नेपालमा क्रिकेट खेल्न जिम्बाबेको ‘ए टिम’ आउँदै, तीन एकदिवसीय र तीन टी-२० खेल्ने निधो – Nepal Press

नेपालमा क्रिकेट खेल्न जिम्बाबेको ‘ए टिम’ आउँदै, तीन एकदिवसीय र तीन टी-२० खेल्ने निधो

कप्तानसहित दुईजना बाहेक सबै राष्ट्रिय खेलाडी आउने दाबी

काठमाडौं । टेस्ट राष्ट्र जिम्बाबेको ‘ए टिम’ नेपालमा क्रिकेट खेल्न आउने भएको छ । यही अप्रिलको अन्त्यमा तीन एक दिवसीय र तीन टी–२० को सिरिज खेल्न नेपाल र जिम्बाबेको क्रिकेट बोर्डबीच सहमति भएको हो ।

पहिलोपटक कुनै पनि टेस्ट राष्ट्रको टिम नेपालमा क्रिकेट खेल्न आउन लागेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए । भ्रमण सेड्यूलबारे अन्तिम खाका तयार हुन बाँकी भए पनि आउँदो २९ वा ३० अप्रिलबाट प्रतियोगिता सुरु गर्ने मोटामोटी सहमति भएको उनले जानकारी दिए ।

‘भ्रमण निश्चित भइसकेको छ, तर टाइसिटलगायत सामान्य कुराहरु मिलाउन बाँकी छन्,’ उनले भने, ‘हामी आपसी संवादमा नै छौं ।’
चन्दका अनुसार जिम्बाबेको ए टिम भनिएपछि अधिकांस राष्ट्रिय टिमकै सदस्यहरु रहनेछन् । क्याप्टेन र अर्का एक खेलाडीबाहेक राष्ट्रिय टिमका सबैलाई ए टिममा समावेश गर्ने आश्वासन जिम्बाबेले दिएको उनले बताए ।

क्यानले जिम्बाबेको राष्ट्रिय टिमलाई नै निम्त्याएको थियो । तर, टेस्ट खेल्ने राष्ट्रलाई होस्ट गर्दा आइसीसीको नियमअनुसार आयोजकको खर्च दोब्बर हुने देखिएपछि क्यान ब्याक भएको हो । अब आइसीसीले यी खेलहरुलाई एक दिवसीय वा टी–२० अन्तर्राष्ट्रिय नभएर ‘ए लिस्ट’ को मात्रै मान्यता दिने छ ।

टेस्ट राष्ट्र भए पनि जिम्बाबे पछिल्लो समय क्रिकेट वल्र्डमा खासै बलियो मानिँदैन । तर, पनि जिम्बाबेमा केही राम्रा खेलाडीहरु छन् । हालै जिम्बाबेको एक दिवसीय टिमको नेतृत्व क्रेग इर्भाइनलाई दिइएको छ । टेस्ट टिमका क्याप्टेन सिन विलियम्स छन् । रेगिस चकाभा सबै टिममा उपकप्तान छन् । साउथ अफ्रिकाका भुतपूर्व प्रख्यात अलराउन्डर लान्स क्रुज्नर जिम्बाबेका ब्याटिङ कोच हुन् ।

नेपालले हालै घरेलु मैदानमा पपुवा न्यूगिनी(पीएनजी) सँग दुई एक दिवसीय सिरिज खेलेको थियो । जसमा नेपाल पराजित भएको थियो । एकदिवसीय सिरिज पश्चात नेपालले पीएनजी र मलेसिया सम्मेलीत टी–२० सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले अपराजित रहँदै उपाधी जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर