विराटनगरको मेयरमा हाई प्रोफाइलको आकर्षण, कांग्रेसका दुई केन्द्रीय सदस्य नै मैदानमा – Nepal Press
स्थानीय चुनाव

विराटनगरको मेयरमा हाई प्रोफाइलको आकर्षण, कांग्रेसका दुई केन्द्रीय सदस्य नै मैदानमा

कांग्रेसले केन्द्रको सहमति तोड्न खोजेको माओवादीको आरोप

विराटनगर । आसन्न स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा हाई प्रोफाइलका नेताहरुको आर्कषण बढेको छ । यहाँ नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारीका लागि केन्द्रीय सदस्यद्वय डिला संगौला र अमृत अर्यालले समेत दाबेदारी प्रस्तुत गरेका छन् ।

वैैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको खण्डमा आफूहरु मेयर पदका लागि लड्न तयार रहेको उनीहरुले बताएका छन् । उनीहरु दुवैजना कांग्रेसको संस्थापन पक्षका हुन् । र उनीहरु प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

संगौलाले भनिन्, ‘मलाई पार्टीले मेयर पदको लागि अनुमोदन गर्छ भने म त्यो जिम्मेवारी लिन तयार छु ।’ विराटनगरको मेयर भएर विकासको स्वरुप फेर्न काममा आफू लाग्ने संगौलाले बताइन् ।

अर्को केन्द्रीय सदस्य अर्यालले पनि आफूलाई पार्टीले मेयरको टिकट दिएको खण्डमा चुनाव लड्न तयार रहेको बताए । ‘पार्टीले दिएको जिम्मेवारी बहन गर्न म तयार छु’, अर्यालले भने ।

त्यस्तै संस्थापन पक्षकै बहालबाला मेयर भीम पराजुली पनि मेयर पदको आकांक्षी रहेका छन् । यसबाहेक डा शेखर कोइराला पक्षबाट मोरङ उपसभापति नागेश कोइराला, उपप्रमुख इन्दिरा कार्कीलगायतका नेताहरू दाबेदार छन् ।

विराटनगर महानगरमा एक्लै चुनावमा जाने निर्णय गरेको नेपाली कांग्रेस नगर समितिले महानगरको प्रमुख तथा उपप्रमुखको नाम सिफारिसका लागि आज बैठक बस्ने तयारी भइरहेको नगर सचिव तेजेन्द्र भट्टराईले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवार १ जनाले निर्वाचन जितेका थिए । अघिल्लोपटक कांग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो ।

त्यसबेला कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने ।

एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रहलादप्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए ।अन्य उम्मेदवारको जम्मा मत ३ सय ६४ रहेको छ ।

कांग्रेसले केन्द्रको सहमति तोड्न खोजेको माओवादीको आरोप

आउँदो स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयलाई प्रदेशमा कार्यान्वयन गर्न आनाकानी गरेको रिपोर्ट नेकपा माओवादी केन्द्र प्रदेश कमिटिले केन्द्रमा पठाएको छ ।

माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीका अनुसार गठबन्धन गर्नेबारे छलफल तथा बैठकमा कांग्रेस उदासिन भएजस्तो देखिएको सुझाव केन्द्रलाई पठाइएको हो ।
पार्टीले स्थानीय तहको अवस्था तथा गठबन्धनको अवस्थाबारेमा ठोस सुझाव पेश गर्न आग्रह गरेअनुसार सुझाव पेश गरिएको उप्रेतीले जानकारी दिए ।
अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाइएको पत्रमा केन्द्रको सर्कुलर अनुसार ५ वटा कमाण्ड बनाएर चुनाव परिचालन अभियान प्रदेशभरी संचालन गरिएको पनि उल्लेख छ ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको भन्दै एक्लै चुनावमा जाने निर्णय यसअघि नै गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर