रामेछापका ३ पालिकाको नेतृत्वमा नेकपा एसको दावी, गठबन्धनसँग वार्ता गर्न संयन्त्र गठन – Nepal Press

रामेछापका ३ पालिकाको नेतृत्वमा नेकपा एसको दावी, गठबन्धनसँग वार्ता गर्न संयन्त्र गठन

मन्थली । नेकपा एकीकृत समाजवादीले रामेछाप जिल्लाका आठमध्ये तीनवटा स्थानीय तहको नेतृत्व आफूले पाउनुपर्ने दावी गरेको छ । सत्ता गठबन्धनसँग तालमेल गर्ने केन्द्रीय नीति अनुरुप बिगतमा एमालेले जितेका ५ मध्ये तीनवटा स्थानीय तहमा दावी गर्ने पदाधिकारी बैठकले निर्णय गरेको हो ।

मन्थलीमा विहीवार बसेको पदाधिकारी बैठकमा पार्टीको वडादेखि पालिकासम्मको संगठन र जनाधारको बारेमा रिपोर्टिङ भएको थियो । रिपोर्टिङका आधारमा मन्थली नगरपालिका,खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको नेतृत्व दावी गर्ने र त्यसका लागि पाँच दलीय गठबन्धनमा प्रस्ताव लैजाने निर्णय भएको हो ।

मन्थलीको मेयर रमेश बस्नेत नेकपा एसको जिल्ला अध्यक्ष समेत हुन् । गठबन्धनसँग वार्ता गर्न जिल्ला इन्चार्ज देवशंकर पौडेल,पोलिटव्युरो सदस्य होम बुढाथोकी र जिल्ला अध्यक्ष बस्नेत रहेको संयन्त्र समेत गठन भएको प्रदेश कमिटी सदस्य रमेशबाबु श्रेष्ठले जानकारी दिए ।

तीनवटा पालिकाको नेतृत्व र अन्यमा सहमति अनुसार उपाध्यक्ष र उपप्रमुख लिएर वडा सदस्यदेखि नै साझा उम्मेदवार खडा गर्नुपर्ने निष्कर्ष नेकपा एसले निकालेको छ । रामेछाप नगरपालिकामा भने नेकपा एसले उपमेयरसहित वडा नम्बर ७ र ९ को अध्यक्ष दावी गर्ने भएको छ । अन्यको हकमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

अन्यत्र पाँच दलीय संयन्त्र बसेर गठबन्धनको निर्णय भइरहेका बेला रामेछापमा भने अहिलेसम्म गठबन्धनको बैठक बस्न सकेको छैन । पछिल्लो पटक मन्थली क्याम्पसको अध्यक्षमा माओवादीले सहमतिविपरित एकपक्षीय निर्णय गरेपछि कांग्रेसले माओवादीसँग गठबन्धन नगर्ने चेतावनी दिइरहेको छ ।

यसैबीच रामेछाप नगर कार्य समितिको बैठकले रामेछाप नगरपालिकामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । यदि माथिल्लो निकायबाट गठबन्धन गर्न दबाब दिइए सामुहिक राजिनामा दिने निर्णय समेत नगर कार्य समितिले गरेको छ । जिल्लामा कांग्रेस एक्लैले ६ वटा स्थानीय तह जित्ने दावी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर