गठबन्धनले उम्मेदवारको साझा मापदण्ड बनाउने, चैत २६ भित्र प्रतिवेदन बुझाउन निर्देशन – Nepal Press

गठबन्धनले उम्मेदवारको साझा मापदण्ड बनाउने, चैत २६ भित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ ।

गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा उम्मेदवार चयनका लागि न्यूनतम मापदण्ड बनाउने निर्णय गरेको हो । मापदण्ड कस्तो हुने भन्नेमा छलफल सुरु भए पनि टुंगो लागिसकेको छैन ।

समितिको बैठकले स्थानीय तहहरूमा गठबन्धनको अवस्था, चुनावी तालमेलको आधार र अन्य विविध विषयमा साझा प्रतिवेदन तत्काल बुझाउन प्रदेश समन्वय समितिलाई निर्देशन दिएको छ ।

समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार प्रदेश स्तरको गठबन्धन समन्वय समितिले चैत २२ भित्र बुझाउनुपर्ने प्रतिवेदन बुझाउन चैत २६ सम्मको थप समय उपलब्ध गराइएको छ ।

‘चैत २२ गतेभित्र साझा प्रतिवेदन बुझाउन भनेका थियौँ । के कति कारणले त्यसमा ढिलाइ भएको छ । अब चैत २६ भित्र प्रदेशभित्रका स्थानीय तहमा गठबन्धनको अवस्थाबारे यथार्थ रिपोर्ट पठाउन निर्देशन दिने निर्णय भएको छ ’, पौडेलले नेपाल प्रेससँग भने ।

प्रदेशगत प्रतिवेदन आएपछि मात्रै महानगरपालिकाको नेतृत्व लगायतका विषयमा छलफल हुने पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर