बाढीले विद्यालय बगाउँदा मनाङमा १० महिनादेखि टेन्टमा पढाइ – Nepal Press

बाढीले विद्यालय बगाउँदा मनाङमा १० महिनादेखि टेन्टमा पढाइ

मनाङ ।  गत १ असारमा मर्स्याङ्दी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासो गाउँपालिका–१ तालमा रहेको भानु माविका विद्यार्थी टेन्टमुनि बसेर पढ्नुपरेको छ । विद्यालय भवन बाढीले बगाएको १० महिना बिति सके पनि विद्यालयकाे पुनःनिर्माण हुन नसक्दा विद्यार्थीहरु टेन्टमा पढ्न बाध्य रहेका छन् ।

जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेन्टमुनी पढ्न समस्या भइरहेको कक्षा ९ मा अध्ययनरत प्रतीक गुरुङले बताए ।  टेन्टमा बसेर अध्ययन गर्न मुस्किल हुने गरेको विद्यार्थीहरुकाे भनाइ छ । यस्तै टन्टलापुर घाममा टेन्टमा बसेर पढ्न धेरै गाह्रो भएको कक्षा १० की माया गुरुङले बताइन्  ।

विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेन्ट राखेर पढाइ सञ्चालन गरेको भानु माविका प्र. अ श्यामकृष्ण पन्तको भनाइ छ । उनी भन्छन्, ‘बाढीले विद्यालय भवन बगाएपछि अहिले बाल कक्षादेखि १० कक्षा सम्मका विद्यार्थीलाई अस्थायी टेन्टमा राखेर पठनपाठन गराउँदै आएका छौँ ।’ विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । ताल गाउँको सिङ्गो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको प्र अ पन्तले बताए ।

२०३२ सालमा स्थापना भएको विद्यालयको भवन नै बाढीपहिरोले बगाएपछि मनाङसहित लमजुङका विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन् । मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीन वटा विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ । भानु माविसँगै नासो गाउँपालिका-६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मर्स्याङदी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको  छ ।

मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । जिल्लामा  ४ वटा मावि, ८ वटा आधारभुत र १५ वटा प्रावि रहेका छन् ।
पठनपाठनमा प्रभावित भएको भन्दै गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न बजेट विनियोजन गरेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले  बताए । अस्थायी टहरा निर्माणका लागि १० लाख बजेट छुट्याएकोउनकाे भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *