सशस्त्रमा भावी आईजीपी छान्न रिक्त एआईजी पदमा दरखास्त माग – Nepal Press

सशस्त्रमा भावी आईजीपी छान्न रिक्त एआईजी पदमा दरखास्त माग

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफमा) महानिरीक्षक (आईजीपी) बनेकै दिन पुष्पराम केसीले मंगलबार साँझ रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) को पदपूर्ति प्रकृया थालेका छन् ।

त्यसका लागि बढुवा समितिमा दरखास्त दिन तीन दिनको सीमा राखेर सूचना आव्हान गरिएको छ । केसी आईजीपीमा बढुवा भएसँगै सशस्त्रमा एआईजीको एउटा दरबन्दी रिक्त रहेको छ ।

उक्त दरबन्दीमा बढुवा हुने डीआईजीले यही वैशाख १९ देखि संगठनको कमाण्ड सम्हाल्नेछन् ।

उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गरिनुपर्ने कानुनी व्यवस्था छ । हालका एआईजी रामशरण पौड‍ेलले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् ।

डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडैल र सिपी गौतम एआईजीका बलियो प्रत्यासी हुन् । एकै समयमा डीआईजीमा बढुवा भएका उनीहरूको जागिर सुरू मिति भने एकै छैन ।

अर्याल र पौडेलले २०५४ चैतमा नेपाल प्रहरीबाट सेवा सुरू गरेका हुन् । गौतमले २०५२ सालमा नेपाली सेनाबाट सेवा थालेका थिए ।

२०५८ मा सशस्त्र प्रहरी बल स्थापना भएपछि उनीहरू तीनैजनालाई एक दर्जा बढुवा गरेर ल्याइएको थियो । नेपाल प्रहरीमा रहेका उनीहरूका इन्सपेक्टर ब्याचीहरू भने अहिले एसपी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर