निर्वाचनमा बालबालिका प्रयोग गर्नु हुँदैनः मन्त्री रेग्मी – Nepal Press

निर्वाचनमा बालबालिका प्रयोग गर्नु हुँदैनः मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले राजनीतिक पार्टीले निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नहुने बताएकी छन् । बिहीबार संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बालबालिकालाई सानैदेखि राजनीतिक कुरा सिकाउन आवश्यक नभएको बताएकी हुन् ।

बालबालिकालाई विद्यालयस्तरबाटै मनोवैज्ञानिक कुरा सिकाउन आवश्यक रहेको भन्दै मन्त्री रेग्मीले बालबालिका गलत बाटोमा जाँदा देश नै गलत बाटोमा जाने बताइन् । उनले भनिन्, ‘राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत र गैरकानूनी कार्य हो । यसमा राजनीतिक पार्टी र उम्मेदवारले ध्यान दिनुपर्छ । सानैबाट बालबालिकालाई राजनीतिमा लगाउन आवश्यक छैन ।’

बालबालिकालाई जन्मेदेखि सात बर्षसम्म विशेष स्याहार आवश्यक रहेको बताउँदै बालगृहमा राख्दा मानसिक र शारीरीक रुपमा ठूलो असर पर्ने बताइन् ।

कार्यक्रमा मन्त्री रेग्मीले आमा बुबा र अभिभावक नभएका बालबालिकाको लागि बालगृहको स्थापना भएको भएपनि त्यो लागु हुन नसकेको बताइन् । उनले खोज तलास, बालगृह र सुधार गृहको स्पष्ट परिभाषासँगै नीति बनाएर लागु पर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री रेग्मीले आफूले जिम्मेवारी समालेपछि नियमावली परिमार्जन गर्न पहल गरेको बताउँदै अब मन्त्रिपरिषदबाट पारित हुने जानकारी समेत दिइन् । कर्मचारीतन्त्र असहयोग र बजेट अभावका कारण आफूले सोँचेअनुसार ऐन, नियमको काम अगाडि नबढेको मन्त्री रेग्मीले बताइन् । उनले आफ्नो मन्त्रालयले समन्वय गर्दै नीतिगत सुधार गर्दै अगाडि बढेको जानकारी समेत दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर