काँचो वायुदेखि सर्पको छालासम्म- सूर्यबहादुरलाई सम्झाउने केही रोचक किस्सा – Nepal Press

काँचो वायुदेखि सर्पको छालासम्म- सूर्यबहादुरलाई सम्झाउने केही रोचक किस्सा

काठमाडौं । छिन्ताङ हत्याकाण्डको ४३ वर्षपछि धनकुटामा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता सुनिलबहादुर थापाबीच सो काण्डलाई लिएर आ-आफ्ना पार्टीका सभामा आरोप प्रत्यारोप चल्यो । सूर्यबहादुर थापासँग जोडिने सो काण्ड थापाको निधनको ७ वर्षपछि पुनः किन चहर्‍यायो ?

यसको सिधा जवाफ छ- जब चुनाव आउँछ तब धनकुटामा सूर्यबहादुर भर्सेस एमाले हुन्छ । अहिले सूर्यबहादुर छैनन् तर उनको राजनीतिक विरासत धनकुटामा बर्करार छ, जसको नेतृत्व उनकै उत्तराधिकारी सुनिल थापाले गरेका छन् । तर, छिन्ताङको छर्राले अझै पनि थापा परिवारलाई हिर्काउन छाडेको छैन ।

सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला छिन्ताङ (हालको शहीदभूमि गाउँपालिका) मा तत्कालीन सरकारले तत्कालीन माले र हालको एमालेमाथि दमन गर्ने क्रममा धेरै गाउँले मारिएका थिए । त्यो हत्याकाण्ड नेपालको इतिहासमा निकै क्रुर मानिन्छ ।

‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा’ भन्ने किशोर थुलुङको गीत अहिले पनि छिन्ताङका जनताले घर-घरमा बजाउँछन् । सूर्य अस्ताउँदा खोकु छिन्ताङ दुख्यो कि दुखेन ? यसको जवाफ अनुत्तरित नै छ, किनकी राजनीतिले भावनाको गहिराइ नाप्न सक्दैन । किनकी छिन्ताङका दुःख उस्तै छन् ।

पछिल्लो समय सुनिल कांग्रेस राजनीतिमा लागेपछि धनकुटामा एमाले र उनी आम्ने साम्ने छन् । एमालेका नेता तथा सांसद राजेन्द्र राईसँग उनी पराजित भए पनि अब गठबन्धनको बलमा जित्ने अभियानमा छन् । अर्कोतिर धनकुटाका सबै स्थानीय तह यसअघि ‘क्लिन स्वीप’ गरेको एमालेका लागि सुनिल कति चुनौती बन्छन्, त्यो हेर्न बाँकी छ ।

यो प्रसंग यति नै, खासमा आज वैशाख २ गते सूर्यबहादुर थापाको सातौं स्मृति दिवस भएकाले उनीसँग गाँसिएका उनको जीवनकालका केही रोचक प्रसंग र किस्साहरू कालजयी छन् । थापाको निधनका बेला मैले नै उनको जीवनकालका कतिपय चर्चामा आएका र कतिपय लुकाइएका किस्साहरू उनीनिकट राजनीतिकर्मी तथा पारिवारिक सदस्यहरूबाट संकलन गरेको थिएँ ।

अबिच्यूरीका रूपमा मैले लेखेका थापासँगका प्रसंग आज सातौं स्मृति दिवसका अवसरमा पुनः रोचक हुनसक्छन् ।

जनार्दन आचार्यको त्यो आर्टिकल

२०५३ सालतिर सूर्यबहादुर थापाले एउटा भाषणमा बहुदलीय व्यवस्था जोगाउन आफू कांग्रेसको सहयोग लिएर प्रधानमन्त्री बनेको बताएपछि वरिष्ठ पत्रकार जनार्दन आचार्यले ‘सूर्यबहादुरले बहुदल जोगाउने रे’ शीर्षकमा लेखेको लेख निकै चर्चित भयो ।

समकालिन साप्ताहिकका प्रधान सम्पादक आचार्य त्यसबेला सूर्यबहादुरकै पार्टीसँग आबद्ध थिए । पछि उनी तत्कालीन राजाबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भए । गणतन्त्रकालमा माओवादी पनि बने । एक वर्षअघि उनको लगभग गुमनाम निधन हो ।

आचार्यले समकालिनको ‘समय समय’ स्तम्भमा लेखेका थिए-२०३६ सालमा सूर्यबहादुरले बहुदललाई हराउनका लागि फाँडेको चारकोशे झाडीका बुटाहरुमा भर्खर पालुवा लाग्दैछन्, फेरि सूर्यबहादुरले बहुदल जोगाउने रे, कठै ती पालुवा फेरि निमोठिने भए ।

दरबारनिकट भएर पनि र एउटै व्यवस्थापको पक्षपोषक भएर पनि थापा र आचार्यबीच शीतयुद्ध चलिरह्यो ।

१२ औं खेलाडीसँगको फाउल्स

सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नेपाली राजनीतिका एउटै धाराका फरक प्रवृति र प्रतिस्पर्धी रहे । १२ औं खेलाडी उपन्यासका लेखक लोकेन्द्रबहादुर चन्द र राजनीतिका १२ औं खेलाडी सूर्यबहादुर थापाबीचको खेलमा बेलाबेला फाउल्स गेम भयो । थापा हटाएर चन्द आउने र चन्द हटाएर थापा आउने खेल पटकपटक चल्यो ।

पञ्चायतमा थापा हटाएर चन्द आए । पछि २०५४ मा आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीबाट हटाएर आफू प्रधानमन्त्री बन्न थापाले कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याएका थिए । चन्दलाई एमालेले बोकेको थियो । राप्रपा त्यस बेला सत्ताको साँचो बोकेर बसेको थियो ।

पञ्चायतकालदेखि नै आफूलाई दुःख दिँदै आएका थापाले आफ्नै पार्टीका र आफ्नै क्याबिनेटका मन्त्रीलाई रातारात अविश्वास प्रस्तावमा सही गराएर हटाएपछि चन्दले भनेका थिए- नेपाली राजनीतिमा भित्रिएको मुसा प्रवृतिले अन्ततः यो व्यवस्थालाई नै सिध्याउनेछ ।

२०५३ सालतिर सूर्यबहादुर थापाले एउटा भाषणमा बहुदलीय व्यवस्था जोगाउन आफू कांग्रेसको सहयोग लिएर प्रधानमन्त्री बनेको बताएपछि वरिष्ठ पत्रकार जनार्दन आचार्यले ‘सूर्यबहादुरले बहुदल जोगाउने रे’ शीर्षकमा लेखेको लेख निकै चर्चित भयो ।

आफैं बसेको जहाज प्वाल पार्ने मुसा र आफैं सहभागी सरकार ढाल्ने राजनीतिक मुसाबीच लोकेन्द्रले दाँजेर गरेको व्यंग्य सूर्यबहादुर थापा र कमल थापाहरूप्रति लक्षित थियो । नेपाली राजनीतिमा बेलाबेला चल्तीमा आउने मूसा प्रवृतिका व्याख्याता चन्द अहिले सक्रिय राजनीतिमा छैनन् ।

कालान्तरमा बहुदलीय व्यवस्थाको एक अध्याय सिध्याउने तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमपछि पनि लोकेन्द्र पहिलो प्रधानमन्त्री बने भने तीनै लोकेन्द्रलाई बिस्थापित गरेर थापा प्रधानमन्त्री बने, जुन उनको जीवनकालको अन्तिम प्रधानमन्त्रीत्व रह्यो ।

२०४१ सालदेखि सुरू भएको लोकेन्द्रबहादुर चन्दसँगको सूर्यबहादुरको लुकामारी र प्रतिस्पर्धा २०७१ सालसम्म कायमै रह्यो । थापाले पार्टी अध्यक्षको आफ्नो जिम्मेवारी आलोपालो सहमति अनुसार चन्दलाई दिनुपर्नेमा राणालाई दिएपछि चन्द अदालत गएका थिए ।

तर, अदालतबाट फैसला आउनुअघि नै २०७२ वैशाख २ गते सूर्यबहादुरको जीवनको अन्तिम फैसला भयो, चन्दसँग कहिल्यै प्रतिस्पर्धा नहुने गरि । यसरी सधैँ एउटै व्यवस्था र एउटै पार्टीमा रहने तर कहिल्यै एक हुन नसक्ने यी दुई नेताको सम्बन्ध रह्यो ।

कोइराला परिवारका हितैषी

एकपटक मसँगको कुराकानीमा विश्वबन्धु थापाले कोइराला परिवार आफ्नो र सूर्यबहादुर थापा परिवारको साझा घर थियो भनेका थिए । राजनीतिमा फरक धारमा रहे पनि थापा कोइराला परिवारका हितैषी नै रहे ।

सूर्यबहादुर थापाको परिवार विराटनगरमा कोइराला परिवारको नजिक थियो । थापा स्वयं पनि विराटनगरमा कांग्रेसको अफिस सेक्रेटरी भएर काम गरेको कोइराला परिवारका एकमात्र कम्युनिस्ट कमल कोइरालाले मलाई बताएका थिए । एकपटक कांग्रेस भए तर उनी त्यसपछि कहिल्यै कांग्रेस भएनन् । बरु वीपीलाई फाँसी दिनुपर्छ भन्नेमा पुगे । तर पनि थापाको सम्बन्ध कोइराला परिवारसँग कहिल्यै बिग्रिएन ।

धेरैलाई थाहा नहुन सक्छ, सूर्यबहादुरले खाना खाने बेलामा सधैँ दुई चारजना नेता कार्यकर्ता र आसेपासेहरू उनको डाइनिङ रूममा हुनै पर्थ्यो । सहयोगीहरूका गफ सुन्दै खाना खाने उनको बानी नै थियो । लामो कालखण्डसम्म इन्द्रप्रसाद ढुंगेल, वसन्तमान सिंह अधिकारी, मोहन दाहाल, किरण गिरी जस्ता पात्रले उनलाई साथ दिइरहे ।

थापाका छोरा सुनिल थापा अहिले कांग्रेस नेतृत्वमा छन् । भलै कोइराला परिवारसँग उनको पारिवारिकबाहेक गुटको सम्बन्ध देखिन्न, किनकी उनी शेरबहादुर देउवानिकट छन् ।

सर्पको छाला तस्करी र विनोद चौधरीको वृतान्त

सूर्यबहादुर थापामाथि २०३६ सालको जनमत संग्रहमा पञ्चायतलाई जिताउन साम, दाम, दण्डभेद सबै उपयोग गरेको आरोप लाग्ने गरेको छ । थापाले त्यति जोडबल नगरेको भए नेपालमा सम्भवतः दश वर्षअघि नै बहुदलीय व्यवस्था आउने थियो भन्छन् त्यसबेलाका मान्छे । पञ्चायतलाई जिताउन थापाले हरियो वन नेपालको धन्ने भन्ने सम्पत्ति स्वाहा पारेको आरोप लागेको थियो । थापाले राज्यकै तर्फबाट वैधानिक तस्करी गरेको आरोपसमेत विनोद चौधरीले लगाएका छन् ।

चौधरी जो अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य र सांसद छन् । सर्पको छालालगायतका वन्यजन्तुको तस्करी गर्न जाटिया परिवारलाई खुला गरेबापत चार करोड रूपैयाँ लिएको कुरा विनोद चौधरीले आत्म वृत्तान्तमै खुलासा गरेका छन् । त्यस्तै पञ्चायतलाई जिताउन आफू र आफूसहितका केही व्यापारीले त्यो समयमा डेढ करोड रूपैयाँ जम्मा गरेर थापालाई दिएको पनि चौधरीले लेखेका छन् ।

छिन्ताङ काण्डको कलंक

सूर्यबहादुर थापाको नाम लिनासाथ जोडिने अर्को घटना हो छिन्ताङ काण्ड । २०३६ सालको कात्तिक अन्तिम साता धनकुटाको खोकु छिन्ताङ गाउँमा एक सांस्कृतिक कार्यक्रमका बीच राज्यले गोली चलाएर १६ जनाको हत्या गरेको थियो । तत्कालिन भूमिगत नेकपा मालेको कार्यक्रममा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको प्रत्यक्ष निर्देशनमा गोली चलेको र सुत्केरीसहित १६ जना मारिएको आरोपको जवाफ नदिइ थापा बिदा भए । छिन्ताङ काण्ड आज पर्यन्त नेपाली राजनीतिमा ठूलो घटनाका रुपमा लिइने गरेको छ । थापाको ६२ वर्षे राजनीतिक जीवनमा छिन्ताङ काण्ड सधैँ कलंकका रूपमा रहिरह्यो । अहिले पनि धनकुटाको राजनीति यसकै आरोप-प्रत्यारोपमा चलिरहेको छ ।

सांसद किन्न पचास लाख

सूर्यबहादुरसँग जोडिने अर्को घटना ५० लाख काण्ड पनि हो । जुन काण्डलाई उनले अर्धसत्यका रूपमा राखिरहे तर पूरा खुलासा गरेनन् । २०५१ को त्रिशंकु संसदमा सत्ताको चाबी बोकेको राप्रपाका २० सांसदहरु कुनै पनि बेला बिक्ने खसी बोका सरह थिए । आफूबाहेक अरुको विश्वास गर्ने अवस्था थिएन । सूर्यबहादुरसँग राप्रपाका कम्तीमा ८ सांसद छन् भन्ने थाहा पाएपछि किनबेचको प्रयास भइरहेको थियो ।

पटकपटक गरी पाँचपटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापा २०४६ सालको परिवर्तनपछि पनि दुई पटक प्रधानमन्त्री भए । पछिल्लोपटक तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाएपछि उनले तत्कालीन विद्रोही माओवादीसँग शान्ति वार्ता पनि गरे । माओवादीले पनि बाबुराम भट्टराईको नेतृत्वमै उच्चस्तरीय वार्ता टोली पठायो ।

थापाले आफूलाई राप्रपाका सांसद किन्न एमालेको तर्फबाट ५० लाख रुपैया पेश्की आएको खुलासा गरेका थिए । तर, उनले कांग्रेसलाई साथ दिए । एमालेलाई त्यो ५० लाख रुपैया फिर्ता गरे कि गरेनन् ? न त एमालेले बोल्यो न थापाले बोले । त्यो पचास लाख काण्ड रहस्यमै रह्यो । त्यतिबेलाको ५० लाख रुपैया अहिले ५० करोडभन्दा पनि माथि नै हो ।

थापाले देखेको अदृष्य शक्ति

पटकपटक गरी पाँचपटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापा २०४६ सालको परिवर्तनपछि पनि दुई पटक प्रधानमन्त्री भए । पछिल्लोपटक तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाएपछि उनले तत्कालीन विद्रोही माओवादीसँग शान्ति वार्ता पनि गरे । माओवादीले पनि बाबुराम भट्टराईको नेतृत्वमै उच्चस्तरीय वार्ता टोली पठायो ।

विभिन्न चरणका वार्ता असफल भएपछि माओवादी पुनः युद्धमा फर्कियो । त्यसबेला थापाले वार्ता असफल हुनुमा अदृष्य शक्तिको हात रहेको बताएका थिए । तर उनले भनेको त्यो अदृष्य शक्ति को थियो ? कहिल्यै खुलासा गरेनन्, बरु त्यो खुलासा गरेलगत्तै उनलाई ज्ञानेन्द्रलाई प्रधानमन्त्रीबाट हटाएर पुनः शेरबहादुर देउवालाई ल्याए ।

काँचो वायु र भूमिगत गिरोह

थापाले पञ्चायतकालमा राजदरबारका केही सदस्यलाई लक्षित गर्दै भूमिगत गिरोहको नामाकरण गरे । बहुदलीय व्यवस्थामाथि अनिष्ट आउन लागेको भन्दै उनले मुलुकमा काँचो वायु मडारिएको विम्ब प्रयोग गरेका थिए । काँचो वायुको परिभाषा उनले कहिल्यै दिएनन् । अदृष्य शक्तिले माओवादीसँगको वार्ता भाँडेको बताए पनि उनले अदृष्य शक्ति कहिल्यै देखाएनन् ।

गिरिजाप्रसाद कोइराला त राजनीतिक बोझले थाकेका बेला विराटनगर जान पाएनन् भने सिधै मालीगाउँ पुग्थे । मिठो मसिनो खाने, सुखदुःखका कुरा गर्ने उनका साथी थिए सूर्यबहादुर । राजतन्त्रदेखि गणतन्त्रसम्मका नेताहरू मालिगाउँ नपुग्ने कोही भएनन् । उनको घरमा पाक्ने परिकारले मान्छेलाई लोभ्याउँथ्यो ।

नेपालमा जबजब सत्ता संकट आउछ, त्यसबेला सूर्यबहादुर थापालाई प्रधानमन्त्रीका रुपमा चर्चामा ल्याउने गरिएको सन्दर्भमा संविधान जारी हुन कठिन भएको २०७२ वैशाखी सुरूआतको अन्तिम समयमा पनि उनका समर्थकहरु मुख मिठ्याउदै थिए । सधैं भारतीय संस्थापन पक्षको दाहिने भएका कारण पनि उनका केही सदावहार समर्थक थिए, जो थापाको साथ जीवनपर्यन्त रहे । नेपाली राजनीतिका धेरै अनुद्घाटित रहस्यहरूसँगै लिएर थापा अनन्त यात्रामा निस्किए ।

मालीगाउँको मिठो मसिनो

सूर्यबहादुर थापाको निवास मालीगाउँ कतिपयको लागि परमधाम थियो । देशका भीआईपीमात्र होइन विदेशीहरू पनि मालीगाउँको मिठो मसिनो खान पुग्थे । थापा जथीनसँगिनीको निधनपछि कमजोर बने । उनको घरमा पत्रकारहरूलाई पनि बेलाबेला बोलाएर सामूहिक र व्यक्तिगत भोजन गराइँन्थ्यो ।

गिरिजाप्रसाद कोइराला त राजनीतिक बोझले थाकेका बेला विराटनगर जान पाएनन् भने सिधै मालीगाउँ पुग्थे । मिठो मसिनो खाने, सुखदुःखका कुरा गर्ने उनका साथी थिए सूर्यबहादुर । राजतन्त्रदेखि गणतन्त्रसम्मका नेताहरू मालिगाउँ नपुग्ने कोही भएनन् । उनको घरमा पाक्ने परिकारले मान्छेलाई लोभ्याउँथ्यो ।

सम्झाउने बिर्साउने

धेरैलाई थाहा नहुन सक्छ, सूर्यबहादुरले खाना खाने बेलामा सधैँ दुई चारजना नेता कार्यकर्ता र आसेपासेहरू उनको डाइनिङ रूममा हुनै पर्थ्यो । सहयोगीहरूका गफ सुन्दै खाना खाने उनको बानी नै थियो । लामो कालखण्डसम्म इन्द्रप्रसाद ढुंगेल, वसन्तमान सिंह अधिकारी, मोहन दाहाल, किरण गिरी जस्ता पात्रले उनलाई साथ दिइरहे ।

पत्रिका पढेर सुनाउनकै लागि पनि उनको निवासमा विहानै दुई-तीन जना पत्रकार पृष्ठभूमिका सहयोगीहरू नित्यकर्म नसक्दै पुगिसक्थे । यीबाहेक अन्य केही पात्रहरू विभिन्न कालखण्डमा मालिगाउँ आउने र जाने भइरहे । अब यी सबै घटना र प्रवृति सम्झना बिर्सनामा सीमित भएका छन् ।

र अन्तमाः तत्कालीन नेकपा माले र हालको एमालेका पूर्वेली कार्यकर्ताले गाउने एउटा चर्चित जनवादी गीतका एउटा जीवित पात्र सूर्यबहादुर अस्ताएको ६ वर्ष पुगेको छ ।

‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा’ भन्ने किशोर थुलुङको गीत अहिले पनि छिन्ताङका जनताले घर-घरमा बजाउँछन् । सूर्य अस्ताउँदा खोकु छिन्ताङ दुख्यो कि दुखेन ? यसको जवाफ अनुत्तरित नै छ, किनकी राजनीतिले भावनाको गहिराइ नाप्न सक्दैन । किनकी छिन्ताङका दुःख उस्तै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *