भारतसँग सीमा जोडिएको कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील – Nepal Press

भारतसँग सीमा जोडिएको कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील

रुपन्देही । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा स्थानीय तहको निर्वाचनका लागि छुट्टाइएका २० मतदानस्थल सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील सूचीमा परेका छन् ।

प्रजिअ धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदान स्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए ।

जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २० मतदान स्थललाई अति संवेदनशील सुचीमा राखेको हो । मिश्राले निर्वाचन स्थलको निरीक्षणपछि मतदान स्थलको सुची निर्धारण गरिएको बताए ।

समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलतालगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको छ ।

जिल्लाका १० पालिकामा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन् । समितिले ६२ लाई संवेदनशील र १ सय ५३ मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ ।

मतदान केन्द्रमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरू परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराज पन्थीले बताए । प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीय रूपमा नै नियुक्त गरिने छ ।

उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको कर्मरीहरुको सुचीसमेत तयार भैसकेको छ । सो कर्मचारीहरूको सुची जिल्ला प्रमुख निर्वाचन अधिकारीलाई पठाइएको छ ।

यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ । वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

उता निर्वाचनमा सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आफूहरूले भरपर्दो सुरक्षा व्यवस्था मिलाउने उनले बताए ।

निर्वाचनमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । कपिलवस्तुमा २१ साना र ६ ठुला दल गरी कुल २७ दल मतदानमा सहभागी हुनेछन् ।

गत स्थानीय तहको निर्वाचनको मत

१. कपिलवस्तु नगरपालिका– काँग्रेस (९,२५४), स्वतन्त्र अहिले एमाले (५,६३१) र संघीय समाजवादी (४,०५४)

२. कृष्णनगर नगरपालिका– स्वतन्त्र (७,१७८), माओवादी (३,०८०) र राप्रपा (२,४३०)

३. बाणगंगा नगरपालिका– काँग्रेस (१५,७३८), एमाले (१५,२७८) र जनमोर्चा (४०४)

४. बुद्धभूमि नगरपालिका– काँग्रेस (१०,०६३), एमाले (९,९२६) र संघीय समाजवादी (१,७८२)

५. महाराजगंज नगरपालिका– काँग्रेस (७,७२४), स्वतन्त्र (६,७४५) र राप्रपा (७४९)

६. मायादेवी गाउँपालिका– संघीय समाजवादी (४,७११), काँग्रेस (३,३५२) र मधेसी जनअधिकार फोरम लाकतान्त्रिक (१,९५८)

७. यसोधरा गाउँपालिका– काँग्रेस (३,२७५), स्वतन्त्र (३,१५५) र नयाँ शक्ति (२,२०३)

८. विजयनगर गाउँपालिका– एमाले (३,५१२), स्वतन्त्र अहिले कांग्रेस (३,२८४), स्वतन्त्र (१,६०५)

९. शिवराज नगरपालिका– एमाले (६,१५५), संघीय समाजवादी (४,७६२) र राप्रपा (२,६७१)

१०. शुद्धोधन गाउँपालिका– स्वतन्त्र (१,८३७), स्वतन्त्र (१,७६३) र मधेसी जनअधिकार लोकतान्त्रिक (१,७३८)

कुन पालिकामा कति मतदाता

जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा बढी बाणगंगा नगरपालिकामा छन् । बाणगंगामा ६१ हजार १७७ मतदाता छन् । त्यहाँ ३० मतदान स्थल र ७३ मतदान केन्द्र छन् । दोस्रो ३१ मतदान स्थल र ५९ केन्द्र कायम गरिएको कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता छन् ।

यस्तै ३० मतदान स्थल र ५७ केन्द्र रहेको बुद्धुभुमी नगरपालिकामा ४५ हजार ३४१ मतदाता छन् । २५ मतदान स्थल र ५५ केन्द्र कायम गरिएको शिवराज नगरपालिकामा ४ हजार ४४८ मतदाता छन् । २४ मतदान स्थल र ४८ मतदान केन्द्र रहेको कृष्णगनर नगरपालिकामा ३६ हजार ८८३ मतदाता छन् ।

२३ मतदान स्थल र ४१ केन्द्र रहेको महाराजगंज नगरपालिकामा ३२ हजार २२१ मतदाता छन् । २२ मतदाता स्थल र ३९ केन्द्र रहेको मायादेवी गाउँपालिकामा ३१ हजार १६ मतदाता छन् । १७ मतदान स्थल र ३५ केन्द्र रहेको शुद्धोदन गाउँपालिकामा २७ हजार ७७५ मतदाता छन् ।

१८ मतदान स्थल र ३० केन्द्र रहेको बिजयनगर गाउँपालिकामा २३ हजार ८०२ मतदाता छन् । यस्तै १५ मतदान स्थल र २९ केन्द्र रहेको यशोधरा गाउँपालिकामा २३ हजार २४७ मतदाता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर