वामपन्थीको नकाबधारीसँग वाम एकता सम्भव छैन : नेता पोखरेल – Nepal Press

वामपन्थीको नकाबधारीसँग वाम एकता सम्भव छैन : नेता पोखरेल

चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा वाम तालमेल सम्भव नहुने बताएका छन् ।

चितवनमा आयोजित एमाले नेता जागृत प्रसाद भेटवालको श्रद्धाञ्जली सभा तथा स्मृतिग्रन्थ विमोचन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले काँग्रेसलाई लगेर सरकार बुझाउनेसँग वाम एकता हुनै नसक्ने बताएका हुन् ।

‘वामपन्थीको नकाबधारीसँग गठबन्धन हुनै सक्दैन’ प्रचण्ड—माधव नेपाललाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘कम्युनिष्ट पार्टीको सरकार ढालेर काँग्रेसको सरकार बनाऊ भनेर निवेदन हाल्नेसँग कसरी एकता हुन सक्छ ?’

उनले गठबन्धन मात्रै होइन निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दल एक भएर चुनाव लडे पनि नेकपा एमालेले एक्लै सामना गर्ने समेत दाबी गरे ।

उनले भने, ‘नेकपा एमाले विचारको राजनीति गर्छ, हामी विचारले जनतामाझ जान्छौँ र बहुमत सहित जनताको मन जित्छौँ ।’

कार्यक्रममा आउँदो स्थानीय तहको निर्वाचनमा उम्मेदवारका आकांक्षीले नेतृत्वको निर्णय स्वीकार गर्न समेत वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्देशन दिएका थिए ।

आफूले भनेअनुसार टिकट नपाए दाम्लो नै चुँडाउन खोज्ने प्रवृत्ति गर्नेहरूले जेपी भेटवालबाट सिक्नुपर्ने समेत उनको भनाए थियो ।

सो अवसरमा जेपी भेटवाल स्मृति ग्रन्थको विमोचनको साथै विभिन्न राजनीतिक दल परित्याग गरेर नेकपा एमालेमा आउनेहरूलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी प्रवेश गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर