चितवनबाट प्रचण्डले भने- अब भिड्नोस्, इँटको जवाफ पत्थरले दिने बेला भयो (भिडिओ) – Nepal Press

चितवनबाट प्रचण्डले भने- अब भिड्नोस्, इँटको जवाफ पत्थरले दिने बेला भयो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नुको विकल्प नभएको बताएका छन् ।

चितवनमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘इँटको जवाफ पत्थर’ ले दिन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

माओवादी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरिरहेको भन्दै प्रचण्डले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने दावी गरे ।

‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नैपर्छ । देशपनि लडेरै बचाउने हो, संविधानपनि लडेरै बचाउने हो । लड्ने भनेको हतियार उठाउने होइन कसैले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिने भनेको हो’, प्रचण्डले भने ।

चितवनमा माओवादीले गरेको विकास देखेर प्रतिक्रियावादीहरु अत्तालिएको प्रचण्डको आरोप छ । ‘चितवनको विकासका लागि भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यदेखि नदी तटबन्ध लगायत तमाा काम माओवादीको नेतृत्वमा भएको छ ।

माओवादीले जतिधेरै जनताको पक्षमा काम गरेको छ त्यति नै धेरै प्रतिक्रियावादीहरु माओवादीविरुद्ध षड्यन्त्रमा लागेका छन्’, उनले भने ।

प्रचण्डले जनआन्दोलनदेखि जनयुद्धसम्म चितवनको राजनीतिक योगदान अग्रणी रहेको भन्दै अब राष्ट्रका पक्षमा चितवन जुर्मुराउनुपर्ने बताए ।

‘चितवनले जनआन्दोलनदेखि जनयुद्धमा अग्रणी भूमिका खेलेको छ । चितवन जिल्ला राष्ट्रका पक्षमा जुर्मराएर उठ्नुपर्ने छ । अब भिड्नोस्, जनताको अधिकार खोस्न चाहनेविरुद्ध इँटको जवाफ पत्थरले दिनुस्’ प्रचण्डले भने ।


प्रतिक्रिया

2 thoughts on “चितवनबाट प्रचण्डले भने- अब भिड्नोस्, इँटको जवाफ पत्थरले दिने बेला भयो (भिडिओ)

  1. प्रचण्डले धम्क्याउने नसके रूने त्यो पनि नसके पाउ पर्ने न हो ।एकजना नेपाली र प्रचण्डको शक्ति बराबर हो ।

  2. तिमीलाई जनताले जवाफ दिदैछन् चुनावमा पाहा पछारेजस्ताे गरि पछारेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर