समावेशी बन्न सकेन सुदूरपश्चिम प्रदेश सरकार, ११ सदस्यीय मन्त्रीमण्डलमा १ जना मात्रै महिला मन्त्री – Nepal Press

समावेशी बन्न सकेन सुदूरपश्चिम प्रदेश सरकार, ११ सदस्यीय मन्त्रीमण्डलमा १ जना मात्रै महिला मन्त्री

कैलाली । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको छ । नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन प्रदेश सरकार पुनर्गठन गरिएको हो । तर, सरकार पुनर्गठन गर्दा समावेशी बन्न नसकेको आरोप लागेको छ ।यस अघि ११ सदस्यीय मन्त्रिपरिषद्‌मा चार जना महिला मन्त्री रहेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विनीता चौधरी, आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा माया तामाङ बोहरा, भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा चुनकुमारी चौधरी र सामाजिक विकास राज्य मन्त्रीमा मना साउद रहेका थिए । तर, शुक्रबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चौधरी बाहेक सबैलाई हटाइएको छ ।

उनीहरूको स्थानमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका नेताहरू मन्त्री भएका छन् । चार महिला मन्त्रीलाई हटाएर अन्यलाई मन्त्री बनाउँदा एक जना पनि महिला परेनन् । पार्टी भित्रै महिलालाई हेर्ने दृष्टिकोणका कारण महिलाको नेतृत्व स्थापित गर्न समस्या भइरहेको एकीकृत समाजवादीकी प्रमुख सचेतक दुर्गा विकले बताइन् ।

हाम्रो पार्टीमा पनि महिला र दलितलाई हेर्ने दृष्टिकोण सङ्कुचित देखियो त्यसैको परिणाम हो यो असमावेसी मन्त्रिपरिषद् उनले भनिन्, खल्तीका मान्छेलाई मन्त्री बनाउदा यस्तो नियति झेल्नुपर्छ ।’

अहिले एकीकृत समाजवादीबाट दुई मन्त्री र दुई राज्य मन्त्री छन् । तर, ती मध्ये एक जना पनि महिला छैनन् । नेपाली कांग्रेसका तर्फबाट शुक्रबार दुई मन्त्री र एक राज्य मन्त्री थपिए । त्यसमा पनि महिला परेनन् । माओवादीका तर्फबाट मुख्यमन्त्री सहित दुई मन्त्री र एक राज्य मन्त्री छन् । माओवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएकी चौधरी मात्रै एक्ली महिला मन्त्री हुन् ।

‘बरु यो विषयमा माओवादी समावेशी देखिएको छ । माओवादीले महिला र दलित दुबैलाई मन्त्री बनाएको छ’ प्रमुख सचेतक बिकले भनिन्, ‘कांग्रेस पनि केही समावेशी देखियो । सबै भन्दा समावेशी देखिन नसकेको हाम्रै पार्टी हो ।’
उनले पार्टी भित्रैबाट महिला र दलित माथि विभेद भइरहेको बताइन् ।

१४ जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादी प्रदेशको पहिलो दल हो । १४ जना मध्ये समाजवादीमा ७ जना महिला सांसद छन् । आफ्ना पार्टीका कुन सांसद मध्ये आधा सांसद महिला हुँदा पनि मन्त्रिपरिषद्‌मा एक जना पनि महिला मन्त्री समावेश नहुनु विडम्बना रहेको उक्त पार्टीमा महिला सांसदहरू बताउँछन् ।

‘अहिले महिला सहभागिता आवश्यक हो तर, नेतृत्वले त्यस्तो महसुस गरेन’ एकीकृत समाजवादीकी सांसद सुशीला बुढाथोकीले भनिन्, ‘नेतृत्वले महसुस नगर्दा सुदूरपश्चिम सरकारमा हाम्रो पार्टीबाट महिला मन्त्री शून्य भयो ।’

पाँच दलीय गठबन्धन अन्तर्गत सुदूरपश्चिममा चार दलका सांसद छन् । तर, अहिले तीन दल मात्रै सरकार सहभागी छ। केन्द्रीय गठबन्धनमा जनता समाजवादी पार्टी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारमा जनता समाजवादी पार्टीका सांसदलाई सरकारमा सहभागी गराइएको छैन । जसपा कि एक मात्र सांसद पनि महिला हुन् ।


प्रतिक्रिया

2 thoughts on “समावेशी बन्न सकेन सुदूरपश्चिम प्रदेश सरकार, ११ सदस्यीय मन्त्रीमण्डलमा १ जना मात्रै महिला मन्त्री

  1. समावेशीताकाे ठेकेदार हुँ भन्ने पनि छ त सरकारमा । तर भन्ने समावेशिता गर्ने मन्त्री पद बेच्नेले केकाे महिलालाई अघि बढाउनु ? लुटने काम प्रमुख हाे यिनकाे ।

  2. लुट कान्छा लुट अन्त लुट्न पाइदैन नेपाल मा नै छ छुट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर