नयाँ वर्षमा बुटवल र भैरहवामा खाना महोत्सव हुने – Nepal Press

नयाँ वर्षमा बुटवल र भैरहवामा खाना महोत्सव हुने

बुटवल । नयाँ वर्षको अवसरमा रुपन्देहीका होटल व्यवसायीहरुले सडक तथा पार्कमा खाना महोत्सवको तयारी गरेका छन् । कोरोना महामारी लागेपछि व्यवसायीले गर्दै आएका यस्ता कार्यक्रम रोकिएका थिए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलको पर्यटकीयस्थल हिलपार्कमा तेस्रो बुटवल कला, संस्कृति तथा खाना महोत्सव २०७९ गर्न लागिएको हो ।

यो महोत्सवबाट नेपाली संस्कृति र खानाका परिकारहरु ग्राहकलाई जानकारी दिनु मुख्य उद्देश्य रहेका अध्यक्ष रामप्रसाद गौतमले बताए । नुवाकोट क्षेत्रमा गर्ने तयारी भैरहेको बेला विशेष कारणवस क्षेत्र सार्नुपरेको उनले बताए । महोत्सवबाट नेपाली कला संस्कृतिको जगेर्नासंगै यस क्षेत्रमा रहेका पार्क र उद्यानहरुको समेत प्रचारप्रसार हुने उनले बताए । महोत्सवमा १२ वटा विशेष स्टेलहरुमा नेपाली खानाका परिकारहरु राखिने छन् । एक दिनमात्र चल्ने महोत्सवमा १० हजार दर्शकहरुले अवलोकन गर्ने महोत्सवमा २५ लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकहरुको अनुमान छ ।

संघका महासचिव माधव खनालले बिहान १० बजेदेखि साँझ ९ बजेसम्म महोत्सव संचालन हुने महोत्सवको सुरक्षा व्यवस्थाको समेत राम्रो प्रबन्ध गरिएको बताए । महोत्सवको दिन हिलपार्क क्षेत्रमा पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । संघले वि.सं २०७५ मा पहिलो पटक खाना महोत्सव गरेको थियो ।

भैरहवामा सडक खाना महोत्सवको तयारी

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले नयाँ वर्ष २०७९ को अवसरमा चैत ३० गते हुने सिद्धार्थ सडक खाना महोत्सवको तयारी गरेको छ । संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले ‘सडकमै खाउँ, सडकमै रमाउँ’भन्ने नारासहित चैत्र ३० गते खाना महोत्सव हुन लागेको बताए । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुर्याउने उद्देश्यले खाना महोत्सव आयोजना गर्न लागिएको न्यौपानेले जानकारी दिए ।

महोत्सवमा स्थानीय कला संस्कृति, स्थानीय सांस्कृतिक नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुती तथा डिजेसहितका कार्यक्रम हुने संगठनका महासचिव राजेश महोत्राले बताए ।

महोत्सवमा सानादेखि तारे होटलसम्मका खानाका स्वाद लिन पाइने छ । साथमा थारु, नेपाली, चाइजिन, इन्डियन, थाईलगायत सबै किसिमका खानाहरु सडकमै पाइने छ । महोत्सवले विगत ३ वर्षदेखि थला परेको पर्यटन व्यवसायमा रौनकता ल्याउने आशा गरिएको छ । महोत्सवमा विभिन्न खानाका परिकारसहितका १ सय वटा स्टल रहने छन् ।

स्वदेशी तथा भारतीय र तेस्रो मुलुकका गरी ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा आयोजककोे छ । महोत्सवमा हाँस्य कलाकार सुमन कोइराला दले दाई, गायक खुमन अधिकारी, अफसर अली, सुमन थापा, डिजे रुकेन श्रेष्ठलगायत स्थानीय कलाकारहरुबाट मनोरन्जन दिइने संघले जनाएको छ ।

होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देही आयोजक रहेको महोत्सवमा सहआयोजक सिद्धार्थनगर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर