प्रो क्लब च्याम्पियनसिप : एपीएफले हरायो बंगलादेशलाई, मलेसियासँग पुलिस पराजित – Nepal Press

प्रो क्लब च्याम्पियनसिप : एपीएफले हरायो बंगलादेशलाई, मलेसियासँग पुलिस पराजित

रुपन्देही । नेपाल एपीएफ क्लबले प्रो क्लब च्याम्पियनसिपमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । कप्तान प्रदीप ऐरीको अर्धशतकमा उसले एकेडेमीमाथि जित निकाल्न सफल भएको हो ।

अर्को खेलमा मलेसिया क्लब–११ ले नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गरेको छ । योसँगै पुलिस ३ खेल जितबिहीन हुँदै समूह चरणबाट नै बाहिरिएको छ ।

मंगलबार भैरहवास्थित सिद्धार्थ रंगशालामा एपीएफले जितका लागि पाएको १ सय २६ रनको विजयी लक्ष्य १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान प्रदीप ऐरी ५८ बलमा ६ चौकासहित ५४ रनमा अविजित रहे । ओपनर दीपक बोहराले ३८ बलमा ५ चौका र १ छक्कासहित ४२ रन जोड्दै राम्रो सुरुवात गरेका थिए । आयुषमान बम ९ र सन्दीप जोरा १० रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । उसका लागि असदुरजमान बरेनायोले ३४ बलमा ४ चौकासहित ३० रन बनाए । शरियारे रिमन २२, अबिदुर कैफ १६, राज बम २१ र आशिष रत्नमले १९ रन बनाए । एपिएफका भुवन कार्की र प्रदीप ऐरीले समान २–२ विकेट लिए ।

यस्तै, अर्को खेलमा जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १७ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा नाजरिल रहमानले २८ बलमा ५ चौकासहित सर्वाधिक २७ रन बनाए । सैद अजिज १३, शार्विन मुनीआन्दी १८ र मोहम्मद वाफिकले ११ रन बनाए । मलेसिया १२.५ ओभरमा ६५–८ को अवस्थामा पुगेको थियो । मुनीआन्दी र जुहदी हजालनले नवौं विकेटका लागि १५ रनको साझेदारी गरे । अन्तिम विकेटका लागि मुनीआन्दीले वाफिकसँग २० रनको अविजित साझेदारी गरेका थिए । १७ औं ओभरमा कप्तान मञ्जित श्रेष्ठले २ चौका र १ छक्कासहित १६ रन जोड्दै जित पक्का गराए । पुलिसका पवन सरार्फले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल, करण केसी, मञ्जित श्रेष्ठ र गुलशन झाले १–१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको पुलिस १९.४ ओभरमा ९९ रनमा अल आउट भयो । पुलिसका प्रेम तामाङले ३१ बलमा १चौका र १ छक्कासहित सर्वाधिक २८ रनमा अविजित रहे । ओपनर पवन सरार्फले १४ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए । शंकर राना १०, करण केसी ४, दीलिप नाथ शून्य, अर्जुन साउद ४ र सागर ढकालले २४ बलमा १४ रन जोडे । मलेसियाका सैद अजिजले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए । शार्विन मुनीआन्दीले ४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिए ।

समूह ए मा रुपन्देही–११ ले २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । रुपन्देहीले बुधबार पुश स्पोर्ट्स दिल्लीसँग खेल्नेछ । उक्त खेलमा रुपन्देही विजयी भएमा मलेसिया सेमिफाइनलमा पुग्नेछ । रुपन्देही पराजित भएमा दिल्ली र मलेसियाको नेटरनरेटमा निर्भर रहनेछ । मलेसियाको नेटरनरेट ०.५३० र दिल्लीको माइनस ०.४९५ छ ।

दिल्ली २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । पुलिस ३ खेलमा पराजित हुँदै अंकबिहीन बन्दै बाहिरिएको छ । समूह बी मा त्रिभुवन आर्मी क्लब २ खेलमा २ मा नै जितसहित शीर्ष स्थानमा छ ।

उत्तर प्रदेश क्रिकेट क्लब–११ समान खेल र नतिजाका साथ दोस्रो स्थानमा छ । उत्तर प्रदेश र आर्मी समूह बी बाट समिफाइनलमा पुगेका छन् । एपीएफ ३ खेलमा २ मा हार र १ मा जितसहित समूह बी को तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर