भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्य पालिकामा तालमेल हुन्छ : चितवन कांग्रेस सभापति – Nepal Press
नेपाल टक

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्य पालिकामा तालमेल हुन्छ : चितवन कांग्रेस सभापति

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबिच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै आएका छन् । जिल्लामा चुनावी तालमेल गर्ने विषयमा चितवन कांग्रेसका सभापति राजेश्वर खनालको संयोजनमा सोमबार पहिलो पटक गठबन्धनको बैठक बसेको छ । बैठकमा भएको छलफल र कांग्रेसको अडानको विषयमा खनालसँग गरिएकाे कुराकानी ।

भरतपुर महानगरको मेयरको उम्मेदवारमा कांग्रेसको दाबी किन हो ?

कुनै पनि वस्तु एक किलो पुर्‍याउन छ भने एक पाउ थप्न सजिलो हुन्छ तीन पाउ होइन । त्यो भनेको के भने कांग्रेसलाई माओवादीले मत हाल्दा जित्ने सम्भावना बढी छ । माओवादीलाई कांग्रेसले मत हाल्दा जित्ने सम्भावना कम छ । हामीसँग जम्मा मतको ८० प्रतिशत मत छ । उहाँहरूसँग २० प्रतिशत मात्रै छ ।

पहिलाको पर्म पनि तिर्नु पर्‍यो नि । १० हजार मत भएको माओवादीलाई ४० हजार मत भएको कांग्रेसले मत हालिदिएर । अझ त्यतिले पनि नपुगेर च्यातच्युत पारेर जितेको होइन ? त्यस कारण यसपालि महानगरको मेयरको उम्मेदवार कांग्रेसबाट हुनुपर्छ भनेका छौँ ।

गठबन्धनको बैठकमा के–के कुरा भए ?

जिल्लामा संयोजनका लागि मलाई नै संयोजक तोकेर परिपत्र आएको छ । त्यस कारण मैले नै संयोजन गरेर मेरै पार्टी कार्यालयमा गठबन्धनको बैठक राखे । मैले हाम्रो पार्टीका निर्णय उहाँहरूलाई सुनाएँ । मैले बैठकमा आउँदा आफ्नो पार्टीको निर्णयसहित आउँछु भनेको थिए । यही हिसाबले हामी अगाडि बढ्ने मनसायमा छौँ । हामीसँग धेरै पदहरू छन् । सात पालिकामा प्रमुख र उपप्रमुख गर्दा १४ पद, ९८ वटा वडा छन् । जिल्ला समन्वय समिति छ । यसरी सबै तिर तालमेल गरेर अघि बढौँ भन्ने कुरा राखेँ । उहाँहरूले पनि ठिक छ कुरा राखौँ, छलफल गर्दै अगाडि बढौँ । नमिलेका कुरा मिलाउँदै जाऔँ भन्नुभयो ।

भनेपछि महानगरको प्रमुख कांग्रेसले पाउनुपर्छ भनेर स्पष्ट रूपमा भन्नुभयो ?

हाम्रो बटम लाइन नै यही हो । आइतबार मात्रै मैले मेरो नेपाली कांग्रेसको जिल्ला कार्यसमिति बैठक सम्पन्न गरेँ । त्यो बैठकमा केन्द्रबाट गठबन्धनका दलबिच भएको सहमति अनुसार जुन परिपत्र आएको छ । त्यो परिपत्रका आधारमा जिल्लामा रहेका गठबन्धनका दलहरूबिच तालमेल गरेर अघि बढ्ने निर्णय गर्‍यौँ । दोस्रो निर्णयमा नेपाली कांग्रेसको बटम लाइन के हो त भन्दा महानगरको मेयर पद नछाड्ने भन्ने थियो । त्यही निर्णय अनुसार आज गठबन्धनको बैठकका उपस्थित भएको भनेर बताएँ ।

महानगरको मेयरको उम्मेदवार छान्ने त केन्द्रबाटै हो । जिल्लाको निर्णय विपरीत केन्द्रबाट अर्को निर्णय भयो भने त मान्नुपर्ने होला नि ?

मलाई के विश्वास छ भने मैले केन्द्रीय सभापतिलाई कन्भिन्स गराउँछु । यहाँ पाँच जना केन्द्रीय सदस्य हुनुहुन्छ । पाँच÷छ जना पूर्व सभापति हुनुहुन्छ, माननीय, पूर्वमाननीयहरु हुनुहुन्छ । उहाँहरूको बीचमा म जिल्ला सभापति छु । शेरबहादुर देउवा हाम्रो नेता, हाम्रो सभापति हुनुहुन्छ । हामी सबैले हाम्रो सभापतिलाई कन्भिन्स गराउँछौँ ।

भरतपुरको मेयरको उम्मेदवारमा कुरा मिलेन भने त गठबन्धन टुट्ने होला नि ?

भरतपुरमा माओवादीलाई हामीले मेयर दिएनौँ भने गठबन्धन टुट्न सक्छ । चुनाव जित्यो भने त ठिक छ । हा¥यो भने पनि त फेरि गठबन्धन टुट्ने होला नि । त्यही भएर यस्तो धराप गठबन्धन नगर्दा नै ठिक हुन्छ । एकल निर्वाचनमा जाऔँ । सँगै बस्दा सम्बन्ध नराम्रो हुन्छ भने त फरक–फरक बस्दा नै ठिक हुन्छ नि ।

एकल निर्वाचनमा जाँदा एमालेले जित्ने होला नि । तपाईँहरू यसमा के देख्नुहुन्छ ?

२०७४ मा पार्टीगत गठबन्धन थिएन । हो, हामीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई मतदान गर्‍यौँ । तर त्यति बेला संस्थागत गठबन्धन थिएन । व्यक्तिगत गठबन्धन थियो । माओवादीले हामीलाई कहाँ मत हाल्यो त रु वडामा हाम्रो आफ्नै खाले प्रतिस्पर्धा थियो । अन्य पालिकामा उहाँहरूसँगै हाम्रो प्रतिस्पर्धा थियो । कतिपय वडामा उहाँहरूसँग हामी हारेका पनि छौँ । त्यस कारण त्यति बेला गठबन्धन थिएन केबल पुष्पकमल दाहालको छोरी भएको हुँदा नेपाली कांग्रेसले सत्ता समीकरणका बीचमा एकल सहयोग गर्‍यौँ ।

अघिल्लो चुनावमा कांग्रेसका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी केन्द्रबाट फिर्ता लिइएको थियो । अहिले पनि त्यही अवस्था आउन सक्ने सम्भावना कति छ ?

यो के भने । एक पटक भइसकेको पनि भएकाले ‘अगुल्टोले हान्दा तर्सेको कुकुर बिजुली चम्कँदा पनि तर्सन्छ’ भने जस्तै हो । त्यतिखेर समय कम थियो, त्यसलाई व्यवस्थापन गर्न सकिएन होला । अहिले समय प्रशस्त छ । सबै कुराको जानकारी पनि छ । त्यस्तो हुँदैन । एमाले र माओवादीको गठबन्धन भए मात्रै एकल निर्वाचनमा कांग्रेसलाई गाह्रो हो ।

निर्वाचनका बेला नेताहरूले जनतालाई असीमित सपना देखाउने र जितिसकेपछि न्यूनतम कुराहरू पनि पुरा नगर्ने प्रवृत्ति छ । त्यसो भा हुनाले २०४८ मा हामीले जित्यौँ २०५१ मा हार्‍यौँ । २०५६ मा जित्यौँ २०६४ मा हार्‍यौँ । २०७० मा जित्यौँ २०७४ मा हा¥यौँ । अब २०७९ मा जित्ने पालो हाम्रो हो ।

–महानगरको मेयर कांग्रेसले नै पाउनुपर्छ भनेर अडान चाहिँ किन लिनुभएको हो ?

एउटा कुरा के बुझ्न जरुरी छ भने । हाम्रो छुट्टै पार्टी हो । हामीले छुट्टै मूल्यमान्यता राख्छौँ । एउटा कार्यकालमा हामीले कार्यगत एकता गरेको होला । कार्यगत एकता गर्दै गर्दा त्यो बाटो सबैभन्दा पहिला उहाँहरूले छाड्नुभएको हो । हामीले होइन । त्यस कारण यस पटक उहाँहरूले हामीलाई पर्म तिर्नुपर्छ । गठबन्धन भनेको एक अर्कामा सहयोगको आदान प्रदान हो । आलोपालो हो । अहिले हामीले पाउनुपर्छ ।

उहाँले पाँच वर्षमा गरेको कामको मूल्याङ्कन कांग्रेसले जुन हिसाबले गरेको छ । उहाँले गरेको कामबाट हामी सन्तुष्ट भएको भए त हामीले कतिपय कुरामा सहमति गर्न सक्थ्यौँ होला नि त । कार्यकर्तामाझ रुख चिह्न लिएर जान नसक्ने स्थिति पनि छ । त्यस्तो सिनारियो पनि बन्दै छ । त्यस कारण पनि यो हामीलाई महत्त्वपूर्ण छ । एउटा मान्छेलाई जनताले पाँच वर्षका लागि अवसर दिए । त्यही मान्छेलाई पटक–पटक अवसर दिँदैनौँ ।

न्यूज कारखाना/कुलप्रसाद काफ्ले


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर