तस्बिरमा हेर्नुस् सलहेश मेला : नयाँ वर्षको दिनमात्र फुल्ने फूल हेर्न उर्लिए श्रद्धालु – Nepal Press

तस्बिरमा हेर्नुस् सलहेश मेला : नयाँ वर्षको दिनमात्र फुल्ने फूल हेर्न उर्लिए श्रद्धालु

जनकपुरधाम । सिरहाको लहान नगरपालिकामा पर्ने सलहेश फूलबारीमा आज विशाल मेला लागेको छ । यहाँ मधेसका विभिन्न जिल्ला र भारतबाट श्रद्धालु उर्लिएका छन् ।

सलहेश फूलबारी करिब नौ बिघामा फैलिएको छ । फूलबारीमा रहेको हारम प्रजातिको बोटमा हरेक वर्ष वैशाख १ मा फूल्ने यो फूल हेर्न र फोटो/भिडिओ खिच्न फूलबारीमा बिहानैदेखि ठूलो भीड छ ।

दुसाध र दनुवार जातिका इष्ट देवता हुन सलहेश । उनकै नामबाट फूलवारीको नाम ‘सलहेश फुलबारी’ रहन गएको स्थानीय बताउँछन् । फूलबारीको मध्यभागमा रहेको हाराम प्रजातिको बोटको हाँगामा विगत जस्तै यसवर्ष पनि माला आकारको सेतो फूल फूलेको छ । अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छ ।

उक्त बोटमा सातौं-आठौं शताब्दीदेखि नै फूल फूल्दै आएको बुढापाका बताउँछन् । यहाँ भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । भारत विहारको मधुवनीबाट आएकी सरियादेवी भन्छिन्, ‘लामो समयदेखि सन्तान पाइनन् । परोसीले फूलबारी मेला गएर भाकल गर्दा सन्तान हुने भनेपछि ५ वर्ष अगाडि आएको थिएँ । भाकल गर्दा छोरा पाएँ । त्यसैले आज छोराको मुण्डन गराउन यहाँ आएकी छु ।’

फूलबारीमा हारामको बोटनजिकै सहलेस महाराजा तथा मालिनीको मन्दिर (गहबर) छ । यही मन्दिरमा आएर भाकल गर्दा मनोकामना पूरा हुने गरेको विश्वास छ । उक्त फूललाई साक्षी राखेर विवाहसमेत गरिन्छ । पुजारीका अनुसार मन्दिर पछाडि इनार र बाली गंगा नदी बग्ने गरेको र इनार कहिलेकाँही मात्र देखिने गर्छ ।

स्थानीय संजय यादव भन्छन्, ‘फूलको बोटमा फूल फूल्नु कुनै अनौठो विषय होइन तर एकै रुखमा प्रत्येक वर्ष एक दिन मात्र माला आकारको फूल फूल्ने गरेको देख्दा अनौठो लाग्नु स्वाभाविक हो । त्यसैले यहाँ हरेक वर्ष मेला भर्न टाढा टाढाबाट मानिस आइपुग्छन् ।’

उनका अनुसार अत्यधिक सम्मान पाएका राजा सलहेश देवताभन्दा पनि लोकनायक थिए । आफ्नो वीरता, पुरुषार्थ र व्यक्तिद्वारा पूजित उनीसँग सम्मिलित यस जिल्ला धेरै ऐतिहासिक स्थलहरू रहेका छन् । सलहेश कुनै काल्पनिक पात्र नभएर आफ्ना समयका लोकनायक थिए ।

सलहेश गाथामा वर्णन गरिएअनुसार राजा सलहेशले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखडामा कुस्ती खेलेर कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे । राजा सलहेशलाई अहिले पनि दुषाध (दलित) समुदायले कुलदेवताको रूपमा पुज्ने गर्दछ ।

सिरहा सदरमुकाममा समेत सलहेश गहबर छ । अहिले नगरपालिकाले करोडौं रकम खर्चेर राजा सलहेशको विशाल मन्दिर निर्माण भइरहेको छ । यहाँ हरेक वर्ष वैशाख २ गते मेला लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर