कैलाली कांग्रेस: सिङ्गल चुनाव भिड्न नेतृत्वलाई कार्यकर्ताको दबाब, अधिकांश नेता गठबन्धनको विपक्षमा – Nepal Press

कैलाली कांग्रेस: सिङ्गल चुनाव भिड्न नेतृत्वलाई कार्यकर्ताको दबाब, अधिकांश नेता गठबन्धनको विपक्षमा

कैलाली । कैलालीमा स्थानीय तहको निर्वाचनका कांग्रेस एक्लै उभिन जिल्ला नेतृत्वलाई कार्यकर्ताहरुले दबाब दिएका छन् । मंगलबार सम्पन्न जिल्ला समितिको बैठकमा अधिकांश नेता कार्यकर्ताहरुले चुनावमा गठबन्धन गरेर जान नहुने सुझाव दिएका हुन् ।

कैलाली कांग्रेसले गत १३ गतेदेखि २० गतेसम्म घरदैलो अभियानअन्तर्गत खटाएका प्रतिनिधिहरूले वडामा छलफल गरी मंगलबार पार्टीलाई प्रतिवेदन बुझाएका थिए । कांग्रेसले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूसँग लिखित तथा मौखिक सुझाव मागेको थियो । यस क्रममा सुझाव राख्ने अधिकांशले गठबन्धन काँग्रेसको हितमा नरहेको बताएका थिए ।

मंगलबार ८३ जनाले आफ्नो सुझाव दिएका थिए । उनीहरूमध्ये अधिकांशले स्थानीय पालिकाका नेता कार्यकर्ताहरू पनि गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

महाधिवेशन प्रतिनिधि बलबहादुर विष्टले गठबन्धन भन्दा पनि आफ्नो आन्तरिक गठबन्धन मिलाउन आवश्यक रहेको बताएका थिए । ‘गठबन्धन गरेर निर्वाचनमा जाँदा दूरगामी प्रभाव पर्छ’ उनले भनेका थिए, ‘हामीले एक्लै जित्छौं । गठबन्धन नगरौं ।’

किसान संघ कैलालीका अध्यक्ष टीकादत्त जेशीले पनि एक्लै जित्न सकिने अवस्थामा गठबन्धन नगर्न सुझाव दिएका थिए । घोडाघोडी नगरपालिकामा खटिएका प्रतिनिधि अमर खत्रीले पनि गठबन्धन अहिलेको अवस्थामा उपयुक्त नरहने बताएका थिए ।

अधिकांशले गठबन्धन नगर्न सुझाव दिए पनि जिल्ला कार्यसमितिले भने कैलालीमा गठबन्धन हुने जनाएको छ ।

‘अधिकांश प्रतिनिधिहरुले गठबन्धन गर्न नहुने सुझाव दिनु भएको थियो । तर, केन्द्रले गठबन्धनको नीति लिएको छ, त्यसैले कैलालीमा गठबन्धन हुन्छ ।’ कांग्रेस कैलालीका सचिव नृप सुनारले भने , ‘हामी गठबन्धनको मोडल तयार गर्नेछौं। ’

मंगलबारको बैठकले जिल्लाका पदाधिकारीहरू रहने गरी जिल्ला कार्यसम्पादन समिति समेत तयार गरेको छ । अनुशासन समिति बनाउने जिम्मा जिल्ला सभापति नारायणदत्त भट्टलाई दिएको छ । कांग्रेसले निर्वाचन परिचालन समिति समेत बनाउने भएको छ । वडासम्मको पदाधिकारीलाई सदस्य राख्ने गरी समिति बनाउने निर्णय भएको सचिव सुनारले जनाकारी दिए । कैलालीमा कांग्रेसका वडासम्म १३३२ जना पदाधिकारी छन् ।

संसदीय समिति अर्थात् टिकट दिने समितिसमेत बताएको उनले बताए । उक्त समितिमा जिल्ला सभापति संयोजक जिल्लाका सबै पदाधिकारी सदस्य छन् । सदस्यमा प्रकाश बम र योगेन्द्र विष्ट थपिएका छन् ।

यसैबीचआज पाँच दलीय गठबन्धनका घटकहरूबीच चुनावी तालमेलबारे छलफल गर्न बैठक बोलाइएको छ । उक्त बैठकमा पनि तालमेलको मोडालिटिबारे छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर