लुम्बिनीका चार उपमहानगरमा एमालेबाट दोहोरिन चाहेका दुई मेयरले पाउलान् टिकट ? – Nepal Press

लुम्बिनीका चार उपमहानगरमा एमालेबाट दोहोरिन चाहेका दुई मेयरले पाउलान् टिकट ?

रुपन्देही । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिमध्ये गत स्थानीय तहमा ३ उपमहानगर प्रमुख र उपप्रमुख नै एमालेले कब्जा गरेको थियो । एक उपमहानगरमा राप्रपा विजयी भएको थियो ।

दोस्रो र तेस्रो अर्थात कांग्रेस र माओवादीको मत जोड्दा एमाले भन्दा धेरै भएका कारण पनि यो पटकको चुनावी अंक गणित कस्तो हुनेछ भन्ने जोडघटाउ सुरु भएको छ ।

एमालेले जितेको बुटवलमा कांग्रेस, माओवादी र जनमुक्तिको गठबन्धन रहेको थियो भने दाङमा अलग अलग प्रतिस्पर्धा । बाँकेमा एमालेबाट ०५४ सालमा मेयर बनेका डाक्टर धवलशमशेर राणा राप्रपाबाट जितेका थिए ।

अहिले एमालेबाट छुटिएर बनेको नेकपा एस, जनमोर्चा, जसपा, र यसअघि अधिकांश पालिकामा गठबन्धन गरेको कांग्रेस र माओवादीसमेतको गठबन्धनले एमालेको विरासत जसरी पनि तोड्ने संकल्प गरेका छन् तर भागवण्डामा आफूले नपाए गठबन्धन नहुने पनि चेतावनी दिइरहेका छन् ।

अर्कोतिर तत्कालीन अवस्थामा माओवादीमा रहेको अधिकांश नेता कार्यकर्ता र तराईमधेसका धेरै अन्य पार्टीबाट एमालेमा प्रवेश गरेकाले कसको पल्ला भारी छ तौलन सक्ने अवस्था छैन । यसैले पनि चुनाव थप रोचक बनेको छ ।

बुटवल उपमहानगरपालिकामा के होला ?

एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा गत निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीको गठबन्धनलाई पराजित गर्दै बुटबल उपमहानगरको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको थियो । प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्यले २५ हजार ३०१ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनमा माओवादीबाट उम्मेदार बनेका जगत पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । अहिले पोखरेल एमालेमा छन् । उनी मात्र होइन बुटवलमा रहेका धेरै माओवादी एमालेमा प्रवेश गरेकाले माओवादीको संगठन कमजोर बनेको छ ।

यहाँबाट एमालेले आफ्नो विरासत जोगाउन कसलाई पठाउँछ भन्ने चासोको विषय छ । अहिलेका मेयर शिवराज सुवेदी दोहोरिन चाहेका छन् भने अघिल्लो पटक मेयरकै अन्तिम तीनमा परेका बाबुराम भट्टराई र गोपाल राना बलिया दावेदार हुन् ।

बहालवाला उपमेयर गुमादेवी आचार्य पनि मेयरमै दावेदारी गरेकी छन् । कांग्रेसबाट अघिल्लो निर्वाचनका बलिया प्रतिस्पर्धी खेलराज पाण्डे तथा उनकै समूहका हरि लम्साल अन्तिम दौडमा रहेपनि पार्टीको संस्थापन इतर समूहमा रहेका उनीहरुलाई छल्न नेता बालकृष्ण खाँणले व्यवसायी महेशमान सिंह, सु्रेन्द्र श्रेष्ठलगायतको नाम चर्चामा ल्याएका छन् र गठबन्धनमा रहेका अन्य दलले उपमेयर कसले पाउने भन्ने दाउमा छन् ।

घोराही उपमहानगरपालिकामा कसले पाउला टिकट ?

एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा दुई उपमहानगर छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी २२ हजार ३० मतसहित विजयी भएका थिए ।

सो समयमा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री १७ हजार ४८४ प्राप्त गर्दा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए । घोराहीमा यो पटक एमाले एक्लै लडे आफ्नो विरासत जोगाउला त भन्ने प्रश्न उठ्न थालेको छ । उपमेयरमा एमालेकै सीता न्यौपाने धेरै मतले विजयी भएकी थिइन् ।

उनले २० हजार ७९२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७ हजाार ६०३ मा मत ल्याएकी थिइन् । यहाँबाट पनि एमालेका नरुलाल चौधरी दोहोरिने निश्चितजस्तै छ । उनी महासचिव शंकर पोखरेल निकट भएकाले पनि टिक पाउने धेरैले आंकलन गरेका छन् । कांग्रेस र माओवादी दुवैले यहाँ मेयरको दावी गरेकाले नेताहरुको चर्चा कम भएको छ । यहाँबाट माओवादीको एउटा समूह नै एमालेमा प्रवेश गरेकाले उ कमजोर रहेको कांग्रेसको दावी छ ।

तुलसीपुर उपमहानगरपालिकामा एमालेले जोगाउला विरासत ?

तुल्सीपुर उपमहानगरपालिकामा पनि मेयर र उपमेयर दुवैमा एमालेले विजयी भएको थियो । एमालेका उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मतसहित दोस्रो हुँदा नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका थिए ।
उपमेयरमा एमालेकी माया आचार्य २१ हजार ३७ मत प्राप्त गर्दै विजयी हुँदा उपमेयरका प्रत्यासी कांग्रेसकी देबकी नेपालीले २० हजार १ सय ८५ मत गर्दा नेकपा माओवादी केन्द्रका सीता ओलीले ९ हजार ५१ मत प्राप्त गरेकी थिइन् ।

एमालेबाट यहाँका मेयर नदोहोरिने घोषणा गरिसकेका छन् । यहाँबाट एमालेले यसअघि पार्टीको जिल्ला अध्यक्ष रहेका टिकाराम खड्कालाई उठाउने निश्चितजस्तै छ । गठबन्धनमा दुवै दलको दावी रहेकाले कसले पाउने सोही अनुसारको नेता टुंगाउनेगरी छलफल भएको छ । तर यहाँ माओवादी कमजोर भएकाले कांग्रेसले नै पाउने संभावना बढी छ ।

राप्रपाले जितेको नेपालगञ्ज उपमहानगरपालिकामा के होला ?

नेपालगञ्ज उपमहानगर पालिकामा राप्रपाका धवलशमशेर राणाले १२ हजार ५ सय १५ मत ल्याएर मेयर बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेशकुमार कनौडियाले ८ हजार ७३० मत ल्याएका थिए । तेस्रो स्थानमा आएका माओवादीका उम्मेदवारले ७ हजार १९८ मत ल्याएका थिए ।

एमाले चौथो स्थानमा थियो । हाल राप्रपा र एमालेको गठवन्धनको त्यस्तै कांग्रेस, माओवादी सहितको गठवन्धनका कारण नेपालगञ्ज उपमहानगरपालिकाको चुनावी रौनक बढ्ने देखिन्छ ।

नेपालगञ्जको उपमेयरमा कांग्रेसकी उमा थापामगर विजयी भएकी थिइन् । उनले राप्रपाकी उम्मेदवारलाई करिब २ हजार मतले पछि पारेकी थिइन् । यहाँका मेयर राणा नदोहोरिने भनिसकेका छन् भने नेकपा एमालेले केही महिना अघि प्रवेश गरेका पशुपतिलयाल मिश्रलाई भावी मेयरका रुपमा प्रचारमा ल्याइसकेको छ । गठबन्धनमा जसपा, माओवादी र कांग्रेस तीनै पार्टीले मेयर दावी गरेकाले यहाँ पनि कसले पाउने भन्ने रस्साकस्सी चलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर