लुम्बिनीमा कमजोर नेकपा एस, गठबन्धनबाट कसरी पाउला भाग ? – Nepal Press

लुम्बिनीमा कमजोर नेकपा एस, गठबन्धनबाट कसरी पाउला भाग ?

रुपन्देही । स्थानीय तहको निर्वाचनका लागि गठबन्धन गरेका दलहरूले अघिल्लो निर्वाचनमा पाएको मतलाई मुख्य आधार बनाउने एजेण्डा बनाइरहेका बेला नेकपा एसले अघिल्लो पटक नेकपा एमालेले जितेका पालिकामा आफ्नो दाबी रहेको बताउँदै आएको छ ।

लुम्बिनीका १०९ पालिकामध्ये ४३ पालिका जितेको एमालेबाट एक जना पनि पालिका प्रमुख नेकपा एसमा लागेका छैनन् । गठबन्धनले यसैलाई आधार बनाएर नेकपा एसलाई थमथमाउने एजेण्डा बनाए पनि नेकपा एसले केन्द्रीय सहमति अनुसार भाग पाउनुपर्ने र एमालेले जितेका स्थानमा आफ्नो दाबी रहने बताइरहेको छ ।

एमालेबाट छुट्टिएका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशमा कमजोर बनेको सत्ता गठबन्धन दलमै रहेका नेताहरूको दाबी छ ।

गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेका ५ दलले अघिल्लो निर्वाचनको मत भारलाई गणना हुनुपर्ने बताइरहेका छन् तर नेकपा एसले साबिक एमालेले जितेका पालिकामा आफ्नो दाबी रहेको बताइरहेको छ ।

लुम्बिनी प्रदेशसभामा ३७ जनाले एमाले रोज्दा एक जना प्रदेशसभा सदस्य रमा घर्तीले मात्र नेकपा एस रोजेकी थिइन् भने प्रदेशभर जम्मा ६८ जना स्थानीय तहका जनप्रतिनिधिले नेपालको पार्टी राजेका थिए । ती मध्ये रुपन्देही सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा काफ्ले, दाङको गढवा गाउँपालिकाको उपाध्यक्ष शान्ति चौधरी र अर्घाखाँचीको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मीसहित ५ वडाध्यक्ष र अरू सदस्य मात्रै नेकपा एसमा गएका थिए । नेकपा एस रोजेकी अर्घाखाँचीको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम अहिले कांग्रेस प्रवेश गरिसकेकी छन् ।

पार्टी विभाजनका लागि सुरुदेखि लागेका दाङका मेटमणि चौधरीको जिल्लामा प्रदेशमै सबैभन्दा बढी २१ जनाले नेकपा समाजवादी रोजेका थिए । जिल्लामा १ सय ९७ जना सूर्य चिन्हवाहक जनप्रतिनिधि रहेकोमा २१ जनाले मात्र पार्टी छाडेका थिए ।

बाँकेमा ११ जनाले समाजवादी रोजेका थिए । त्यस्तै माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेको गृह जिल्ला पाल्पामा जम्मा १ जनाले मात्र समाजवादीमा लागेका हुन् ।

पाल्पाको रम्भा गाउँपालिका वडा नं ५ का सदस्य ईश्वरी श्रेष्ठले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी छन् । एमालेबाट समाजवादी रोज्ने प्रदेशसभा सदस्य रमा घर्ती पाल्पाकै हुन् ।

कपिलवस्तु र पश्चिम नवलपरासीमा १/१ जनाले मात्रै नेकपा एकीकृत समाजवादी रोजेका थिए । रुपन्देहीमा ७, प्युठानमा ७ जना, बर्दिया र अर्घाखाँचीमा ६/६ तथा रुकुम र रोल्पामा ५/५ जनाले मात्रै नेकपा एस रोजेका थिए ।

पार्टी विभाजनको अग्रमोर्चामा रहेकी नेतृ रामकुमारी झाँक्रीको गृह जिल्ला गुल्मीमा भने कुनै पनि जनप्रतिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेनन् ।

गुल्मीमा एमाले नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्टको प्रभावका कारण पनि जनप्रतिनिधिले एमाले नछाडेको स्थानीय नेताको भनाइ छ । स्थानीय तहका ७ प्रमुख र १० उपप्रमुखसहित १ सय ३० जना जनप्रतिनिधि रहेको सबै एमालेमै छन् ।

एमालेका शीर्ष तहका नेताहरू विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, गोकर्ण विष्टलगायतका नेताहरूको प्रभावका कारण धेरै जनप्रतिनिधि एमालेमै रहेको नेकपा एमाले पोलिटब्युरो सदस्य लीला गिरीले बताए ।

लुम्बिनीमा नेकपा एकीकृत समाजवादी रोज्ने स्थानीय तहका जनप्रतिनिधि

दाङ – २१ एक गाउँपालिका उपाध्यक्षसहित

बाँके – ११

रुपन्देही– ७ एक नगरपालिका उपमेयरसहित

बर्दिया – ६

रुकुम पूर्व – ५

रोल्पा – ५

अर्घाखाँची – ५

प्युठान – ७

गुल्मी – ०

पाल्पा –१

नवलपरासी (पश्चिम) –१

कपिलवस्तु – १

तथ्यांकः सम्बन्धित जिल्ला निर्वाचन कार्यालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर