चन्द्रागिरीका वडाध्यक्ष राउतको मेयरमा दाबी, भन्छन्- म नगरपालिकालाई पनि वडा जस्तै देशकै नमूना बनाउँछु (भिडिओसहित) – Nepal Press

चन्द्रागिरीका वडाध्यक्ष राउतको मेयरमा दाबी, भन्छन्- म नगरपालिकालाई पनि वडा जस्तै देशकै नमूना बनाउँछु (भिडिओसहित)

काठमाडौं । संघीयता कार्यान्वयनपछि भएको पहिलो स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको समयावधि सकिँदैछ । र, दोस्रो कार्यकालका लागि वैशाखमा चुनावको मिति तोकिएको छ । कतिपय जनप्रतिधिले दोहोर्याउन चाहिरहेका छन् भने कतिले पदोन्नतिका लागि प्रयास गरिरहेका छन् ।

पहिलो कार्यकाल अधिकांश जनप्रतिनिधिका लागि आलोचित बन्यो । पहिलो अभ्यास भएकाले धेरैलाई सिक्न नै समय लाग्यो । कानूनसँगै कार्यालयलगायत भौतिक संरचना र सिस्टमको अभावका कारण कतिपयले चाहेर पनि उल्लेख्य काम गर्न सकेनन् । तर काठमाडौंको चन्द्रागिरी नगरपालिका– १५ का वडा अध्यक्ष उत्तमबहादुर राउतले भने अनेक अफ्ठेराबीच पनि निकै उल्लेख्य र उदाहरणीय काम गरे ।

नेकपा एमालेबाट वडा अध्यक्ष जितेका राउतको कामबाट प्रभावित भएर अध्यक्ष केपी शर्मा ओलीले समेत उनलाई टेलिफोन गरेर आभार प्रकट गरेको सन्दर्भ एकताका निकै चर्चामा थियो । अहोरात्र नागरिक सेवा खटिएका वडाध्यक्ष राउत आफ्नो क्षेत्रमा निकै लोकप्रिय छन् ।

आफ्नो वडामा निकै उदाहरणीय काम गरेका राउत आगामी स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट चन्द्रागिरीको मेयरमा चुनाव लड्ने तयारी गरिरहेका छन् । उनी आफूले टिकट पाउने र जित्नेमा पनि ढुक्क छन् ।

वडामा गरेको विकास मोडलकै आधारमा नगरपालिकालाई नै सुन्दर र समृद्ध बनाउने उनको योजना छ । पहिलो पाँचवर्षे कार्यकालमा सिकेका कुरालाई व्यवहारतः थप प्रयोग गर्न पनि आफू नगरपालिकाको मेयर हुनपर्ने उनको बुझाइ छ ।

देशका अरु स्थानीय तहलाई पनि शिक्षा हुने गरी काम गर्ने योजना बनाइरहेका राउत भन्छन्– म वडासँगै सिंगो नगरपालिकालाई देशकै नमून बनाउन सक्छु । त्यसका लागि मलाई मौका चाहिएको छ । र मलाई विश्वास छ, पार्टीले मलाई टिकट दिन्छ । अनि शानदार ढंगमा चुनाव जितेर जनताको सेवामा काम गर्छु ।

राउतले सहरी योजना र पुरातत्व विषयमा स्नातकोत्तर र वास्तुकलामा स्नातक गरेका छन् । उनी साँस्कृतिक, प्राकृतिक सम्पदा संरक्षरण गर्दै सहरी विकास योजनाका विज्ञ मानिन्छन् ।

यसरी चन्द्रागिरीको मेयरमा दाबी गरिरहेका राउतले वडा अध्यक्ष भएर पाँच वर्षमा के–के गरे ? उनकै शब्दमा–

चन्द्रागिरी नगरपालिका– १५ नम्बर वडा अत्यन्त तीव्र सहरीकरणको सूचीमा थियो, छ । हामी निर्वाचित हुनासाथ थप विकासको प्रष्ट रणनीति बनाएर योजनाबद्ध ढंगमा अघि बढ्यौं ।

सडक निर्माणलाई मुख्य प्राथमिकता दिएर हामीले काम तीव्र पार्यौं । जनताँग खाएको कसम पूरा गर्नु नै मेरो मुख्य जिम्मेवारी थियो । जसका लागि व्यापक काम गरेको अनुभव मसँग छ ।

उदाहरणका लागि घर बाहिर निस्किँदा लगाएको सफा जुत्ता घर फर्किदा पनि सफा रहोस् भन्ने उद्देश्यका साथ सक्दो छिटो हरेक सडक पिच र ढालान गर्नेतर्फ लाग्यौं । हामी आउँदा केन्द्रीय राजमार्गअन्तरगतको कलंकी–नागढुंगा सडक अलपत्र अवस्थामा थियो । हामीले त्यसलाई विस्तार गर्यौं, सफार चिटिक्कको बनायौं । यो हामीले गरेको महत्वपूर्णमध्येको एउटा काम हो ।

हामीले हाम्रो वडामै मन्त्रीलाई समेत बोलाएर सडक विकास गर्ने भन्नेबारे छलफल गर्यौं । र, छलफलबाट आएको निष्कर्षअनुसार काम गर्यों । परिणामः सडक सुन्दर र सफा भयो ।

हाम्रो वडामा दुई किलोमिटर बल्खु करिडोर निर्माण भइसकेको छ । तीनछाना मच्छे गाउँ सडकको निरन्तर गुणस्तर सुधार भइरहेको छ । यहीं वडामा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको समयमा निर्माण भएको गडी डाँडा वरिपरी अप्पर रिङरोड र तल्लोपट्टि लोवर रिङरोड निर्माण गरेका छौं ।

त्यस्तै खानेपानीको क्षेत्रमा पनि हामीले व्यापक सुधारको काम गरेका छौं । अहिले प्रत्येक घरमा धारा पुगेको छ । अहिलेसम्म हामीले १६ सय धारा स्थानीयलाई वितरण गरिसकेका छौं ।

हेनुहोस् भिडिओ

हामीले सामुदायिक किरियापुत्री भवन पनि निर्माण गरेका छौं । वातावरणीय क्षेत्रको कुरा गर्दा कीर्तिपुर र हाम्रो सीमानामा भएको भिराडिलमा एउटा पार्क निर्माण गर्दैछौं । अहिले उक्त पार्कमा हरेक शनिबार ३–४ हजार मानिस घुम्न आउने गरेका छन् ।

त्यस्तै सफा टोल कार्यक्रमअन्तरगत वृक्षरोपणलगायत थुप्रै कार्यक्रम गरेकाछौं ।

स्वास्थ क्षेत्रमा जेष्ठ नागरिक घरदैलो कार्यक्रम गर्यौं । घर–घर पुगेर रक्तचाम नाप्ने मेसिन र औषधि वितरण गर्यौं ।

शिक्षाको क्षेत्रमा विष्णुदेवी माध्यमिक विद्यालयलाई अत्याधुनिक बनाउँदैछौं । पुनर्निर्माण प्राधिकरणमा पत्राचार गरेर ९ करोडको लागतमा अत्याधुनिक भवन बन्दैछ ।

खेलकुदको क्षेत्रमा हामीले युवालाई विभिन्न खेल खेल्नका लागि अनुदान दिएका छौं । विभिन्न क्षेत्रमा महिला पुरुषका लागि छुट्टाछुट्टै इनडोर जिम स्थापना गरेका छौं । तीन ठाउँमा आउटडोर जिम स्थापना गरेका छौं ।

महिलालाई विभिन्न उद्यमशील तालिम संचालन गर्दै आएका छौं ।

कृषि क्षेत्रमा कौसी तरकारी खेतीलाई अगाडि बढाएका छौं । अहिले हरेक वडाका तीन सय घरमा कौसीखेती भइरहेको छ । यहाँका स्थानीयले तरकारी किनेर खान परेको छैन, उहाँहरुले तरकारी बेचेर आम्दानीसमेत गरिरहनु भएको छ ।

कोरोना कहरका बेला हामीले रोजगारमूलक कार्यक्रम सञ्चालन गर्यौं, जसबाट धेरै स्थानीय लाभान्वित भए ।

हामी आउनुअगाडि २२ लाख राजस्व उठ्ने यो वडामा अहिले २ करोड ३० लाख उठ्ने अवस्था बनाएका छौं । यो १० गुणा वृद्धि भनेको एउटा उल्लेखनीय हो । हाम्रो वडा राजस्व र बजेट परिचालनमा देशकै नम्बर एक भएको छ ।

जग्गाको अव्यवस्थित प्लटिङलाई व्यवस्थित गरेका छौं । सार्वजनिक जग्गा हडप्नेलाई परास्त गर्दै सरकारी स्वामित्वमा ल्याएका छौं । जुन काम गर्दा हामीले मुद्दाको समेत सामना गर्नुपर्यो ।

समग्रमा हामीले यहाँको विकास र नागरिकको खुसीका लागि व्यापक काम गरेका छौं, जुन दृश्यमा देखिन्छ । र नागरिकले अनुभूत गरेका छन् ।

अहिले जसरी वडामा एउटा सत्प्रयास गरियो, त्यसैगरी नगरपालिकालाई पनि समृद्ध बनाउने योजना मसँग छ । त्यसैले मलाई पार्टीले मेयरको टिकट दिन्छ र चुनाव जित्छु भन्ने विश्वास छ ।


प्रतिक्रिया

2 thoughts on “चन्द्रागिरीका वडाध्यक्ष राउतको मेयरमा दाबी, भन्छन्- म नगरपालिकालाई पनि वडा जस्तै देशकै नमूना बनाउँछु (भिडिओसहित)

  1. शुभकामना साथै हामी युवा पुस्ताको पुर्ण समर्थन छ ।

  2. खानेपानी बितरण र बिस्तारको क्षेत्रमा वडाले खेलेको भुमिका सकारात्मक रहेको साचो हो तर यो आयोजनाको श्रेय १५ वडामा रहेको सम्पुर्ण कृयासिल राजनिती पाटीको स्थानीय नेतृत्वको साझा प्रयासबाट प्राप्त प्रतिफल हो यस्को श्रेय वडा अध्यक्ष ज्युले लिन खोज्नु दु:खद पक्ष हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर