‘डबल डिग्री होल्डर’ दम्पती नै बाख्रापालनमा व्यस्त, आम्दानी मस्त – Nepal Press
उत्प्रेरणा

‘डबल डिग्री होल्डर’ दम्पती नै बाख्रापालनमा व्यस्त, आम्दानी मस्त

रुपन्देही । एमए पास गरेका प्रेमसागर पौडेल र ज्ञानकुमारी पुनले रुपन्देहीको सैनामैना– २ लखनपारामा आधुनिक बाख्रापालन गरिरहेका छन् र व्यवसायप्रति उनीहरु सन्तुष्ट छन् । उनीहरुको उक्त कर्मले अध्ययन सकेर के काम गर्ने अन्योल भएका नयाँ पिँढीलाई स्वदेशमै कृषिकर्मबाट आत्मनिर्भर बन्न उत्प्रेरणा दिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैनाबाट दुई किलोमिटरभित्र पर्ने लखनपारा गाउँमा यो जोडीले सुरु गरेको बाख्रापालनले गाउँलाई नै बाख्राफर्मको नामले चिनिन थालेको छ । अहिले यो ठाउँ बाख्रापालन गर्नेहरुका लागि अध्ययन क्षेत्रको रुपमा विकास भएको छ । धेरै स्थानबाट कसरी बाख्रपालनबाट सफल हुन सकिन्छ भनेर सिक्न आउनेहरुलाई यहाँ भेट्न सकिन्छ ।

नेपालमा कृषि क्षेत्रमा आम्दानीको राम्रो सम्भावना भएपनि धेरैको बुझाइमा कतै केही गर्न नसकेपछि गर्ने पेशाको रुपमा बुझ्ने अवस्थामा यो जोडीले व्यवसायिकरुपमा योजना बनाएर गरे मनग्ये कमाउन सकिने सन्देश दिएका छन् । कृषिकर्मलाई परम्परागत जीवन निर्वाहका रुपमा चलाउनेहरुलाई पनि कसरी व्यवसायिक रुपमा संचालन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ लखनपाराको बाख्राफर्मले ।

१७ वर्षसम्म पत्रकारिता र साहित्यमा बिताएका प्रेमसागर बाख्रापालनमा होमिएका हुन् । कृषि क्षेत्रबाटै देशलाई आत्मनिर्भर बनाउन सकिने र त्यसका लागि कृषिजन्य वस्तु उत्पादन गरेर मात्रै गर्न सकिने लक्ष्य लिएका छन् पौडेलले ।

प्रेमसागरले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र मावनशास्त्रमा स्नातकोत्तर गरेका छन् भने पत्नी पुनले बेलायतको लण्डन युनिभर्सिटीबाट बिजनेश म्यानेजमेन्टमा एमडी गरेकी छन् । १० वर्षदेखि नमूना व्यावसायिक बाख्राफर्म सञ्चालनमा आएपछि त्यो ठाउँको नाम समेत बाख्राफर्म रहन गएको छ ।

उनीहरुले कतै ठूलो तालिम लिएर व्यवसाय शुरू गरेका होइनन् । ‘तालिमभन्दा पनि काम गर्दै गएपछि निपूर्ण भइन्छ । त्यहीँबाट सिक्दै जाने हो,’ उनले भने । पतिपत्नी अहिले धेरै ठाउँमा बाख्रापालनसम्बन्धी प्रशिक्षणका लागि पुग्छन् । पौडेल जोडीजस्तै निर्बाहमुखीभन्दा व्यवसायिक कृषि पेशा गर्नसके नेपालको कृषिक्षेत्र आत्मनिर्भर हुने निश्चित छ ।

‘डिग्री होल्डर’ यो जोडीले खोलेको फर्म सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र अहिले यो क्षेत्रलाई मुख्यस्रोत बनाएकाहरुको अभिभावकजस्तै बनेको छ ।

बाग्लुङको साविक पैञ्यूथन्थाप गाविस (हाल जैमिनी नगरपालिका–९) लाम्सुकको जोडी रूपन्देहीमा आएर बाख्रापालनमा सफल भएको छ । नेपालमै व्यावसायिक कृषि सम्भव छ भन्नका लागि प्रेमसागरको जोडी प्रेरणाको स्रोत बनेको छ ।

प्रेमसागर र ज्ञानकुमारी आफूहरूले जस्तै अरुले पनि व्यवसायिक कृषि गरून् भन्ने सोँच रहेको बताउँछन् । किसान र कृषि जहिलेसम्म बलियो हुँदै अरु क्षेत्र बलियो भएर मात्रै हुँदैन, पौडेल भन्छन्, कृषिलाई निराशाको पेशा बनाइयो भने सफल भइदैन, त्यति लामो समय सिकेको क्षेत्र छोडेर यसबाटै नयाँ काम केही गर्न सकिन्छ भन्ने उद्देश्यले होमिएको हो, एक्लैले गरेर हुँदैन टिकवर्कमा काम गरेर सफल भइन्छ ।

२०६८ सालमा अस्ट्रेलियाबाट बाख्रा ल्याएर उन्नत जातका पाठापाठी (बिडिङ) गर्ने उद्देश्यले प्रेमसागरसहित ५ जना युवाको समूहले १ करोड रुपैयाँको लगानीमा फर्म शुरू गरिएको थियो । २६ वटा बाख्राबाट शुरू गरिएको फर्ममा अहिले ५ सयभन्दा बढी बाख्रा छन् । फर्ममा पहाडी र तराईका जिल्लामा पाल्न सकिने उन्नत नश्लका बाख्रा र तिनैमार्फत ब्रिडिङ गरी पाठापाठी उत्पादन गरिन्छ ।

‘हाम्रो फर्मबाट धेरै प्रभावित भएका छन् । हामीले शुरू गरेपछि बल्ल व्यावसायिक बाख्रापालन शुरू गर्ने अवधारणा पनि आयो,’ पौडेल भन्छन । प्रेमसागरले अहिले वर्षमा २ सयभन्दा बढी पाठापाठी (बीउ बाख्रा) हुर्काएर बिक्री गर्छन् । फर्ममा उन्नत जातका बोका लगाएर जन्मिएका पाठापाठीलाई बिक्री वितरण गरिन्छ भने अन्य किसानको माग अनुसारको माउ बाख्रा समेत बिक्री वितरण गरिँदै आएको पौडेल बताउँछन् ।

फर्ममा अहिले संसारकै राम्रो मानिने बोयर (अस्ट्रेलियन, अमेरिकन र बन्दीपुरे) बोकाबाट क्रस गराइएका पाठापाठी छन् । संसारकै ठूलो शरीर र छिटो बढ्ने अस्ट्रेलियन बिट्टल, सबैभन्दा स्वादिष्ट मासु मानिने अफ्रिकन बारबरी बाख्राका पाठादेखि अजमेरी, ब्ल्याक बंगाल, मुडुलो, जमुनापारी, तराई बाख्रा, खरी लगायत उन्नत जातका बाख्राका पाठापाठी उत्पादन भइरहेका छन् । फर्ममा माउ, बोका र पाठापाठी बस्न छुट्टाछुट्टै आधुनिक खोर तथा बाख्राले घाँस खाने छुट्टै ठाउँ बनाइएको छ ।

प्रेमसागरको जोडीले बाख्राका पाठापाठी बिक्री गरेर वार्षिक १ करोड रुपैयाँसम्म आम्दानी गर्न सफल भएको छ । स्थानीय पर्रोहा माविको १० बिगाहा जग्गा ‘लिज’ (भाडा) मा लिएर फर्म सञ्चालन गरिएको छ । शुरूमा सामूहिक रुपमा चलाएको फर्म अहिले प्रेमसागरको एकल भएको छ ।

फर्ममा हालसम्म ५ करोड रुपैयाँ लगानी पुगिसकेको छ । ‘नेपालमा कृषि गर्ने अनुकूल वातावरण नै छैन । राजनीतिक दल नीति होइन, नेताबाट चल्छन् । प्रतिकूल अवस्थामा पनि मैले केही गर्नुुपर्छ भनेर कृषिमा होमिए सफल पनि भएको छु,’ पौडेलले भने, ‘राज्यले कमिसन दिनेलाई अनुदान दिन्छ । वास्तविक किसानले राहत, अनुदान नपाउने नक्कलीले पाउने प्रवृत्ति छ ।’

कृषि क्षेत्रमा रहेका समस्यासँग लड्ने संघर्षशील युवा उद्यमीको रुपमा प्रेमसागरलाई धेरैले चिन्छन् । सागरको फर्मबाट अहिले हिमाली जिल्लाबाहेक सबै जिल्लामा पाठापाठी जान्छन् । प्रेमसागरसँग मिलेर २८ जिल्लामा पनि बाख्रापालक विभिन्न व्यक्तिले बाख्रापालन गरिरहेका छन् । पाठापाठी प्रतिकेजी १ हजारदेखि १ हजार २०० रुपैयाँसम्ममा बिक्री गरिन्छ । सबै क्षेत्रमा बाख्रा लैजान सहज होस् भनेर रुपन्देहीमा आएर व्यवसाय शुरू गरेको पौडेल बताउँछन् । उनी भन्छन्, ‘शारीरिक परिश्रम गर्न सजिलो छैन । कृषि पेशाप्रति राज्यको ज्ञान र ध्यान दुवै छैन ।’

सामान्यतया आमाको दूध खान छोड्ने बेलासम्म एउटा पाठापाठीको तौल कम्तीमा ३० किलोग्रामको हुने र ३० हजारसम्ममा बिक्री हुने पौडेल बताउँछन् । कम्तीमा २ वटादेखि ५ वटासम्म पाठापाठी जन्माउने यी बाख्राका जातको अधिकतम तौल १०० किलोग्रामसम्म हुने गर्दछ । फर्ममा वर्षमा ३ बेतसम्म बाख्राले पाठापाठी दिन्छन् ।

फर्ममा अहिले १४ प्रजातिका बाख्रा छन् । उनले बाख्राको लागि आवश्यक पर्ने हरियो घाँस आफैं उत्पादन गर्ने गर्छन् । यहाँ उत्पादित घाँस ३५ जिल्लासम्म पुग्ने गर्छ । फर्ममा १४ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् तर अहिले ‘लकडाउन’को कारण कामदार आउन नसक्दा फर्मको धेरै काम पतिपत्नीले नै धानिरहेका छन् । लकडाउनको समयमा भेटेनरीहरू बन्द हुँदा पौडेलले बाख्राको औषधि, भिटामिन लगायत बाख्राको लागि आवश्यक पर्ने वस्तुहरू किन्न नपाएर केही समयस्या भएको थियो । मेडिकलजस्तै भेटेनरीलाई पनि अत्यावश्यक वस्तुको रुपमा राख्नुपर्ने पौडेल बताउँछन् ।

देशलाई आत्मनिर्भर बनाउन ७५३ वटै स्थानीय तहमा कृषि र पशुपालको व्यवसायको योजनाबद्ध विकास गर्नुपर्ने पौडेलको सुझाव छ । ‘नेपालमा कृषि उत्पादनको लागत बढी छ । मशिनबाट खेती नहुँदा लागत बढी पर्न जान्छ । जुन उत्पादन विश्वका प्रविधिबाट उत्पादन उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैन,’ उनले भने, ‘जसले गर्दा नेपाली कृषक कृषि पेशामा टिक्न सक्दैनन् । कृषिमा लागेको व्यक्ति ३ वर्षसम्म टिक्नसके किसान पलायन हुनु पर्दैन ।’
नमूना फर्मको रुपमा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) बाट समेत पौडेलको फर्म पुरस्कृत भएको छ ।

पौडेलकै अध्यक्षतामा बाख्रापालन संघको राष्ट्रिय सञ्जाल

बाख्रापालनलाई व्यवसायिक बनाउन र यसलाई बलियो बनाउन यसमा आवद्ध व्यवसायीहरुले सन्जाल बनाएका छन् । नेपाल व्यवसायिक बाख्रापालक महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन २०७७ फाल्गुन २१/२२) यसको राष्ट्रिय अध्यक्षमा प्रेमसागर पौडेल नेतृत्वमा आएका छन् । जसको वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सेढाई, उपाध्यक्ष गोविन्द प्रसाद सुवेदी, धन श्रीस महासचिव अमृत तिवारी, कोषाध्यक्ष दिपक गौतम रहेका छन् । पौडेल अहिले देशव्यापी रुपमा यही संघमार्फत किसानको समृद्धिका लागि जुटेका छन् ।

‘अहिले त म आफ्नो फर्ममा समय नै दिन भ्याएको छैन, सबै मेडमले धानेको अवस्था छ, सबैतिर बोलाउनुहुन्छ, जानेको कुरा सिकाउनै भनेर यो क्षेत्रमा लागेको हुँ’, पौडेल भन्छन्, ‘किसानलाई सामाजिक सम्मान भएन, आधा पेट खाएर बजारमा बसेका धेरै नेपालीको पीडा देखेको छु तर अलिअलि पढेको मान्छे आधा खाएर बस्ने तर खेतबारीमा नपस्ने गरेका कारण यस्तो अवस्था आएको हो ।’


प्रतिक्रिया

2 thoughts on “‘डबल डिग्री होल्डर’ दम्पती नै बाख्रापालनमा व्यस्त, आम्दानी मस्त

  1. YO KURA MA MA SHAMAT XU MA OANI ABA DEKHI YO BEBSAYE GARNA MAN LAGO MALAI PANI SIKAIDINU PARO KASARI SAMPARKA GARNE .MERO NAME JHAK BAHADUR PURI HO FECEBOOK MA ADD GARI DINU LA PLZ

Leave a Reply

Your email address will not be published. Required fields are marked *