एनटिभीको ब्यान्डविथ खरिदमा अनियमितता : ३५ सय डलरबाट २ हजारमा झार्दा पनि अरूको भन्दा महंगो – Nepal Press

एनटिभीको ब्यान्डविथ खरिदमा अनियमितता : ३५ सय डलरबाट २ हजारमा झार्दा पनि अरूको भन्दा महंगो

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिभिजनले विगतमा विदेशी कम्पनीसँग स्याटेलाइट भाडामा लिँदा ठूलो अनियमितता भएको पुष्टि हुने आधारहरू देखिएका छन् ।

अहिले उही कम्पनीसँग टेलिभिजनले निकै कम मूल्यमा ब्यान्डविथ खरिद गर्न थालेपछि विगतको सम्झौतामा अनियमितता देखिएको हो ।

थाइल्यान्डको थाइकम पीसीएलसँग नेपाल टेलिभिजनले २५ मेगाहर्ज ब्यान्डविथ भाडामा लिँदै आएको छ । विगत करिब १६ वर्षसम्म एक मेगाहर्जको प्रतिमहिना ३ हजार ४ सय ९० अमेरिकी डलर तिर्ने गरिएको थियो । तर, अहिले नयाँ सम्झौता गरेर एक मेगाहर्जको २ हजार अमेरिकी डलर मात्र तिर्न थालिएको छ । यद्यपि यो मूल्य पनि चलनचल्तीभन्दा केही महंगो हो ।

थाइकमसँग गत वर्ष नै सम्झौता सकिएको भए पनि अर्को विकल्प तयार नहुँदासम्म सोही कम्पनीलाई निरन्तरता दिइएको टेलिभिजन स्रोतले बतायो । थाइकमले सन् २०२० मै आफ्नो स्याटलाइटले काम गर्न छाडेपछि एपी स्टार–७ मार्फत नेपाल टेलिभिजनका विभिन्न ५ वटा च्यानलको स्याटलाइट प्रशारण गरिरहेको छ । एपी स्टार सेभेनले अन्य नेपाली टेलिभिजनहरूलाई भने प्रतिमेगाहर्ज एक हजारदेखि १५ सय अमेरिकी डलरमा स्याटेलाइट सेवा दिइरहेको छ ।

‘थाइकमसँग प्रतिमेगाहर्ज २ हजार अमेरिकी डलरको सम्झौता गरिएकोमा करसहित कि कर कटाएर भन्ने स्पष्ट थिएन । अहिले आपसी समझदारीमा १५ प्रतिशत कर कटाएर प्रतिमेगाहर्ज १७ सय अमेरिकी डलर दिने कुरा भएको छ’, स्रोतले भन्यो ।

नेपाल टेलिभिजनका नेपाल टेलिभिजन र एन टिभी–२ सन् २००५ देखि, २०१४ देखि समाचार च्यानल, २०१७ देखि क्षेत्रीय च्यानल कोहलपुर र २०१९ देखि क्षेत्रीय च्यानल इटहरी स्याटलाइटमार्फत प्रशारण भइरहेका छन् । थाइकमसँग सन् २००५ मा दुई वटा च्यानलका लागि मासिक ९ मेगाहर्ज ब्यान्डविथ ३ हजार ४ सय ९० अमेरिकी डलरको दरमा पाँच वर्षका लागि सम्झौता भएको थियो । उक्त रकम करबाहेकको हो ।

एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लग्दा दुवै च्यानललाई ५ मेगाहर्ज पर्याप्त हुने भएपछि सन् २०१२ मा ग्लोबल टेन्डर आह्वान गरियो । त्यति बेला एउटा कम्पनीले प्रतिमेगाहर्ज २८ सय डलरको प्रस्ताव गरेको थियो । तर टेन्डर रद्द गरियो र थाइकमसँगकै सम्झौतालाई अर्को व्यवस्था नहुँदासम्मका लागि निरन्तरता दिइयो ।

फेरि खोलिएको टेन्डरमा पनि थाइकमलाई चुनियो र मासिक प्रतिमेगाहर्ज करसहित ३ हजार ४ सय ९० अमेरिकी डलरमा १० वर्षका लागि सम्झौता भयो । नेपाल टेलिभिजनले त्यसयता समाचार च्यानल र कोहलपुर च्यानलका लागि समान २.५ मेगाहर्ज थप गरेको थियो ।

नेपाल टेलिभिजन संस्थानको ३४ औँ वार्षिक उत्सवका अवसरमा तीन वर्षअघि नेपाल टेलिभिजनका सबै ४ वटै च्यानललाई एसडीबाट एचडी प्रविधिमा रूपान्तरण गर्ने घोषणा गरिएपछि नेपाल टेलिकमलाई थप १० मेगाहर्ज आवश्यकता पर्‍यो । एसडीबाट एचडीमा लैजान दोब्बर ब्यान्डविथ चाहिन्थ्यो । सोही वर्ष इटहरी च्यानल पनि थपिएपछि थाइकमसँगको स्याटलाइट ब्यान्डविथ सम्झौता २५ मेगाहर्जमा पुगेको थियो ।

एकपछि अर्को च्यानल थपेर तीनलाई स्याटलाइट प्रशारणमा जोड्ने कामलाई टेलिभिजनकै अधिकारीहरू कमिसनको चक्कर भएको बताउँछन् । यसबीचमा कमिसनको आशंकासँग जोडिएका समाचारहरू पनि बाहिर आएका थिए ।

फेरी टेन्डर रद्द

थाइकमसँग सम्झौता सकिएपछि नेपाल टेलिभिजनले गत असारमै ग्लोबल टेन्डर आह्वान गरेको थियो । स्रोतका अनुसार त्यति बेला कम्पनीहरूले प्रतिमेगाहर्ज २६ सय अमेरिकी डलर बढ्न नपाउने गरी बोलपत्रको डकुमेन्ट तयार गरिएको थियो । तर उक्त रकम पनि चलनचल्तीको दरभाउभन्दा निकै महँगो थियो । विभिन्न निकायमा कुरा उठेपछि अन्ततः उक्त टेन्डर आह्वान रद्द भयो । नेपाल टेलिभिजन व्यवस्थापनले फेरी ग्लोबल टेन्डर आह्वानका लागि तयारी थालेको छ ।

केही समयअघि २५ मेगाहर्ज ब्यान्डविथ भाडामा लिनका लागि टेक्निकल स्पेसिफिकेसन तयार गर्नु पूर्व बोलपत्र बनाउँदा के कति कुरामा ध्यान दिने र कसरी पारदर्शी बनाउने भन्ने विषयमा नेपाल टेलिभिजन व्यवस्थापनले विशेषज्ञहरूसँग छलफल गरिएको थियो ।

एउटा मात्र कम्पनीलाई छनोट गर्ने गरी टेक्निकल स्पेसिफिकेसन बनाउँदा विगतमा वार्षिक करोडौँ घाटामा गइरहेको नेपाल टेलिभिजनले महँगो मूल्य तिरेर ब्यान्डविथ किन्नुपरेको टेलिभिजनका अधिकारीहरू बताउँछन् ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले भने थाइकमसँग स्टान्डर्ड सी ब्यान्डको सम्झौता भएकाले अन्य नेपाली टेलिभिजनभन्दा ब्यान्डविथको मूल्य बढी पर्न गएको दाबी गरे ।

‘अरू टेलिभिजनले एक्सटेन्डेड सी ब्यान्ड लिइरहेका छन् जुन स्टान्डर्ड सी ब्यान्डको तुलनामा सस्तो हुन्छ’, बलले भने ।

इटहरी च्यानल थपिएपछि नेपाल टेलिभिजनले पाँच मेगाहर्ज निःशुल्क पाएको उनले सुनाए ।

‘हामीले ५ मेगाहर्ज निःशुल्क पाइरहेका थियौँ । त्यसरी हेर्दा एक मेगाहर्जको २७ सय ९० अमेरिकी डलर मात्र पर्दै आएको थियो,’ उनले भने।

तर नेपाल टेलिभिजनकै अधिकारीहरू इटहरी प्रशारणका लागि उपलब्ध ५ मेगाहर्ज ६ महिनाका लागि मात्र निःशुल्क भएको र त्यसपछि २५ मेगाहर्जकै प्रतिमेगाहर्ज ३ हजार ४ सय ९० अमेरिकी डलर तिर्दै आएको बताउँछन् । महाप्रबन्धक बलले नयाँ टेन्डर पनि गर्न नसकिएकाले थाइकमसँग नै ६ महिनाका लागि सम्झौता थप गरिएको बताए ।

‘त्यति बेला हामीले लामो समयदेखि सेवा लिइरहेकाले करसहित प्रतिमेगाहर्ज २ हजार अमेरिकी डलरमा दिन प्रस्ताव गरेका थियौँ । तर थाइकमले मानेन । उनीहरू करबाहेक २ हजार अमेरिकी डलरका लागि तयार भए,’ बलको भनाई छ । पछिल्लो सम्झौताअनुसार नेपाल टेलिभिजनलाई प्रतिमेगाहर्ज ४ सय ४२ अमेरिकी डलर भार कम भएको बलले बताए ।

नेपाल टेलिभिजनले अहिले कर कटाएर १७ सय डलर प्रति मेगाहर्ज रकम पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर