असन जात्रा धूमधामका साथ मनाइयो (तस्बिर/भिडिओ) – Nepal Press

असन जात्रा धूमधामका साथ मनाइयो (तस्बिर/भिडिओ)

काठमाडौं । नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन आज असन जात्रा धूमधामका साथ मनाएको छ ।

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्‍याएर जात्रा मनाउने परम्परा छ ।

तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिलाख) साटासाट गरिन्छ । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने भन्ने प्रचलन रहिआएको हो ।

खट असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने गरिन्छ जसलाई प्रसादको रूपमा लिइन्छ यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास रहिआएको छ । यस क्रममा विशेष गरी असन र वरिपरि घरका पाहुना बोलाई भोज खुवाउने प्रचलन छ ।

असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ र यस दिन काठमाडौंको भित्री सहरमा परिक्रमा गरी यो जात्रा मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर