मछिन्द्र एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरियो – Nepal Press

मछिन्द्र एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरियो

काठमाडौं । श्रीलंकाको शिर्ष डिभिजन क्लब ब्लु स्टार एफसीसँग २-१ गोलको नतिजामा पराजित हुँदै लिग च्याम्पियन मछिन्द्र फुछबल क्लब एएफसी एसिया कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालमा सम्पन्न खेलमा ब्लुस्टारलाई जित दिलाउन मोहमद इसान र सेनाल सन्देशले गोल गरे । मछिन्द्रका लागि सुजल श्रेष्ठले सान्त्वना गोल गरे । पहिलो हाफमै बनाएको अग्रतालाई बचाउँदै ब्लुस्टारले उत्कृष्ट जित निकाल्यो । विजेता ब्लु स्टारले एएफसी छनोटको दोस्रो चरणमा भारतिय टोली एटिके मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्रले खेल अवधिभर गोल गर्नेथुपै अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

खेलको नवौं मिनेटमा मछिन्द्रले अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । विमल घर्ती मगरले मैदानको मध्यभाग बाट दिएको पासलाई नुर्लान नोबु्रजोभले पेनाल्टी बक्सको ठिक बाँया तर्फबाट गरेको प्रहार फ्रेममा परेन ।

ब्लुस्टारले खेलको १५औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्ननसक्दा अग्रता बनाउन बाट चुक्यो । मछिन्द्रका ओमोलाजा कारिमले ब्लुस्टारका सोनल सन्देशलाई बक्समा फाउल गरेपछि ब्लु स्टारले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई जेरी अम्बेबेले गोलमा परिणत गर्न सकेनन् । जेरीले प्रहार गरेको पेनाल्टी मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पोष्टको बाँया तर्फ डाइभ गर्दै उत्कृष्ट बचाउ गरे ।

खेलको २४औं मिनेटमा मोहमद इसानले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाएका थिए । उनले फिजलको क्विक फ्रिकिकलाई फ्लिक गर्दै सहज गोल गरेका थिए ।

त्यसको चार मिनेट नबित्दै सेनाल सन्देशले ब्लुस्टारको अग्रता दोब्बर पारे । उनले मछिन्द्रका डिफेन्डर रन्जित धिमाल र ओमोलाजा कारिमलाई विट गर्दै पेनाल्टी एरियाको दाँया तर्फबाट सुन्दर फिनिस गरेका थिए ।

पहिलो हाफमा फितलो प्रदर्शन गरेको मछिन्द्रले दोस्रो हाफमा ब्लुस्टारलाई दवावमा राखेको थियो । गोल गर्ने थुप्रै अवसर पाएपनि मछिन्द्रले तयसलाई स्कोरमा कन्भर्ट गर्न भने असफल रहयो ।

खेलको ६०औं मिनेटमा मछिन्द्रका मिडफिल्डर सुनिल बलले कर्नर मार्फत गरेको प्रहारमा एन्ड्रेसको हेडर क्रसबारमा लागेर बाहिरियो ।

मछिन्द्रका फरवार्ड बिमलले ६४औं मिनेटमा पेनालटी बक्सको दाँयातर्फबाट गरेको लामो प्रहार ब्लु स्टारका गोलकिपरले बचाए ।

मछिन्द्रका लागि ६८औं मिनेटमा पुनः क्रसबार बाधक बन्दा गोल फर्काउने सुन्दर मौका खेर गएको थियो । अभिषेक रिजालको क्रसमा बिमलको हेडर क्रसबारमा लागेर फर्कियो उक्त रिवाउन्ड बलमा छिरिङले गरेको प्रहार ब्लूस्टारका कप्तान इरान्गाले गोललाइन नजिकै बाट क्लियर गरिदिए ।

मछिन्द्रले खेलको ७७औं मिनेटमा गोल गर्ने राम्रो अवसर सदुपयोग गर्न सकेन । डिफेन्डर रन्जित धिमालले बक्सको बाँयातर्फबाट दिएको क्रस मछिन्द्रका कप्तान सुजल श्रेष्ठले गोललाइन नजिकै हेड गरेका थिए । तर उनले हेडरमार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिर गयो ।

खेलको इन्जुरी समयमा सुजल श्रेष्ठले गोल गरेपनि मछिन्द्रको जितका लागि पर्याप्त बन्न सकेन । यसअघि फाल्गुनमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणमा तालिकाको शिर्ष स्थानमा रहँदै मछिन्द्रले एएफसी कप छनोटमा स्थान बनाएको थियो ।

लगातार दुई पटक च्याम्पियन बनेको मछिन्द्रले अघिल्लो सिजन एएफसी कल्ब लाइसेन्स नपाएका कारण एएफसी छनोट खेल्न पाएको थिएन । गत सिजन एएफसी कप खेलेको त्रिभुवन आर्मी क्लब दोस्रो चरणसम्म पुगेर बाहिरिएको थियो ।

यस्तै, ब्लुस्टार क्लबले श्रीलंका सुपर लिगमा नौं खेल खेल्दै सात खेलमा जित, एक बाराबरी र एक हारको नतिजा निकाल्दै २२ अंक जोडेर एएफसी कप २०२२ को प्रारम्भिक चरणमा स्थान पक्का गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर