प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिता रुपन्देहीमा सुरु – Nepal Press

प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिता रुपन्देहीमा सुरु

रुपन्देही । अन्तर्राष्ट्रिय क्रिकेट क्लब सम्मिलित प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिता रुपन्देहीमा सुरु भएको छ । शुक्रवारबाट रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

पहिलोपल्ट नेपालमा यो खालको प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा घरेलु टोली रुपन्देही–११ ले मलेसिया–११ माथि ६ विकेटको सानदार जित निकालेको छ ।

मलेसिया–११ ले नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर भैरहवा आएको थियो । तर, पहिलो खेलमै घरेलु टोली रुपन्देहीसँग स्तब्ध भएको छ ।

१ सय ३२ रनको विजयी लक्ष्य रुपन्देहीले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । रुपन्देहीको जितमा अलराउन्डर वशिर अहम्मदले १८ बलमा ४ चौकासहित २७ रनमा अविजित रहे ।

ओपनर प्रज्वल थापाले ३२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए । सन्दीप रजाली १४ बलमा २ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे ।

रुपन्देहीलाई ओपनर देव खनाल र प्रज्वल थापाले ९.३ ओभरमा ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । नेपाली टोलीबाट अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका देव खनालले ३४ बलमा २ चौकासहित २२ रन जोडे । सुशान्त थापा ६ र तुल बहादुर थापा ७ रनमा आउट भए ।

मलेसियाका विरनदीपसिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । मोहम्मद आमिर सैद अजिज १ रनमा आउट भए ।

त्यसअघि सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको मलेसिया १९.५ ओभरमा १ सय ३१ रनमा अलआउट भएको थियो । मलेसियाका ओपनर विरनदीप सिंहले ६३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । सैद अजिजले २१ बलमा ४ चौका सहित २५ रन जोडे ।

ओपनर जुबैदी जुल्किफ्लिी र कप्तान अहमद फैज १–१ रनमा आउट भएका थिए । जुबैदी स्पिनर अनिल खरेल र फैज कप्तान कृष्ण कार्कीको बलमा बोल्ड भए । बायाँ हाते स्पिनर वशिर अहम्मदले एनुल हफिज र सैद अजिजलाई आउट गरे । दुर्गेश गुप्ताले मोहम्मद आमिरलाई १ रनमा बोल्ड गरी आउट गरे ।

तल्लो क्रमका शार्विन मुनीआन्दीले १५ बलमा ३ चौका र १ छक्कासहित २८ रन जोडे । मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीका वशिर अहम्मदले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान कृष्ण कार्कीले ३.५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, दुर्गेश गुप्ता र विक्रम भुषालले १–१ विकेट लिए ।

यसै, साता नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टी२० आई सिरिज खेलेको मलेसिया टोली नै भैरहवा गएको हो । रुपन्देहीले अव आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । मलेसियाले सोमबार पुस स्पोर्ट्स दिल्लीसँग खेल्नेछ ।

काठमाडौंको जोरा इन्टरनेशनल प्रालिको आयोजनामा भएको प्रतियोगितामा नेपालका चारसहित भारतका दुई तथा मलेसिया र बंगलादेशका १–१ क्लब सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर