तरकारी आयात बढ्यो, ११ महिनामा ११ अर्ब ५३ करोड बराबरकाे आलु र प्याज आयात – Nepal Press

तरकारी आयात बढ्यो, ११ महिनामा ११ अर्ब ५३ करोड बराबरकाे आलु र प्याज आयात

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकासिएको छ । आर्थिक वर्ष २०७७/७८ को (फागुन) मसान्तमा रु ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्य बराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेसियाबाट आयात भएको हो ।

झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुकभन्दा आफैँमा लाजमर्दो विषय बन्दै गएको छ ।

सबैभन्दा धेरै आलु भारतबाट रु छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार र बङ्गलादेशबाट रु २४ करोड ८१ लख ५९ हजार गरी कूल रु छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बराबर–भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ ।

सोही अवधिमा रु चार अर्ब ३० करोड ५४ लाख ३९ हजार मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ । भारतबाट ११ करोड ५५ लाख ३२ हजार ६८७ किलो र चीनबाट ७३ हजार ६८० किलो प्याज आयात भएको हो ।

त्यसै गरी यसै अवधिमा रु ४१ करोड १३ लाख ५६ हजार मूल्यका गोलभेँडा आयात भएको छ । भारतबाट रु ४१ करोड १३ लाख ४५ हजार र इन्डोनेसियाबाट रु ११ हजार मूल्यका गोलभेँडा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

सो अवधिमा भारतबाट तीन करोड ८० लाख चार हजार ३३९ किलो र इन्डोनेसियाबाट ६२५ किलो गोलभेँडा आयात भएको छ । इन्डोनेशियाको गोलभेँडा सलादका लागि आयात भएको हो । तीनथरि तरकारीको आयातलाई तथ्याङ्कका रूपमा केलाउँदा गोलभेँडाको उत्पादनमा भने प्रगति हुँदै गएको देखिन्छ ।

यहाँ आलु, प्याज र गोलभेँडा खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा आलु, प्याज र गोलभेँडाको परनिर्भरता चुलिँदै गएको देखिन्छ । नेपाल सरकारले आगामी दुई वर्षमा नेपाललाई तरकारी बालीमा आत्मनिर्भर बनाउने घोषणा गरेको भए पनि प्रतिफल न्यून देखिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी दुई वर्ष अर्थात् आव २०७७/७८ बाट प्रमुख तरकारी बालीमा नेपाल पूर्ण आत्मनिर्भर हुने घोषण भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७४/७५ बाट सुरु भएको हो । परियोजना आव २०८२/८३ सम्म सञ्चालनमा रहने परियोजना व्यवस्थापन एकाइले जनाएको छ ।

नेपालका सबै जिल्लामा आलु खेती गरिन्छ । आलु खेती हुन थालेको २०० देखि २५० वर्षको इतिहास छ । आव २०७६÷७७ को सरकारी तथ्याङ्कअनुसार एक लाख ८८ हजार हेक्टर क्षेत्रफलमा आलु खेती भई वार्षिक ३१ लाख ३१ हजार ८३० मेट्रिक टन आलु उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ ।

यसै आवको आठ महिनामा भारत र बङ्गलादेशबाट दुई लाख ७२ हजार ७७१ मेट्रिक टन आलु आयात भएपछि नेपालीका लागि कूल ३४ लाख चार हजार ६०१ मेट्रिक टन आलु आवश्यक पर्दछ ।

प्याज खेतीमा नाफा नदेखेर किसान आकर्षित हुन सकेका छैनन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७६/७७ मा लगभग तीन लाख मेट्रिक टन प्याज उत्पादन भएको तथ्याङ्क छ ।

चालु आवको आठ महिनामा भारत र चीनबाट एक लाख १५ हजार ६०६ मेट्रिक टन प्याज आयात भएको हो । नेपालीका लागि उत्पादन र आयातलाई हेर्दा झण्डै चार लाख १५ हजार ६०६ मेट्रिक टन प्याजको आवश्यकता पर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर