प्रधानमन्त्री चढेको जहाजभित्र ऋषि धमलाको जोरजुलुम, कारबाहीबारे के भन्छ निगम ? – Nepal Press

प्रधानमन्त्री चढेको जहाजभित्र ऋषि धमलाको जोरजुलुम, कारबाहीबारे के भन्छ निगम ?

धमला भन्छन्- मामुली कुरा हो

काठमाडौं । विभिन्न हर्कतहरूका कारण बारम्बार चर्चा र विवादमा आइरहने पत्रकार हुन् ऋषि धमला । अहिले उनको एउटा नयाँ भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा चढेको नेपाल एयरलाइन्सको विमानभित्रैबाट धमलाले ‘लाइभ’ गरेका थिए । त्यसक्रममा उनले विमानका क्रु मेम्बरहरूलाई जोरजोलुम गरेको भिडिओ फेसबुक र टिकटकमा भाइरल बनेको हो । क्रु मेम्बरहरूले रोक्दारोक्दै धमला इकोनोमी क्लासबाट बिजनेस क्लासमा घुसेका छन् ।

प्रधानमन्त्री फर्केको विमान शुक्रबार राति करिब ८ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको थियो । अवतरणलगत्तै धमलाले बुम समातेर प्राइम टिभीमा ‘प्रत्यक्ष प्रसारण’ सुरू गरेका थिए ।

इकोनोमी क्लासमा यात्रा गरेका धमला सुरूमा भ्रमण दलका एक व्यक्तिसँग कुरा गर्छन् । त्यसपछि सिधै प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै बिजनेस क्लासभित्र घुस्न खोज्छन् । त्यस क्रममा उनलाई जहाजका एक पुरुष कर्मचारी (क्याबिन क्रु)ले रोक्छन् ।

‘सेक्युरिटी प्रोटोकल फलो गर्नुस् सर, यसरी भित्र जान मिल्दैन,’ ती कर्मचारी अनुरोध गर्छन्, ‘कुनै चिठी छ भने दिनुस्, नत्र हामी गरिब मान्छेको जागीर जोखिममा नपारिदिनुस् ।’

तर, उनलाई कुनै वास्ता नगरी ‘हामी प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै धमला भित्र घुस्छन् । त्यसपछि एक महिला (क्याबिन क्रु)एयरहोस्टेसले पनि उनलाई रोक्न खोज्छिन् । धमला एयरहोस्टसलाई पनि हातले पन्छाउछन् । यस क्रममा पुरुष कर्मचारीले ‘महिलामाथि हातपात नगर्नुस्’ भनेको सुनिन्छ । धमला वास्तै गर्दैनन् ।

बिजनेस क्लासमा छिरेर उनी भ्रमण दलका एक सदस्यको बाइट लिन्छन् । प्रधानमन्त्री देउवाको छेउछाउ भने पुग्न सक्दैनन् । उनले खोज्दाखोज्दै देउवा बाहिर निस्किसकेका हुन्छन् । अन्ततः धमला हामी ‘प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै विमान बाहिर निस्किन्छन् र केहीबेर एयरपोर्टभित्र एक्लै यताउता भौतारिदै अन्तमा परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलनमा पुग्छन् ।

के भन्छ निगम ?

यस घटनाका विषयमा हामीले नेपाल एयरलाइन्सको उच्च तहका एक कर्मचारीसँग जिज्ञासा राख्यौं । उनले विमानभित्र यस्तो व्यवहार दण्डनीय हुने बताए ।

‘संसारमा कुनै पनि विमानभित्र एउटा क्लासबाट अर्को क्लासमा जान यात्रुलाई अनुमति हुँदैन, चाहे विमान अवतरण गरिसकेको अवस्थामा किन नहोस्’, उनले भने, ‘त्यसमाथि प्रधानमन्त्री नै चढेको विमानमा यो हदको उद्दण्डता देखिँदा पनि छानबिनको विषय नबन्नु आश्चर्यजनक हो ।’

यो विषयमा सोही विमानमा यात्रा गरेका अपरेसन इन्चार्ज जिम्मेवार हुने उनले बताए । साथै, प्रधानमन्त्री कार्यालयको पनि यसमा ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ ।

नेपाल एयरलाइन्सको उक्त उडान क्याप्टेन रविन्द्रकुमार शेरचन र भारतीय क्याप्टेन तोमारले भरेका थिए । विमानमा अपरेसन इन्चार्जका रूपमा रविन्द्रकुमार शेरचन थिए, जो प्रधानमन्त्रीसँगै दिल्ली गएका हुन् ।

नेपाल प्रेससँग प्रतिक्रिया दिँदै शेरचनले उक्त घटनाबारे आफू जानकार रहेको बताए । तर, नेपाल एयरलाइन्सले यसलाई छानबिनको विषय नबनाएको उनको भनाइ छ ।

‘हामीले चेन अफ कमाण्डका आधारमा चल्नुपर्छ । सबैभन्दा पहिले क्रु मेम्बरबाट सिकायत आउनुपर्‍यो लिखितरूपमा । उनीहरूले फ्लाइटको इनसाइड सुपरभाइजरलाई रिपोर्ट गर्नुपर्छ । त्यसपछि सुपरभाइजरले क्याप्टेनलाई गर्छन् र क्याप्टेनले मलाई गर्छन् । मेरो जानकारीमा अहिलेसम्म त्यस्तो रिपोर्टिङ भएको छैन,’ उनले भने ।

तर, तपाईं आफैं जहाजमा हुनुहुन्थ्यो । भिडिओमा क्रु मेम्बरमाथि जोरजुलुम गरेर बिजनेस क्लासमा घुसपैठ गरिएको प्रष्ट देखिएको छ । त्यसका आधारमा छानबिन गर्न निगमले सक्दैन ?

यस्तो प्रश्नमा शेरचनले जवाफ दिए, ‘भिडिओमा त प्रष्ट नै छ । सेक्यूरिटी प्रोटोकलअनुसार त्यस्तो गर्न नमिल्ने नै हो । यो केस बाहिर आएर चर्चाको विषय भयो । अरु बेला यात्रुबाट क्रु मेम्बरमाथि दुर्व्यवहार र अरु खालका गलत क्रियाकलाप भयो भने हामीले तत्काल प्रहरीलाई खबर गर्ने गरेका छौं । यो केसमा चाहिँ तलबाट रिपोर्टिङ नभइकन हामीले केही गर्ने अवस्था छैन ।’

जहाजभित्र अनुशासन उल्लंघन गर्ने यात्रुलाई कस्तो कारबाहीको व्यवस्था छ ? भन्ने प्रश्नमा पनि शेरचनले अनभिज्ञता दर्शाए ।

‘कानून नहुने त हुँदैन, छ होला पक्कै । अस्ति भर्खरै चेञ्ज भएको छ जस्तो लाग्छ, मलाई ठ्याक्कै थाहा भएन,’ उनले भने ।

आफू सोही विमानमा भए पनि पछि मात्रै घटनाबारे थाहा पाएको उनको दाबी छ ।

धमला भन्छन्- मामुली कुरा हो

पत्रकार धमलाले भने जहाजभित्र आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको इन्टरभ्यू गर्न खोजेको बताउँदै यो ठूलो कुरा नभएको जिकिर गरे ।

उनले भने, ‘अरु देशभित्र पनि यसरी जहाजभित्र अन्तर्वार्ता लिने प्रयास गरिन्छ । यसलाई ठूलो विषय बनाइरहनु आवश्यक छैन ।’

बिजनेस क्लासमा छिर्नको लागि आफूले नेवानीको प्रशासनसँग अनुमति नलिएको उनको स्वीकारोक्ति छ ।

धमलाले भने, ‘मैले प्रधानमन्त्रीका सल्लाहकार र सेक्यूरिटीलाई सोधेको थिएँ । उहाँहरूले हुन्छ भन्नुभएको थियो । तर, नेवानीसँग अनुमति चाहिँ लिएको थिइनँ ।’

धमलाको भिडिओ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भने उनीमाथि कारबाही गर्नुपर्ने प्रतिक्रिया धेरैले दिइरहेका छन् ।

पत्रकारको कार्ड झुण्ड्याउँदैमा जहाँसुकै घुसपैठ गर्ने छुट नहुने भन्दै यो घटनामाथि निगमले तत्काल छानबिन गर्नुपर्ने माग गरिएको छ । साथै, कतिपयले पत्रकार महासंघ र प्रेस काउन्सिलको पनि ध्यानाकर्षण गराएका छन् ।

https://www.tiktok.com/@nabingc2054/video/7082430234657639706?is_from_webapp=1&sender_device=pc&web_id=7083024100671751686


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री चढेको जहाजभित्र ऋषि धमलाको जोरजुलुम, कारबाहीबारे के भन्छ निगम ?

  1. प्रधानमन्त्रीको भ्रमणमा पत्रकारको तर्फबाट ऋषि धमलासंगै सामाजिक अभियन्ताको तर्फबाट ज्ञानेन्द्र शाही, भद्र भलाद्मीको तर्फबाट पुण्य गौतम र मुकुन्द घिमिरे , सहयोगी नेताको तर्फबाट मातृका यादव र भिम रावल पनि लानु पर्ने थियो ता कि भ्रमण टोलि अनुशासित होस।

  2. के धमला प्रधान मन्त्री ज्यु भन्दा ठूलो हो र उसले जहाँ चायो त्यही जन पाउनु पर्ने यो त सरा सर गलत हो नि कारबाही हुनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *