भारतीय फिल्मको दबदबाबीच ‘ए मेरो हजुर’ पहिलो शो हाउसफुल, प्रिमियरमा पनि पायो प्रशंसा (तस्बिरहरु) – Nepal Press

भारतीय फिल्मको दबदबाबीच ‘ए मेरो हजुर’ पहिलो शो हाउसफुल, प्रिमियरमा पनि पायो प्रशंसा (तस्बिरहरु)

काठमाडौं । दक्षिण भारतीय फिल्मको प्रभूत्व र सामाजिक सञ्जालमा भइरहेका ट्रोलहरुलाई चिर्दै ‘ए मेरो हजुर ४’ले रिलिजको पहिलो दिन सुखद सुरुवात गरको छ । काठमाडौंसहित देशभरका हलहरुमा पहिलो शो हाउसफुल रहेको निर्माण पक्ष तथा प्रदर्शकहरुले जानकारी दिएका छन् ।

नेपाल प्रेस प्रतिनिधि क्यूएफएक्समा पुग्दा सिटहरु भरिभराउ थिए । आजका अन्य शो हरु पनि शतप्रतिशत अकुपेन्सी नजिक रहेको जानकारी हल सञ्चालकहरुले दिएका छन् । नयाँ वर्षको बिदा भएकाले आज फिल्मको अकुपेन्सी अपेक्षित हो । भोलि र पर्सीको व्यापर सुखद रहने अपेक्षा छ । फिल्मको वास्तविक परीक्षा चाहिँ आइतबारबाट सुरु हुने छ ।

अनमोल केसीको स्टार पावर र हिट ब्रान्डको बलमा फिल्मले इनिसीयल व्यापार राम्रो गरेको हो । तर, दक्षिण भारतीय फिल्म केजीएफ २ मा दर्शक उर्लिएकाले ए मेरो हजुरको भविष्यमाथि अझै संशय छ । केजीएफले धेरै हलहरु कब्जा गरेकाले ‘ए मेरो हजुर ४’ ले उल्लेख्य शो प्राप्त गरको छैन । हल सञ्चालकहरुले केजीएफलाई उच्च महत्व दिएर ए मेरो हजुरलाई सीमित शोमा खुम्च्याएका छन् ।

करिब ३ करोडको लगानीमा बनेको ए मेरो हजुरले नाफाको व्यापार गर्न १० करोड नजिक कलेक्सन गर्नुपर्ने हुन्छ । यो निकै चुनौतीपूर्ण छ । आगामी दिनमा मिडियामा आउनले समीक्षा र वर्ड अफ माउथले फिल्मको दिशा तय गर्न सक्छ ।

रिलिजअघि हिजो ए मेरो हजुरको प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा उपस्थितहरुले फिल्मको खुलेर प्रशंसा गरेका छन् । नायक अनमोल केसीले अभिनयमा निकै सुधार गरेको धेरैको टिप्पणी छ ।

चलचित्रका निर्माता सुनिलकुमार थापाले पहिलो शोमा देखिएको अकुुपेन्सीबाट आफूहरु खुशी रहेको बताए । उनले शनिबारसम्म हाउसफुलको व्यापार गर्ने निश्चित भइसकेको र त्यसपछि पनि आफूहरु आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।

‘प्रिमियरमा प्राप्त भएको प्रतिक्रियाले पनि हामीलाई धेरै उत्साह मिलेको छ,’ उनले भने ।


प्रतिक्रिया

One thought on “भारतीय फिल्मको दबदबाबीच ‘ए मेरो हजुर’ पहिलो शो हाउसफुल, प्रिमियरमा पनि पायो प्रशंसा (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर