ओखलढुंगामा साझा उम्मेदवार छान्न गठबन्धनलाई सकस, तीन चरणमा पनि जुटेन सहमति – Nepal Press

ओखलढुंगामा साझा उम्मेदवार छान्न गठबन्धनलाई सकस, तीन चरणमा पनि जुटेन सहमति

काठमाडौं । ओखलढुंगामा स्थानीय तह निर्वाचनका लागि साझा उम्मेदवार तय गर्न सत्तागठबन्धनले गरेको तेस्रो प्रयास पनि असफल भएको छ । प्रायः स्थानीय तहमा ठूला तीन दलले प्रमुखमा दाबी गरेपछि साझा उम्मेदवार छान्न गठबन्धनलाई सकस परेको हो । गठबन्धनभित्र बढ्दो सकसले ओखलढुंगामा चुनावी तालमेल नै अन्योलमा परेको बताइएको छ ।

माओवादी केन्द्रको आधार क्षेत्रका रुपमा रहेको जिल्लाको लिखु गाउँपालिकासहित चम्पादेवी र २०७४ को निर्वाचनमा पार्टीको साख जोगाउन सफल भएको भन्दै चिशंखुगढी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले दाबी गरिरहेको छ ।

यता खिजीदेम्बा र मानेभञ्ज्याङ गाउँपालिकामा आफ्नो जनमत बलियो भएका कारण नेतृत्व आफूले पाउनुपर्ने जनता समाजवादीको बुझाइ छ । जसपाले खिजीदेम्बामा गाउँपालिकामा गम्बु शेर्पाको नेतृत्वमा उमेदवारी घोषणा गरिसकेको छ ।

२०७४ सलको स्थानीय चुनावको परिणामअनुसार जिल्लामा नेपाली कांग्रेसका मतदाता सबैभन्दा धेरै छन् । सबैका आ–आफ्नो माग रहे पनि केही पालिकामा सहमति गर्न सकिने सम्भावना रहेको र सबैमा मान्य नहुने ओखलढुंगा कांग्रेसका सभापति तेजेन्द्र खनालले बताए ।

तर तीनवटा गाउँपालिकामा आफूहरुले नेतृत्व छाड्न नसकिने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निशान्त शर्माको भनाइ छ । गठबन्धनका विषयमा छलफल जारी रहेको र सबैले सम्मानजनक रुपमा नेतृत्व पाउने र सहमति हुने उनको भनाइ छ ।

एकीकृत समाजवादीले भने जिल्ला सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकामा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरिरहेको छ । गठबन्धनमा कुरा मिलेमा लिखु गाउँपालिकामा पुराना नेता नेत्र भट्टराईलाई अध्यक्षका रुपमा प्रस्ताव गर्ने पनि विकल्प रहेको नेकपा एसले जनाएको छ ।

तीन–चार पटक गठबन्धनको बैठक बस्दा केन्द्रको परिपत्रअनुसार जाने भन्ने सहमति भएको र अबको बैठकबाट निष्कर्ष निकालिने कांग्रेस सभापति खनालले बताए ।

यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले माओवादीलाई चिसंखुगढीको अध्यक्ष छाड्न सकिने तर बाँकी बाँकी ७ वटा स्थानीयतहको नेतृत्व कांग्रेसले नछाड्ने बताएका छन् । कांग्रेसका नेताहरुसँग निरन्तर छलफलमा रहेका खतिवडा अहिले पार्टीभित्रका उम्मेदवार मिलाउने र पार्टीमा एकता कायम गर्ने काममा केन्द्रित छन् ।

उनले नेकपा एसलाई कुनै एक पालिकामा उपाध्यक्ष र केही वडा सदस्यहरु दिएर मिलाउन सकिने तर प्रमुख पद दिन नसकिने सन्देश पठाइसकेका छन् ।

नेकपा एसले लिखु माग गरे पनि माओवादीले लिखुमा केन्द्रीय सदस्य बाबुराम गौतम गठबन्धन हँुदा अिघ सार्न खोजेको छ । तर कांग्रेसले भने लिखु कुनै पनि हालतमा नछाड्ने र हाल भूमि आयोगका अध्यक्ष रहेका अशोक कार्कीलाई राजिनामा गराएर पालिका अध्यक्ष उठाउने तयारी गरेको छ । कार्की अघिल्लो चुनावमा एमालेका गोविन्द पौडेलसँग झिनो मतले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर