प्रदेश र संघको निर्वाचनमा माओवादीसँग तालमेल हुन सक्छः एमाले सचिव महासेठ – Nepal Press

प्रदेश र संघको निर्वाचनमा माओवादीसँग तालमेल हुन सक्छः एमाले सचिव महासेठ

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुन सक्ने बताएका छन् । एमालेले माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताए ।

तर, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग भने तालमेलको सम्भावना पटक्कै नभएको उनको भनाइ छ ।

‘कसैले सोचेको थियो र २ पार्टीबीच एक्कासी एकता हुन्छ भनेर ? भयो त । सहकार्य हुन सक्छ’, सचिव महासेठले भने, ‘अहिले माओवादी एउटा प्रतिक्रियावादी खेमामा पुगे पनि, दक्षिणपन्थी खेमामा पुगे पनि, कम्युनिस्ट आन्दोलनको विरुद्धमा पुगे पनि राजनीतिक रूपमा माओवादीलगायत वामपन्थी र प्रगतिशील पक्षसँग तालमेलको सम्भावना जहिले रहन्छ । तर, माधवकुमार नेपाल पक्षसँग रहँदैन ।’

एमालेको मधेस इन्चार्जसमेत रहेका महासेठले नेपाल नेतृत्वको पार्टीले एक्लै वडा सदस्य पनि कहीँ नजित्ने ठोकुवा गरे । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन पाउँदा पनि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन जित्न मुस्किल पर्ने दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर