निर्वाचन आचारसंहितामा त्रुटि : उम्मेदवार, दल र भ्रातृ संस्थाले नै प्रचार गर्न नपाउने – Nepal Press

निर्वाचन आचारसंहितामा त्रुटि : उम्मेदवार, दल र भ्रातृ संस्थाले नै प्रचार गर्न नपाउने

प्रमुख आयुक्त भन्छन्- दलका लागि अलग्गै ६० बुँदे छँदैछ

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवार, दल र दलका भ्रातृ संस्थाले नै निर्वाचनमा प्रचार प्रसार गर्न नपाउने गरी व्यवस्था गरेको पाइएको छ । आचारसंहितामा भएको व्यवस्थालाई केलाएर हेर्दा गम्भीर त्रुटिहरू फेला परेका हुन् ।

आयोगद्वारा जारी गरिएको ‘निर्वाचन आचारसंहिता २०७८’ को दफा ४ मा ‘सबैले पालन गर्नुपर्ने आचरण’ मा ‘दफा ३ बमोजिमका व्यक्ति, संस्था, निकाय तथा अधिकारीले देहाय बमोजिमका आचरण पालना गर्नुपर्नेछ’ भनेर उल्लेख गरिएको छ ।

जसको खण्ड (थ) मा निर्वाचनमा प्रभाव पर्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामाग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामाग्री शेयर गर्न नहुने’ भनेर उल्लेख गरिएको छ ।

यसै खण्डमा ‘तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामाग्री प्रकाशन वा पोष्ट गर्न यस खण्डले बाधा पुर्‍याएको मानिने छैन ।’ भनेर उल्लेख गरेको छ । दफा ४ मा ‘दफा ३ मा उल्लेखित’ भनेर परिभाषित गरिएका व्यक्ति, संस्थाहरूमा उम्मेदवार, राजनीतिक दल, दलका भ्रातृसंस्थाहरू समेत छन ।

दफा ३ मा आचारसंहिता लागू हुने व्यक्ति, संस्था, निकाय तथा अधिकारीहरू अन्तर्गत खण्ड (झ) मा राजनीतिक दल तथा दलको भ्रातृसंगठन, खण्ड (ञ) मा उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि र खण्ड (ट) मा राजनीतिक दल तथा उम्मेदवारको मतगणना प्रतिनिधिसम्मलाई तोकेको छ । यसरी यस्तो व्यवस्थाहरूको आशय अनुसार उम्मेदवार, दल र दलका भातृसंस्था तथा प्रतिनिधिहरूले नै प्रचार-प्रसार गर्दा आचारसंहिताको उल्लंघन हुने देखिन्छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिने थपलिया भने आचारसंहिताका कारण दलहरुलाई निर्वाचन प्रचार प्रसारमा कुनै असर नपर्ने दाबी गर्छन् । दल र उम्मेदवारले गर्न हुने र नहुने विषयमा ६० बुँदे अलग आचारसंहिता जारी भएकोले सबैका लागि लागू गरिएको सहिंताले बाधा नपर्ने उनले बताए ।

‘दलहरूले आफ्नो प्रचारप्रसार गर्न कुनै बाधा छैन । दल, उम्मेदवार र भ्रातृ संस्थाले आयोगले जारी गरेको ६० बुँदे अनुसार गर्नुपर्छ । दफा ४ मा पर्न गएको विषयले राजनीतिक प्रचारप्रसारलाई अवरोध गर्दैन भन्ने बुझ्नुपर्छ’, थपलियाले नेपाल प्रेससँग भने ।

आयोगले मंगलबारमात्रै राजनीतिक दल र उम्मेदवारका लागि ६० बुँदे आचारसंहिता जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर