मेलम्चीमा ‘प्रहसन’ : सुरुङमा पानी हाल्न पारिवारिक दलबलसहित मन्त्री पुगेपछि… – Nepal Press

मेलम्चीमा ‘प्रहसन’ : सुरुङमा पानी हाल्न पारिवारिक दलबलसहित मन्त्री पुगेपछि…

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरी आफ्ना जहान–परिवार (श्रीमती, अमेरिकाबाट आएका छोराबुहारी र दुई नातेदार) लिएर गाडीको लावालस्करसहित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल आम्बाथान पुगे । त्यहाँ उनले जिद्दीपूर्वक मेलम्चीको मुख्य सुरुङमा पानी पथान्तरण (प्रवेश) को उद्घाटन गरे, जसका लागि परियोजनाको सहमति थिएन ।

मेलम्ची परियोजनाका सहायक इन्चार्ज पदम कुँवर र सिनोहाईड्रोबाट सफाइको अर्को ठेक्का लिएका पेटी ठेकेदार समीर लामा सुरुङमा पानी हाल्न राजी थिएनन् । सफाइको काम सम्पन्न नभएको र मुख्य सुरुङदेखि केही तलको एउटा गेट लेदोले ब्लक भएकाले अहिले पानी पठाउन उचित नहुने उनीहरूको भनाइ थियो ।

तर, उनीहरूको कुरा नसुनी मन्त्रीले जसरी भए पनि सुरुङमा पानी हाल्ने अड्डी कसे । निर्माण कम्पनीले काम सम्पन्न गरेर १७ गते जसरी भए पनि पानी पथान्तरण गर्न मिल्ने बचन दिएको र सम्झौतामै पनि त्यो उल्लेख भएको उनको तर्क थियो । पानी पथान्तरण गर्न अरू केही दिन पर्खिनुपर्ने निर्माण कम्पनी र परियोजनाका इन्चार्जले बताएपछि मन्त्री चौधरी कड्किए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा मन्त्री चौधरीको तर्फबाट दबाब बढाइरहेका थिए ।

ग्याल्जेनले परियोजना अधिकारी र निर्माण कम्पनीका लामालाई भने, ‘आज जसरी भए पनि पानी पटाऊँ, यत्रो मिडिया आएको छ । राम्रो समाचार सम्प्रेषण हुन्छ । चुनाव नजिकिएको छ । बरु मन्त्री हिँडेपछि पानी बन्द गर्दा हुन्छ, तर अहिले चाहिँ सहयोग गर्नुहोस् न !’

त्यसपछि उनी मन्त्रीतिर सोझिए र भने, ‘मन्त्रीज्यू पानी जसरी भए पनि हाल्नुपर्छ, निर्वाचन नजिक छ । काम देखाउनुपर्छ । मैले कुरा मिलाएँ ।’

ग्याल्जेनले आश्वस्त पारेपछि मन्त्री मुख्य सुरुङतर्फ लागे र बिचमा रहेको खोलामा पत्नीसँग मिलेर पूजाआजा गरे । पूजा गरेको नरिवल मुख्य सुरुङमा फुटाएर उद्घाटनको सन्देश दिन खोजे ।

तर, मुख्य सुरुङमा मन्त्री पुग्नुअगाडि नै पानी छाडिसकिएको रहेछ । मन्त्री चकित परे ।

उनले सोधे, ‘अघि हुँदैन भन्दै थियौ, पानी छाडिसकेको रहेछ त ?’

निर्माण कम्पनीका कोही पनि बोलेनन्, परियोजनाका अधिकारी पनि मौन रहे ।

खासमा पानी अगाडि नै छोड्नुको कारण चाहिँ सुरुङ पखाल्न रहेछ । निर्माण कम्पनीले पानी मुख्य सुरुङबाट प्रवेश गराउँदै लेदो बगाउने गर्दो रहेछ । मन्त्री आउने भएपछि पानी नहाल्ने भनिए पनि सुरुङमा नै रहेका कामदारसम्म भने त्यो सन्देश पुगेको रहेनछ । त्यसैले कामदारले पानी छाडिसकेका रहेछन् । मन्त्री भने आफूलाई असफल बनाउन पहिल्यै पानी छाडिएको बुझेर जङ्गिएका थिए । पानी आफैँले खोलेर पठाउने उनको चाहना थियो । तर, एकै चोटि ठूलो पानी पठाए संरचनामा समस्या आउने चिन्तामा थिए निर्माण कम्पनी र परियोजना ।

मेलम्ची परियोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सुरुङमा थोरै पानी हाल्दै सफा गर्नुपर्ने बताए ।

उनले भने, ‘सुरुङभित्र लेदो सुन्दरीजलसम्म नै छ । माथिबाटै बिस्तारै पखाल्दै ल्याउने क्रम अन्तरगत पानी छाडिएको हो । पानी पथान्तरण गर्ने काम चाहिँ निर्माण सम्पन्न भएपछि मात्रै गर्ने सहमति थियो ।’

आफूले भन्दा पहिल्यै पानी हालिसकिएको पाएपछि मन्त्री चौधरी निराश देखिए । उनको भावना बुझेर उनै हेलम्बु गाउँपालिकाका अध्यक्षले शेर्पाले फेरि दिमाग लगाए । उनले डोजर लगाएर पानी सुरुङमा हालेको देखाउने जुक्ति निकाले । डोजर पनि बोलाइयो । डोजरले थप पानीको मुहान खोलिदियो र मन्त्रीले एउटा ढुँगा पन्साएर पानी पठाएको जस्तो गरे ।

अम्बाथान पुग्नुअघि क्षमा पुजा

गत असार १ र त्यसपछि पटक–पटक मेलम्ची नदीमा उर्लिएको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी परियोजनाको हेड बक्स र सुरुङलाई मर्मत–सम्भार गर्ने काम चलिरहेको थियो । त्यसको निरीक्षण गर्न पटक–पटक मन्त्री अम्बाथान पुगेकै हुन् । तर, बिहीबार मन्त्री चौधरी परिवारका अन्य सदस्यसहित सुरुमा हेलम्बु गाउँपालिका–१ तार्केघ्याङ स्थित डुक्पाडुङ गुम्बा पुगे ।

मन्त्री चौधरी र उनकी पत्नीले आधाघन्टा क्षमा पूजा गरेपछि करिब १२ बजे तार्केघ्याङबाट टोली मुख्य सुरुङतर्फ पानी पथान्तरणका लागि निस्किएको थियो ।

क्षमापूजाको तयारी र प्रबन्ध भने सोही गाउँपालिका अध्यक्ष शेर्पाले गरेका थिए । बाटोमा केही ठाउँ आराम गर्दै गर्दा मन्त्री चौधरी र शेर्पाबीच ठट्टा पनि भएको थियो ।

मन्त्री चौधरीले भने, ‘कहाँ ल्याएको ए शेर्पा, बाटो त छ गुम्बा पुग्ने ?’

शेर्पाले भने, ‘यही बाटो देखाउन ल्याएको नि । अब पैसा हालिदिनु हुन्छ नि होइन ।’

मन्त्रीले जवाफ दिए, ‘बाठो छ शेर्पा ।’

अम्बाथान पुनः झरेपछि टोली मुख्य हेड बक्स र सुरुङतर्फ लागेको थियो ।

सुरुमा मन्त्रीले ९ नम्बर गेटबाट सुरुङको निरीक्षण गरेका थिए । सुरुङभित्रै प्रवेश गरेर मन्त्रीले त्यहाँको अवस्था नियाले । भित्रको लेदो कसरी सफा हुन्छ भनेर प्रश्न पनि गरे । बाढीका कारण सुरुङभित्र करिब ५ मिटर अग्लो लेदोको जमेको थियो । सुरुङ गेट नम्बर १ बाट पानी प्रवेश गराएर ९ नम्बर गेटबाट पुनः खोलामै लेदो पठाउन सकिने रहेछ । जवाफ पाएपछि मन्त्री मुख्य सुरुङतर्फ लागेका थिए ।

पानी पथान्तरणपछि मन्त्रीको आक्रोश

विवादकाबीच पानी पथान्तरण भएपछि मन्त्री चौधरी अम्बाथानस्थित मेलम्ची परियोजनाको कार्यालयमा फर्किए । त्यहाँ परियोजनाका अधिकारी, निर्माण कम्पनीका ठेकेदार र मन्त्रीको टोलीबिच बन्द कोठाभित्र करिब २ घण्टा बैठक चलेको थियो । बाहिरबाट हेर्दा बैठकमा मन्त्री चौधरी आक्रोशित हाउभाउमा देखिएका थिए ।

बैठकमा सहभागी स्रोतका अनुसार मन्त्री चौधरीले परियोजनाका अधिकारीलाई कतैबाट परिचालित भएर आफूलाई विफल पार्ने खेलमा लागेको हो भने राजीनामा दिन चेतावनी दिएका थिए ।

स्रोतले भन्यो, ‘मन्त्रीज्यूले मेलम्ची परियोजनाका अधिकारीहरूलाई मलाई विफल पार्न चाहनुभएको भए राजीनामा दिनुहोस् भन्नुभयो ।’

करिब साँझको ७ बजे मात्र मन्त्री चौधरी बन्द कोठाबाट निस्किए । अनि मिडियामा अन्तरवार्ता दिन तम्सिए । दिनभर मन्त्रीसँगै हिँडेका पत्रकार मन्त्रीको अन्तरवार्ता लिन करिब ५ बजेदेखि पर्खिरहेका थिए । सुरुमा पुनः सुरुङमै पुगेर अन्तरवार्ता दिने अड्डी कसेका मन्त्रीले रात पनि परेको हुँदा र पानी पनि पर्न सुरु गरेकाले अम्बाथान परियोजनाको कार्यालय परिसरमै अन्तरवार्ता दिन तयार भए ।

उनले पानी पथान्तरण गर्दा खुसी लागेको र जिम्मेवारी पुरा गरेको दाबी गर्दै सिस्नेरी खानेपानी योजनालाई पनि केही वर्षभित्र जोड्ने घोषणा गरे ।

मन्त्री चौधरीले भने, ‘आज म ज्यादै खुसी छु, मैले मेरो जिम्मेवारी पुरा गरेको छु । काठमाडौंबासीलाई केही हप्ताभित्र पानी खुवाउँछु ।’

के छ अबको चुनौती ?

मुख्य हेड बक्स भने अहिले पनि खोल्न सकिएको छैन । यस पटक पानी वैकल्पिक माध्यमबाट सुरुङ १ मा पठाइएको हो । फेरि मेलम्चीमा बाढी आयो भने पुरानै अवस्था नदोहरिएला भन्न सकिन्न ।

हिले पनि सुरुङको गेटभन्दा करिब १० मिटर माथि नदी छ । नदी कुनै बेला उर्लिए सुरुङ पुनः पुरिने हो कि भन्ने त्रास छ । अर्कोतर्फ बर्खा पनि नजिक छ । वैकल्पिक पानी ल्याइँदै गरेकोले यसबारेमा पूर्व–सावधानी अपनाउँदै सरकारले छिट्टै दीर्घकालसम्म रहने हेड बक्स बनाउने ठाउँको पहिचान गरी हेड बक्स निर्माण गर्न जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर