विदेशी फिल्म देखाउन राति १ बजे हल खोल्नेमाथि कारवाहीको तयारी, आन्तरिक राजश्वलाई बोर्डको पत्र – Nepal Press

विदेशी फिल्म देखाउन राति १ बजे हल खोल्नेमाथि कारवाहीको तयारी, आन्तरिक राजश्वलाई बोर्डको पत्र

काठमाडौं । एउटा भारतीय चलचित्र चलाउन अस्वभाविक उत्साह देखाउँदै काठमाडौंका दुईवटा हलहरु आज कुटाइममा खोलिए । दुवै शो हाउसफुल पनि भए । तर, यसवापत ती दुवै हल सञ्चालकले दण्डित हुनुपर्ने देखिएको छ ।

केएल टावरमा रहेको एफ क्यूव र सिटी सेन्टरमा रहेको विग मुभिज क्रमशः आज राति १ बजे र तीन बजे खोलिएका थिए । दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ मा दर्शकको फ्लो अत्यधिक देखिएपछि मालामाल व्यापार गर्ने धुनमा बिनाअनुमति हल खोलिएको पाइएको छ ।

कोरोनाको कहर शान्त भएसँगै पछिल्लो समय मनोरञ्जन क्षेत्रलाई सरकारले २४ घन्टा खुल्ला गरेको छ । तर, सिनेमा हलको हकमा नियमित भन्दा बढी शो सञ्चालन गर्नका लागि चलचित्र विकास बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार दुवै हललाई यस्तो अनुमति दिइएको थिएन ।

उनले नेपाल प्रेससँग भने, ‘हिजो साढे चार बजेपछि अनुमतिका लागि दुईवटा हलहरुबाट इमेल आएको रहेछ । तर म ४ बजे निस्किसकेकाले हेर्न पाइनँ । यसरी हल चलाउनका लागि कार्यालय समयभित्रै अनुमति लिइसक्नुपर्थ्यो । त्यो उहाँहरुबाट पालना भएन ।’

नियम उल्लंघन गरेर हल चलाइएकाले कारवाहीका लागि आफूले भोलि बिहानै आन्तरिक राजश्व कार्यालयमा पत्राचार गर्ने दाहालले जानकारी दिए ।

‘राजश्वमा मैले आजै इमेल गरिसकेको छु, अफिसियल चिठी चैं बिहान १० बजे नै पुर्याउने छु,’ उनले भने ।

अनुमतिबिना हल सञ्चालन गरेर दर्शकसँग मनोमानि पैसा उठाइएको भन्दै तिनीहरुले बेचेको टिकटमाथि छानविन गर्न बोर्डले आन्तरिक राजश्वलाई पत्र पठाएको हो ।

कुटाइममा हल सञ्चालन गर्दा अरु नियमहरु पनि उल्लंघन भएको पाइएको छ । राति हलमा आएका दर्शकहरुले अत्यधिक मादक पदार्थ सेवन गरेको, हलहरुले बिहानको शोमा दिनुपर्ने छुट नदिएको, सिट संख्याभन्दा धेरै दर्शक प्रवेश गराइएको लगायतका गुनासोहरु बोर्डमा आएका छन् । यस विषयमा अध्ययन गर्न बोर्डले आजबाट स्थलगत अनुगमन सुरु बनाएको छ । अध्यक्ष दाहालले आफू स्वयम् विभिन्न हलमा पुगेर अनुगमन गरिरहेको जानकारी दिए ।

चलचित्र विकास बोर्डभित्र बक्स अफिस सञ्चालन गर्ने सम्वन्धमा कार्यविधि २०७६ छ । सो कार्यविधिअनुसार बक्स अफिस सञ्चालनमा रिपोर्टिङ गरे-नगरेको, बक्स अफिसको सफ्टवेयर अनुसार टिकेटिङ गरे नगरेको लगायतका विषयहरु बोर्ड आफैंले हेर्न सक्छ । यसका अतिरिक्त, विक्री गरेको टिकटअनुसार बिल काटे-नकाटेको, काटिएको बिल बराबरको भ्याट रकम बोर्डमा गणना भए-नभएको विषयमा आन्तरिक राजश्व विभागले छानविन गर्न सक्छ ।

यस विषयमा हिजो विकास बोर्डले आन्तरिक राजश्व विभागसँग छलफल गरेको थियो । छलफलमा बोर्ड र विभागका कार्यालयहरुको संयुक्त टोलीले हलहरुमा अनुगमन गर्ने समझदारी भएको विभागका प्रवक्ता राजु प्याकुरेलले जानकारी दिए ।
‘हल कतिबेला खोल्न पाउने भन्ने हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, तर विक्री भएको टिकट अनुसार राजश्व तिरिएको छ वा छैन भन्ने चाहीँ हाम्रो चासोको विषय हो,’ उनले भने ।

बोर्डबाट आज पठाइएको इमेल आफूले हेरिनसकेको उनले बताए ।

‘आज सरकारी बिदा भएकाले मैले इमेल हेर्न पाएको छैन । भोलि कार्यालय पुग्नासाथ हेरेर जवाफ दिनेछु,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर