरबाट टिकटका लागि दबाब सुरु

उम्मेदवार मनोनयनको मिति नजिकदै गर्दा तामाङ र उनका पक्षधरहरु अघिल्लो वर्षको जस्तै गरेर पार्टीलाई सुरुमा ‘साइलेन्टली’ र त्यसपछि ‘आक्रमक’ दबाब दिने रणनीतिमा छन् । तर माओवादी नेताहरु भने यो पटक जस्तोसुकै दबाब आएपनि तामाङलाई उमेदवार बनाउने पक्षमा छैनन् ।

मेयर तामाङको छोरा एवम माओवादी जिल्ला नेता उजारसिं तामाङ ‘समर’ले सामजिक सञ्जाल फेसबुकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘बन्धु’ ले बैठकमा भनेको भन्दै स्ट्याटस लेखेका छन्– ‘अमेरिकादेखिको दबाब र प्रचण्ड स्वयम् सुकुटेमा आएर मलाई टिकट दिइसकेको छ,मैले त्यतीकै दाबी गरेको होइन।’

मेयर तामाङका अर्का छोरा रघुसिं तामाङले पनि सामाजिक सञ्जालमा लेखेका छन् ‘कुरुक्षेत्रको लडाई हुने संकेत’ । मेयर तामाङका दुवै छोराहरुको यो भनाईमा आएका अधिकांश प्रतिक्रियामा हालका मेयरलाई नै यो पटक उमेदवार बनाउनु पर्नेमा आएको छ ।

अघिल्लो स्थानीय निर्वाचनमा माओवादी उमेदवार तामाङले ७७२९ मत ल्याएर जितेका थिए भने एमाले उमेदवारले ५८०६ मत ल्याएका थिए । कांग्रेसको ४१७६ र राप्रपाको १९२५ मत रहेको थियो । अहिले चौतारा साँगाचोकगढी नगरपालिकामा कुल मतदाता ३८ हजार ६६६ रहेको छ ।

अन्य उमेदवारको तुलनामा तामाङ नै लोकप्रिय

सबैसँग मिलनासर र घुलमिल हुने स्वभावाका मेयर तामाङले चालु आर्थिक वर्षमा नगरपालिकाबाट प्रत्यक्ष रुपमा जनतासँग भेट्न् सक्ने लोकप्रिय कार्यक्रम अघि सारेका थिए । नगरबासी कसैको मृत्यु हँुदा किरीया खर्च स्वरुप ५ हजार लिएर मृत्युभएका आफन्तहरुलाई स्वम तामाङ भेट्न पुगेका थिए ।

अप्रत्यक्ष रुपमा यो मतदाताहरुको ‘साइकोलोजी’ लाई आफ्नो पक्षमा पार्ने लोकप्रिय कार्यक्रम थियो । त्यो बाहेक पनि तामाङले तामाङ समुदाय मात्रै होइन अन्य समुदायलाई पनि आर्कर्षित गर्नका लागि अन्य कार्यक्रमहरु नगरपालिकामा सञ्चालन गरेका थिए । ती सबै कार्यक्रम र योजनाले गर्दा पनि तामाङको पक्षमा धेरै कार्यकर्ता र मतदाता देखिएका छन् ।

आफन्त नातागोतासहित कम्तीमा २ हजार देखि २५ सय तामाङसँग व्यक्तिगत मत रहेको र ५ वर्षे कार्यकालमा नराम्रो काम नगरेकाले पनि यो पटक तामाङलाई उमेदवार बनाउनुपर्नेमा उनी निकटहरुको जोड रहेको छ ।

‘माओवादी केन्द्रले आफ्नो पक्षमा मात्रै निर्णय गर्ने गरेको उनीहरुको आरोप छ । भरतपुरमा पुन? छोरीलाई दो¥याउन हुने अनि सोझो तामाङको छोराले एक पटक फेरी उठ्छु भन्दा उनीहरुलाई किन समस्या भयो त?’ तामाङ निकट माओवादी केन्द्रका एक जिल्ला नेताले प्रश्न गरे । अवसर र निर्णय सबैका लागि बराबरी हुनु पर्छ । सिन्धुपाल्चोकमा पार्टी भित्रको अवसर सबै सापकोटा परिवारमा मात्रै दिनुपर्छ भन्ने छैन,यो पटक उहाँकै पक्षमा निर्णय गरोस नत्र हामी विद्रोह गछौ ती नेताले भने ।

सिन्धुपाल्चोकमा अधिवेशन र चुनाव आउनासाथ आफूहरुले पदका लागि भिख नै माग्नुपर्ने अवस्थाको अब सधैको लागि अन्त्य हुनु पर्ने तामाङ पक्षधर नेताहरुको भनाई रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर