प्रधानमन्त्रीको भारत भ्रमण: कांग्रेस-भाजपा सम्बन्ध सुधारको प्रयास, गठबन्धनलाई भाजपाको शुभकामना – Nepal Press

प्रधानमन्त्रीको भारत भ्रमण: कांग्रेस-भाजपा सम्बन्ध सुधारको प्रयास, गठबन्धनलाई भाजपाको शुभकामना

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमणका दौरान दुई मुलुकबीचको आपसी हीत प्रबर्धन भन्दा पनि नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच समन्ध सुधारको प्रयास भएको छ ।

शुक्रबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री देउवा भारतीय जनता पार्टीको दिनदयाल मार्गस्थित मुख्यालयमा पुगे । प्रधानमन्त्रीको भारत भ्रमणको सुरुआत नै भाजपाको पार्टी कार्यलयबाट सुरु भएको थियो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपश्चात आइटीसी मौर्य होटलमा पुगी केहीबेर आराम गरेका प्रधानमन्त्री देउवा लगत्तै भाजपा मुख्यालय पुगेका थिए । त्यहाँ प्रधानमन्त्री देउवालाई भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरे ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले नै नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धको महत्व दर्शाउँदै अन्तरपार्टी सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन चाहेको बताएका थिए । भेटमा प्रधानमन्त्री देउवासहित प्रथम महिला आरजु राणा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, ऊर्जामन्त्री पम्फा भूसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महेन्द्र राय यादवपनि भाजपा अध्यक्षसँगको भेटमा सहभागी थिए । भेटमा सहभागी एक मन्त्रीले भाजपा मुख्यालयको कार्यक्रम मूलतः प्रधानमन्त्री देउवा र भाजपा अध्यक्ष नड्डाको ‘बातचित’ मै केन्द्रीय रहेको बताए ।

‘बिजेपी अफिसमा त प्रधानमन्त्रीजीले नेपाली कांग्रेस र बिजेपीको सम्बन्धमा बढी जोड दिनुभयो’, नेपाली दूतावासको डिनरमा एक मन्त्रीले नेपाल प्रेससँग भने । ती मन्त्रीका अनुसार दुवै देशको राजनीतिबारे देउवा र नड्डाबीच ‘सेयरिङ’ भएको थियो । प्रधानमन्त्री देउवाले नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी, नेकपा समाजवादी, जसपा लगायतका दलबीच राजनीतिक सहकार्य भएको र चुनावसम्मै गठबन्धन गर्ने सहमति बनेको बताएका थिए । भाजपा अध्यक्ष नड्डाले भारतमा पनि गठबन्धन राजनीति संस्थागत भइसकेको भन्दै गठबन्धनलाई सफलताको शुभकामना दिएका थिए ।

भरतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले गत भदौमा नेपाल आएका थिए । त्यतिबेला प्रधानमन्त्री पत्नी आरजुले बालुवाटारमा चौथाईवालेलाई रक्षाबन्धन लगाइदिएका थिए । चौथाइवालेले त्यतिबेलै भारत भ्रमणका लागि भाजपाको तर्फबाट प्रधानमन्त्री देउवालाई निम्तो दिएका थिए ।

देउवाले भने कांग्रेसको १४ औं महाधिवेशनपछिमात्रै आफू भारत जाने बताएका थिए । १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले आफ्ना विश्वास पात्र पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत, अजय चौरसिया र उदयशमशेर राणालाई भारत पठाएका थिए । नेपाली कांग्रेसको प्रतिनिधिमण्डलको रुपमा महत नेतृत्वको प्रतिनिधि मण्डलले दुई पार्टी सम्बन्ध सुधारका लागि पहल लिएको थियो ।

‘जसरी नेपाली कांग्रेस नेपालको मुख्य राजनीतिक शक्ति हो त्यसरी नै भाजपा भारको मुख्य शक्ति हो । दुई देशबीचका मुख्य पार्टीबीच संवाद हुनु सामान्य हो’, कांग्रेसका एक नेताको भनाइ छ ।

भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवा मुख्य औपचारिक कार्यक्रममा सहभागि हुनेछन् । गान्धी समाधिस्थल पुगेर श्रद्धाञ्जली दिनेदेखि भारतीय समकक्षी नरेन्द्र मोदीसँगको वार्ता पनि शनिबार हुनेछ । हैदरावाद हाउसमा दुई देशबीच लिखित सम्झौतासँगै जनकपुर जयनगर रेलसेवाको दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपश्चात नेपाल र भारतका उद्योगीहरुको संस्थाले संयुक्त रुपमा आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवासहितको टोलीले आइतबार बनारसको काशी विश्वनाथ मन्दिरको दर्शन गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गर्नेछन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । विदेशमन्त्री शंकर प्रधानमन्त्री देउवालाई भेट्न आइटीसी मौर्य होटल पुगेका थिए । शुक्रबार साँझ नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रम रात्रीभोजमा प्रधानमन्त्री देउवा सहभागि भए ।

दूतावासको आयोजनामा भएको भोजमा भाजपाका अधिकांश नेताहरु सहभागि थिए । कांग्रेसको पुरानो मित्रता रहेको भारतीय कांग्रेसबाट भने वरिष्ठ नेता करण सिंहमात्रै पुगेका थिए । सिंहसँग प्रधानमन्त्री पत्नी आरजुले केहीबेर छुट्टै भलाकुसारी गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर