ओलीको गृहजिल्लामा एमालेको नयाँ प्रयोग, उम्मेदवारको आन्तरिक चुनावमा को को टप थ्री ? – Nepal Press

ओलीको गृहजिल्लामा एमालेको नयाँ प्रयोग, उम्मेदवारको आन्तरिक चुनावमा को को टप थ्री ?

पार्टी सदस्यबीचका मतदान एउटा सूचकमात्र, अन्य पाँच चरणपछि मात्र टिकट फिक्स

बिर्तामोड । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेकपा एमालेले स्थानीय तहका उम्मेद्वार सिफारिसका लागि सर्वसम्मति नभएको अवस्थामा उच्चतम लोकतान्त्रिक अभ्यासको विधि अपनाएको छ ।

अमेरिकी राष्ट्रपति उम्मेदवार चयन अघि गरिनेभन्दा पनि उन्नत लोकतान्त्रिक विधि एमालेले यसपटक झापामा अपनाएको छ । झापाका ९ वटा पालिकामा उम्मेदवार सिफारिसका लागि सो नगर वा वडाभित्र आबद्ध पार्टी सदस्यहरूबाट मतदान गराएको छ ।

निर्वाचन परिणाम र स्थानीय विश्लेषणका आधारमा मात्रै प्रदेश कमिटीलाई उम्मेद्वारको नाम सिफारिस गरिने बताइएको छ । मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षका उम्मेद्वारका आकांक्षी धेरै भएका ठाउँहरुमा शुक्रबार आन्तरिक चुनाव गरिएको थियो ।

मेचीनगर, बुद्धशान्ति, भद्रपुर, बिर्तामोड, कनकाई, झापा गाउँपालिका, शिवसताक्षी नगर तथा कमल र बाह्रदशी गाउँपालिकामा उम्मेद्वार सिफारिसका लागि आन्तरिक चुनाव भएको छ । त्यसमध्ये बाह्रदशी गाउँपालिकाको गणना हुन बाँकी छ ।

अन्य ६ पालिकामा सर्वसम्मत प्रक्रियाबाट उम्मेद्वारहरूको नाम सिफारिस भएको बुझिएको छ । निर्वाचन नभएका पालिकाहरूमा सर्वसम्मतिका लागि आवश्यक छलफल भइरहेको पार्टीका जिल्ला सचिव शिव ढुंगलले जानकारी दिए । उनले आन्तरिक चुनावको मत परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

आन्तरिक चुनावको परिणाम आवश्यकताका आधारमा सम्बन्धित कमिटीलाई मात्रै जानकारी दिइने बुझिएको छ । उनले आन्तरिक चुनावको परिणामले मात्र उम्मेद्वार निश्चित नहुने बताए । पार्टीले विभिन्न सूचक बनाएर उम्मेद्वार छनौट गरिरहेको भन्दै निर्वाचन पाँच सूचक मध्ये एउटा सूचक मात्रै भएको बताए ।

उनका अनुसार चैत २७ गतेसम्म जिल्लाका सबै पालिकाले जिल्लालाई उम्मेदवार सिफारिस गरिसक्नुपर्ने छ । सचिव ढुंगेलले पालिकाबाट सिफारिस भएको नाममा थप छलफल गरेर २९ गते बस्ने जिल्लाको बैठकले प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने जानकारी दिए । प्रदेश कमिटी बैठकले निर्णय गरेर पठाएको नाम मात्रै अन्तिम हुने बताइएको छ ।

बिर्तामोडमा पवित्रा अगाडि

बिर्तामोडमा उम्मेदवार सिफारिसका लागि एमालेले गरेको आन्तरिक चुनावमा वहालवाला उपमेयर पवित्रा महतरा प्रसाईले सर्वाधिक मत प्राप्त गरेकी छन् । निर्वाचन सूचकमा पहिलो बनेकी महतराले बाँकी ४ सूचक पूरा गर्नुपर्नेछ ।

बिर्तामोडको मेयरमा प्रसाईले सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् भने दोस्रो मत एकराज कार्की र तेस्रो मत नगेन्द्र संग्रौलाले प्राप्त गरे । कार्की प्रदेशसभा सदस्य हुन् ।

यस्तै, उपमेयरको चुनावमा सबैभन्दा धेरै मत भार देवराज कार्की, दोस्रो भीमा शिवाकोटी र तेस्रो मतभार गणेश पोखरेलले प्राप्त गरेका छन् । नगर पार्टीले जिल्लालाई तीनजनाको नाम उम्मेद्वार आकांक्षीको रूपमा सिफारिस गर्ने बुझिएको छ । .

भद्रपुरमा असारु राजवंशीलाई धेरै मत

झापाको भद्रपुर नगरपालिकाको मेयरमा आकांक्षीहरुबीच भएको आन्तरिक चुनावमा असारु राजवंशीले सबैभन्दा धेरै मतभार प्राप्त गरेका छन् । उनले दोस्रो मत प्राप्त गर्ने आकांक्षीभन्दा झण्डै २०० मत धेरै ल्याएको बुझिएको छ ।

भद्रपुरमा एमालेबाट ६ जनाले मेयरमा आकांक्षा व्यक्त गरेपछि आन्तरिक चुनाव गरिएको हो । राजवंशीपछि वर्तमान उपमेयर चन्द्रा श्रेष्ठ दोस्रो, कालिचरण बस्नेत तेस्रो , मेयर जीवन श्रेष्ठ चौथो, राम दवाडी पाँचौं र सिता प्याकुरेलले छैठा मतभार प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा आकांक्षी कौशिला अधिकारीले सबैभन्दा धेरै मत प्राप्त गरिन् । दोस्रोमा हरि तिम्सिना, तेस्रोमा विनोद पोखरेलले मत पाएका छन् । निर्वाचनमा मतभारका आधारमा पार्टीलाई गरेको योगदानको मुल्याकङन हुने बताइएको छ । आन्तरिक चुनावको परिणाम नै निर्णायक नहुने एमाले झापाले जनाएको छ ।

प्राप्त सूचनाअनुसार मेचीनगरमा गोपाल बुढाथोकी, बुद्धशान्तिमा मिरा भुर्तेल, कनकाईमा राजेन्द्र पोखरेल, शिवसताक्षीमा रोशन थोप्रा, झापा गाउँपालिकामा गजेन्द्र ताम्लीले पहिलो मतभार प्राप्त गरेका छन् ।

यसैबीच नेकपा एमाले झापाले एक विज्ञप्ति जारी गर्दै पहिलो मत भार प्राप्त गर्ने व्यक्तिले टिकट पाइसके जस्तो प्रचार भएको भन्दै त्यसलाई आधिकारिक रूपमा नबुझ्न आग्रह गरेको छ । पार्टीको आन्तरिक चुनाव विभिन्न सूचकमध्ये एक सूचक मात्रै भएको जनाएको छ ।

अर्जुनधारा गोम्देन सर्वसम्मत

नेकपा एमाले अर्जुनधारा नगर कमिटीले मेयर उम्मेदवारका लागि लागि नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत सिफारिस गरेको छ । एमाले नगर कमिटी अध्यक्षसमेत रहेका गोम्देनलाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।

अर्जुनधाराका वडाध्यक्षसमेत रहेका गोम्देनसहित मेयर पदमा उपमेयर कमला आचार्य , कमल गुरागाई र देवीमाया भट्टराईले आकांक्षा व्यक्त गरेका थिए । सहमतिबाटै मेयरको उम्मेदवार टुंगो लगाएको अर्जुनधाराले उपमेयरको उम्मेदवारले पनि सर्वसम्मत गर्ने गरी छलफल गरिरहेको छ ।

मेयरको उम्मेदवार सिफारिसका लागि सर्वसम्मत भएका गोम्देन राजनीतिकसँगै सामाजक सेवामा क्रियाशील व्यक्ति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर