पुग्दो चामल नल्याएपछि गाउँपालिका अध्यक्षले वितरण रोके – Nepal Press

पुग्दो चामल नल्याएपछि गाउँपालिका अध्यक्षले वितरण रोके

सुर्खेत । डोल्पाको काइके गाउँपालिकाको सरहताराका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट लिएको चामल गाउँपालिकाका अध्यक्ष अङ्गदकुमार रानाले वितरणमा रोक लगाएका छन् ।

चार हजार पाँच सय जनसङ्ख्या रहेको काइके गाउँपालिकामा सबैलाई पुग्ने गरी चामल ढुवानी नगरेसम्म लिएको चामल वितरण गर्न नदिने भन्दै उनले चामल वितरणमा रोक लगाएका हुन् ।

चालु आर्थिक वर्षका लागि लिएको दुई हजार पाँच सय क्विन्टल चामलमध्ये सात सय क्विन्टल चामल वितरण गरिसकेको र बाँकी भर्खरै मात्र लिएको पाँच सय क्विन्टल चामल वितरणमा उनले रोक लगाएका हुन् ।

काइके गाउँपालिकामा अझै एक हजार तीन सय क्विन्टल चामल ढुवानी गर्न बाँकी रहेकोले आफुले चामल वितरणमा रोक लगाएको गाउँपालिका अध्यक्ष रानाले बताए ।

अहिले गएको जति चामल वितरण भइदिए केही समस्या हल हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कमलराज पाण्डेले बताए । चामल वितरणमा रोक लगाएपछि नयाँ चामल लिन ठेकेदार कम्पनीलाई समस्या हुने उनले बताए ।

पहिला लिएको चामल बिक्री गरेपछि मात्र ठेकेदारलाई आफूहरूले रकम भुक्तानी दिने गरेकोले आएको चामल वितरण नहुँदा सम्म रकम भुक्तानीमा समस्या हुने लिमिटेडले जनाएको छ ।

गाउँमा आएको चामल समेत वितरण गर्न नदिएर गाउँपालिकाका अध्यक्षले राजनीति गर्न खोजेको स्थानीयको आरोप छ । जुफाल र दुनैमा पनि चामलको सङ्ख्या कम रहेको र मुस्किलले एक हजार क्विन्टल चामल रहेको पाण्डेको भनाइ छ । जिल्लाका अन्य पालिकामा समेत खाद्यान्न अभाव रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *