उपप्रमुखहरुको आत्मविश्वास: पाँच वर्ष सिक्यौं, अब पालिका प्रमुख भएर काम गर्न सक्छौं – Nepal Press

उपप्रमुखहरुको आत्मविश्वास: पाँच वर्ष सिक्यौं, अब पालिका प्रमुख भएर काम गर्न सक्छौं

काठमाडौं । महिला जनप्रतिनिधिले स्थानीय तहको प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरु सक्षम रहेको बताएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनदेखि उपप्रमुख, उपाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरु सक्षम रहेको बताएका हुन् ।

पाँच वर्षको अनुभवले धेरै कुरा सिकाएकाले अबको निर्वाचनमा आफूले प्रमुख पदको दाबी गरेको बताउँछिन्, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका उपाध्यक्ष सविता राई । ‘यो बीचमा अनुभव बटुल्यौँ, प्रमुख भएर स्थानीय तह चलाउने दृढ इच्छाशक्ति र संकल्प छ । हामी केही कुरामा पनि कम छैनाै,’ उनले भनिन् ।

ओखलढुंगाकै सिद्धिचरण नगरपालिका उपप्रमुख इच्छाकुमारी गुरुङले अबको निर्वाचनमा आफ्नो दाबेदारी नगरप्रमुख पदका लागि हुने बताइन् । ‘नगरप्रमुखको आकांक्षी धेरै हुने गरेकाले महिलाहरु पनि अब नेतृत्वमा आउनुपर्छ’, उपप्रमुख गुरुङको भनाइ छ, ‘सँगसँगै राजनीति गरेकाहरु प्रदेश सांसद भइसके, निर्वाचनमा अब मेरो दाबेदारी नगरप्रमुखमा रहन्छ ।’ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको उपप्रमुख भएर काम गरिरहँदा सोचेअनुरुपको केही कामहरु भने गर्न नसकिएको उनले बताइन् ।
त्यस्तै झापाको अर्जुनधारा नगारपालिकाकी उपप्रमुख कमला आचार्य खतिवडाले

अबको निर्वाचनमा आफ्नो दाबेदारी प्रमुख पदका लागि रहेकोे बताइन् । टिकट दिने विषय पार्टीको भएकाले महिलालाई अगाडि बढाउन पार्टीले पनि सोच्नुपर्ने उनको भनाइ छ ।

पहिला पार्टीबाट अनुमोदन भएर टिकट पाएको खण्डमा जनताबाट पनि अनुमोदन हुन सक्छु भन्ने आत्मविश्वास रहेको उपप्रमुख खतिवडाले बताइ । भनिन्, ‘नगरप्रमुख भएर जनताको सेवा गर्ने संकल्प गरेको छु ।’

उनले पाँच वर्षको अवधिमा आफूहरुले जनताको सुविधाका लागि धेरै कामहरु गरेको बताइन् । ‘निर्वाचित भएर आउँदा नगरपालिकाको वडाहरुमा कार्यालयसमेत कार्यालय थिएन, अहिले धेरै काम भएको छ । धेरै सिक्ने मौका पाएको छु ।’

इलामको सूर्याेदय नगपालिका उपप्रमुख दुर्गादेवी भट्टराईले कोरोना महामारीका कारण सोचे जति काम गर्न नसकिएको बताइन् । ‘धेरै कुरा गर्छौं भन्ने जोसका साथ आएका थियौँ, पहिलो वर्ष सिक्नमै समय गयो, दोस्रो वर्ष पहिलो वर्षको कार्यक्रम लागू गर्न अगाडि बढ्यौँ, तेस्रो वर्षदेखि कोरोना आयो’, उनले भनिन्, ‘यति हुँदाहुँदै पनि भौतिक पूर्वाधार, हरेक वडासम्म पुग्ने सडक निर्माण, वडा कार्यालय भवन, स्वास्थ्य केन्द्रका भवन बनाएका छाै ।’ उपप्रमुख भएर काम गरेको अनुभवका आधारमा अब नगरपालिका प्रमुख भएर काम गर्ने इच्छाशक्ति उत्पन्न भएको भट्टराईको भनाइ छ ।

यस्तै खोटाङको खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राईले उपाध्यक्षमा काम गरेको अनुभवका आधारमा अब गाउँपालिका अध्यक्षमा आफ्नो जिकिर रहेको बताइन् । ‘उपाध्यक्ष भएर सिकेको अनुभवका आधारमा अध्यक्ष चलाउन सक्छु’ उनले भनिन् । ‘महिलाहरु पनि पुरुषसरह हरेक काममा सक्षम छन्, अब नेतृत्वमा महिला पुग्नुपर्छ, त्यसका लागि सबै महिलाले आवाज उठाउनुपर्छ’ उनले भनिन् ।

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा पाँचवर्षे कार्यकालले आफूलाई धेरै सिकाइ भएका कारण पनि अबको नेतृत्व महिलाले गर्नुपर्ने बताउँँछिन् । ‘पाँच वर्षे कार्यकालमा जनताका समस्या समाधान गर्न लागि परियो जनतासँग प्रत्यक्ष भेटघाट गर्ने अवसर भयो । अबको समय आफू प्रमुख पदमा बसेर काम गर्न सक्षम छु’ उनले भनिन् ।

पितृ सत्तात्मक सोचका कारण महिलाहरुले नेतृत्व गर्न सक्दैनन् भनेर उपप्रमुख या उपाध्यक्षमा महिलालाई सीमित बनाइएकोमा आफूहरुले यो पाँच वर्षे कार्यकालमा निर्णायक या कार्यकारी पदमा पनि काम गर्न सक्छौं भन्ने हिम्मत जागेको उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर