डोटीमा गठबन्धन: कांग्रेसलाई ‘गलपासो’, बहुसंख्यक पालिकामा माओवादी र एसको चासो – Nepal Press

डोटीमा गठबन्धन: कांग्रेसलाई ‘गलपासो’, बहुसंख्यक पालिकामा माओवादी र एसको चासो

डोटी । २०७४ को स्थानीय तह निर्वाचनमा डोटीको केआईसिँह गाउँपालिकामा कांग्रेसले ‘क्लिन स्वीप’ गरेको थियो । ७ वटा वडामा वडाध्यक्षसहित सबै ३५ जना, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ३७ जनाको सिङ्गो टीम जितेको थियो । कार्यपालिकामा झन् पछि अन्य पार्टीको प्रवेश आउने कुरै भएन ।

यहाँ कांग्रेसका उम्मेदवार लोकेन्द्रबहादुर शाहीले ३ हजार एकसय ८८ मत ल्याएर अध्यक्ष जित्दा निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज जोशी आधा मतले पछाडि परेका थिए । जोशीले एक हजार ५ सय ६३ मतमात्रै पाएका थिए । माओवादी केन्द्रका सिद्धराज भाटले त ९ सय ४८ मतमात्रै ल्याएका थिए ।

सत्तारूढ गठबन्धनबीचमा तालमेल हुँदा माओवादी केन्द्रले यो पालिकाको पनि अध्यक्ष मागेको छ । यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका हो । त्यसैले माओवादी केन्द्रले हरहालमा यो पालिका हत्याउन चाहेको छ ।

माओवादी केन्द्रले डोटीमा रहेका नौवटा पालिकामध्ये ४ वटाको नेतृत्व मागेको छ । जसमा ४ वटा पालिकामध्ये ३ वटामा माओवादीको शक्ति सन्तुलनको हबिगत यस्तै छ । अघिल्लो निर्वाचनमा एउटामा ‘कागताली’ परेर जितेकोबाहेक बाँकीमा हजार मत कटाएको छैन । ६५ वडामध्ये ३४ वडाध्यक्ष नै मागेको छ । अघिल्लो निर्वाचनमा जम्मा ४ वटा वडा जितेको थियो ।

यसरी जिल्लाको शक्ति सन्तुलनमा ‘निरीह’ रहेको माओवादी केन्द्रले ४ पालिकाको नेतृत्व र बहुमत वडाध्यक्ष मागेपछि ‘शक्तिशाली’ रहेको कांग्रेसलाई सकस पारेको छ ।

माओवादी केन्द्रको जस्तै पेचिलो माग नेकपा एकीकृत समाजवादीले पनि गरिरहेको छन । पर्यटन मन्त्री प्रेम आलेको समेत गृहजिल्ला भएकाले उसको पनि केआईसिँहको अध्यक्षमा दाबी छ । कारण– एमालेको परम्परागत शक्ति लगभग सबैजसो यो पालिकामा उसैतिर लागेको छ । जुन अन्य पालिकामा छैन ।

अघिल्लो निर्वाचनमा कांग्रेसभित्रको ‘कलह’को फाइदा उठाउँदै एमालेबाट निर्वाचन जितेका पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी अहिले नेकपा एस डोटीको जिल्ला अध्यक्ष छन् । अघिल्लो निर्वाचनमा ७ मध्ये ५ वडाध्यक्ष कांग्रेसले जित्दा कांग्रेसभित्रकै अन्तर्घातको फाइदा बोगटीले उठाएका थिए ।

अहिले अध्यक्ष बोगटीले स्थानीयस्तरको सम्भावना हेरेर पूर्वीचौकी कांग्रेसलाई नै छाड्न चाहेका छन् । कांग्रेसका स्थानीय नेताहरूलाई बोलाएर सो कुराको जनाउ पनि गरिसकेका छन् भने यो कुरा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाललाई जानकारी पनि गराइसकेको स्रोतले जनायो ।

यस्तै नेकपा एसले सम्भावित रूपमा जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र आदर्श गाउँपालिका पनि ताकेको छ । जोरायल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरको गृहपालिका हो भने बडीकेदारमा उनकै स्वकीय सचिव रहेका भक्तबहादुर साउँद अघिल्लो पटक कांग्रेसका कृष्णबहादुर चन्दसँग पराजित भएका थिए ।

आदर्श अघिल्लो पटक एमाले जितेको र त्यहाँ संविधानसभा सदस्य हर्कबहादुर सिँहसहितका प्रभावशाली पुराना नेताहरू आफूसँग रहेकाले नेकपा एसको दाबी छ ।
नेकपा एसले जिल्लामा दुई पालिका र १६ वडाध्यक्ष मागेको छ । त्यसमा जुनसुकै भएपनि मान्ने उसले जनाएको छ ।

यस्तोमा कांग्रेसका लागि जुनसुकै पालिकाको नेतृत्व दिन पनि सकस बढेको छ । अहिले कांग्रेसले जिल्लाका नौ वटै पालिकामा आफूलाई जित्नसक्ने आँकलन गरेको छ । जहाँ जिल्लाका प्रभावशाली नेताहरू नै चुनाव लड्न चाहन्छन् । जहाँ माओवादी केन्द्र र नेकपा एसले बलियो दाबी गरेका छन्, त्यहाँका आकांक्षी जिल्ला कार्यसमितिका पदाधिकारी नै छन् । यसैकारण जिल्ला स्तरमा निर्णयमा पुग्न निकै कठिन छ ।

यद्यपि कांग्रेसले नौमध्ये सात पालिका आफूसँग राखेर २ वटा दिन चाहन्छ । ६५ वडामध्ये ४५ आफूसँग राखेर २० वटा दिनसक्ने पनि बताएको छ । जसमा माओवादी केन्द्र र नेकपा एस राजी छैनन् । गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले भने जिल्लाभरीमा ३ वटा वडाध्यक्ष मागेको छ । जनता समाजवादी पार्टीको प्रभावशाली नेतृत्व नै नभएकाले छलफलका लागि समेत बोलाइएको छैन् ।

यस्तो थियो अघिल्लो पटकको नतिजा

२०७४ को स्थानीय तह निर्वाचनमा डोटीका ९ वटा पालिकामध्ये ८ वटामा एमाले र कांग्रेसकै सोझो प्रतिस्पर्धा भएको थियो । यो प्रतिस्पर्धामा माओवादी केन्द्र ‘निरीह’प्रायः देखिएको नतिजाले देखाउछ ।

एमाले–कांग्रेसबीचको यो सोझो प्रतिस्पर्धामा एमालेले ५ पालिकामा जित हात पा¥यो । जसमा कांग्रेसभित्रको आन्तरिक ‘कलह’ र ‘अन्तर्घात’ कारण बन्यो । कांग्रेसले ३ वटा पालिका जित्यो ।

यो नतिजामा मतान्तर धेरै थिएन् । एमालेले जितेका पूर्विचौकीमा ४७ मत, दिपायल सिलगढी नगरपालिकामा २ सय ७६ मत र सायलमा ३ सय ७३ मतको झिनो मत हुँदा जोरायलमा ६ सय ४६ र आदर्शमा ८ सय २९ को फराकिलो मतान्तर थियो ।

कांग्रेसले जितेको बडीकेदारमा ३ सय २३, शिखर नगरपालिकामा ९ सय १६ र केआईसिँहमा एक हजार ६ सय २५ मतको अन्तर थियो ।

माओवादी केन्द्र जितेको बोगटान गाउँपालिकामा तुलनात्मक रूपमा एमाले बलियो थियो । तर, एमालेभित्रको कलह नेकपा माओवादी केन्द्रका लागि ‘कागताली’ सावित भयो । यहाँ माओवादी केन्द्र, एमाले र कांग्रेसबीचमा प्रतिस्पर्धा भएको थियो । माओवादी केन्द्रका उम्मेदवार कमल गड्सिलाले २ हजार ८९ मत पाउँदा एमालेका टेकबहादुर बमले एकहजार ८ सय ८ र कांग्रेसका दिलबहादुर बमले एकहजार ७ सय १४ मत पाएका थिए ।

६५ वडामध्ये एमालेले ३२ वटा वडा जित्दा कांग्रेसले २९ र माओवादी केन्द्रले ४ वटा वडा जितेको थियो ।

कांग्रेसलाई गठबन्धन ‘गलपासो’

अहिले पनि एक्लाएक्लै चुनाव हुँदा बोगटानमा त्रिपक्षीय प्रतिस्पर्धा भएपनि अन्य क्षेत्रमा कांग्रेस–एमालेबीचमै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि अघिल्लो निर्वाचनमा झिनो मतले हारजित भएको क्षेत्रमा नेकपा एसले काट्ने मतले एमालेलाई क्षती पुगेको अनुमान छ । तर एमालेले भने नेकपा एसले धेरै मत नकाट्ने र काटेको मत सहजै भर्पाई हुने दाबी गरिरहेको छ ।

प्रतिस्पर्धी एमालेको बिखण्डित अवस्थाले कांग्रेसको स्थानीय नेतृत्व हौसिएको देखिन्छ । उसको विखण्डनले अघिल्लो पटक एमालेले झिनो मतले जितेका पूर्विचौकी, दिपायल सिलगढी र सायलमा सहजै जित हासिल गर्नसक्ने देखिदाँ जोरायल, आदर्शजस्ता एमालेका संगठन मजबुत रहेका क्षेत्रमा जित हासिल गर्नसक्ने कांग्रेसमा आत्मविश्वास पलाएको देखिन्छ ।

अघिल्लो पटक एमालेको संगठन तितर–वितर भएर माओवादी जितेको बोगटानमा समेत संगठन सुधार गरेकाले सहजै जित्ने कांग्रेसको अनुमान छ ।

तर कांग्रेसको यो चाहनामा सत्तारूढ गठबन्धन ‘गलपासो’ बनेको छ । यता एक्लै धेरै स्थानीय तहमा निर्वाचन जित्ने ‘लालसा’ पालेको कांग्रेसको स्थानीय पार्टी पंक्तिका लागि तालमेल निकै अप्रिय बनेको छ ।

पार्टीको जिल्ला नेतृत्वमा केन्द्रीय सभापति शेरबहादुर देउवानिकट नेताहरूको बहुल्यता छ । जिल्ला सभापति नरेन्द्रबहादुर सिँहसहित लगभग सबैजसो पदाधिकारी देउवानिकट छन् । कांग्रेसको जिल्लाको शीर्ष नेतृत्व मानिएका सुदूरपश्मि प्रदेश सभापति वीरबहादुर बलायर पनि देउवाकै विश्वासपात्र हुन् ।

केही दिनअघिसम्म ‘सुदूरपश्चिममा तालमेल हुन्न भनेर’ हिँडिरहेका उनले अहिले ‘बोली’ फेरेका छन् । यसरी केन्द्रीय नेतृत्वसँग निकट रहेका पात्रहरूमा ‘माथिको निर्देशन’ अवज्ञा गरेर एक्लै निर्वाचनमा जाने निर्णय लिने दुस्साहस उनीहरूमा देखिन्न । यस्तोमा डोटी कांग्रेसमा गठबन्धन निल्नु न ओकल्नु भएको छ ।

एमालेले उम्मेदवार टुंग्याउँदै, गठबन्धनमा अलमल

यता एक्लै निर्वाचनमा जान लागेको एमालेले उम्मेदवारहरू धमाधम गाउँबाटै टुंग्याइरहेको छ । हालसम्म जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गा ओझा र उपाध्यक्षमा जमुना बोहरालाई दोहोर्याउने निर्णय गरेको छ भने सायल गाउँपालिकामा पनि अध्यक्ष तेजबहादुर डुम्रेल र विष्ना सिँहलाई नै दोहो¥याउने निर्णय गरेको छ ।

आदर्श गाउँपालिकामा डम्बरबहादुर वली गाउँमै मतदान गरेर चयन भएका छन् । बोगटान फुड्सिल गाउँपालिकामा हस्त बुढा लड्ने लगभग निश्चित भएर प्रचारमा जुटिसकेका छन् भने, अन्य पालिकामा पनि सकभर सर्वसम्मतको प्रयास भइरहेका छ । सबैजसो पालिकामा आजबाट छलफल हुने एमालेले जनाएको छ ।

यता सत्तारूढ गठबन्धनका दलहरूमा भने कुरा नमिल्दा अझैँ अन्योल छ । अघिल्लो चरणमा छलफल हुँदा सहमती बन्न नसकेपछि छलफलमा आएको विषयलाई सबै पार्टीले आफ्ना प्रदेश समितिलाई पठाएका छन् । यद्यपी आज पनि छलफल गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका सभापति नरेन्द्रबहादुर सिँहले बताए ।

पार्टी केन्द्रीय सर्कुलर अनुसार सिटको भागबण्डा भएपछि मात्र टिकट टुंग्याउने गठबन्धन दलले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर