कांग्रेसको विधानविपरीत तरुण दलको परिपत्र – Nepal Press

कांग्रेसको विधानविपरीत तरुण दलको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसको विधानविपरीत नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले परिपत्र जारी गरेका छन् ।

नेपाली कांग्रेसको विधानले भ्रातृ तथा शुभेच्छुक संस्थाको कार्यसमितिमा रहेको व्यक्ति पार्टीको विभिन्न तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा उसको भ्रातृ वा शुभेच्छुक संस्थाको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ ।

तरुण दलका अध्यक्ष गुरुङले भने विधानविपरीत पदमुक्त भइसकेका तरुण दलका तल्लो तहसम्मका पदाधिकारी र सदस्यहरुलाई दोहोरो जिम्मेवारीमै रहेर काम गर्न परिपत्र गरेका हुन् । तरुण दल कांग्रेससम्वद्ध युवाहरुको भ्रातृ संस्था हो । हाल तरुण दलमा अध्यक्ष गुरुङबाहेक पदाधिकारी र सदस्यहरुको मनोनयन भएको छैन ।

‘पार्टीको १४ औं महाधिवेशनको सन्दर्भमा त्यस जिल्लाको पार्टीको विभिन्न जिम्मेवारीमा निर्वाचित भएतापनि नेपाल तरुण दल केन्द्रीय समितिको अर्को निर्णय नभएसम्मका लागि दलको जिल्ला अध्यक्षलगायत विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्ण तरुण साथीहरूलाई आ-आफ्नो जिम्मेवारीमा यथावत रही कार्य गर्न/गराउन यो परिपत्र यो परिपत्रमार्फत निर्देशन गरिन्छ’, गुरुङले जिल्ला कार्यसमितिको नामा जारी गरेको परिपत्रमा उल्लेख छ । कांग्रेस विधानको दफा ४२ को १ को ङ मा ‘पार्टीको कुनैपनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुने छैन’ भनी प्रष्ट उल्लेख छ ।

कांग्रेसको केन्द्रीय समिति यसअघि नै विधानको व्यवस्था लागू गर्ने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर