अचाक्ली बढ्यो प्रदूषण, कसरी गर्ने नियन्त्रण ? – Nepal Press

अचाक्ली बढ्यो प्रदूषण, कसरी गर्ने नियन्त्रण ?

काठमाडौं । पछिल्लो एक सातायता नेपालकोे वायु अस्वस्थकर बन्दै गएको एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले देखाएको छ । ग्लोवल एअर क्वालिटी इन्डेक्सअनुसार अहिले नेपाल विश्वकै पाचौं प्रदुषित देश हो ।

एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ । काठमाडौंको एक्युआई १४२ रहेको छ ।

नेपालमा प्रदुषण सम्बधी पूर्वानुमान गर्ने प्रणाली नै छैन । यस्तो प्रणाली भएमा प्रदुषणको कारण पत्ता लगाउन सकिने विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले नेपाल प्रेसलाई बताए ।

पौडेलका अनुसार स्याटेलाइटबाट हेर्दा दक्षिण एसियाभरि डढेलो लागेकाले त्यहाँको प्रदुषण नेपालमा आएको हुनसक्छ । नेपालमा भने अहिले डढेलो कम छ ।

उनले भने, ‘ठयाक्कै पुर्वानुमान गर्ने सिस्टम हामीसँग नभएकाले यो भन्न सकेनौं, तर हेर्दा दक्षिण एसिया र भारतका धेरै भू–भागहरुमा डढेलो लागेको देखिएको छ ।’

नेपालमा डढेलो नलागेको अवस्थामा पनि ठ्याक्कै यही भन्न नसकिने उनले बताए । डढेलोकै कारण भए पनि कहाँबाट आयो भन्ने चाहिँ हेर्न बाँकी रहेको उनको भनाइ छ ।

डढेलोले हुने प्रदुषणलाई नियन्त्रण गर्न नसकिने र हावा चल्ने वा पानी पर्यो भने मात्रै प्रदुषण हटेर जाने भएकाले अब यसलाई पर्खिनुको विकल्प नरहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘देशभिको कारणले मात्रै यो अवस्था आउँदैन । नेपाल बाहिरबाट पनि आइराखेको हुन्छ । हामीले प्रदुषणका स्रोतहरु घटाउने मात्रै हो । अरु त बाहिरबाट हुने प्रदुषण नियन्त्रण गर्न सक्दैनौं ।’

प्रि–मनसुन शुरु भएर पानी परेनः मौसमविद्

पानी कम पर्ने, हावाहुरी नचल्ने भएकले वायुमण्डल स्थिर र धुवाधुलोका कणहरु तल्लो तहमा जम्मा भएर बस्छन् । हावाहुरी चल्दा तथा पानी परेको खण्डमा मात्रै वायुमण्डलमा जम्मा भएर बसेको धुलोको कण तथा प्रदुषण उडाएर लैजाने र पानीले सफा बनाउने हुन्छ । प्रि–मनसुन सुरु भएर पनि पानी कम पर्ने, हावाहुरी नचल्ने भएकाले पनि प्रदुषण थप बढ्न मद्दत पुगेको मौसमविद्हरु बताउँछन् ।

‘लामो समय खडेरी परेको खण्डमा हावाहुरी चलेन भने काठमाडौं जस्तो कचौरा आकार भएको शहरमा प्रदुषण उडाएर माथि–माथि लैजादैन, त्यसैले प्रदुषण बढ्ने र हावाको गुणस्तर एकदमै कम हुने गर्छ,’ वरिष्ठ मौसमविद् बरुण पौडेल भन्छन् ।

उनले थपे, ‘हावामा भएका प्रदुषणहरु नउडाएर तल्लो तहमा जम्मा भइ बस्छ । त्यो हामीले नांगो आँखाले पनि देख्न सक्छौं । जबसम्म कचौरा आकार भएको शहरमा बेगले हावा चल्दैन, तबसम्म त्यो ठाउँबाट प्रदुषण हट्दैन । त्यही कारण आकाशमा बादल बने पनि पानी पर्न सक्दैन । जम्मा भएर बसेको प्रदुषण झनै घातक बन्दै जान्छ ।’

उनका अनुसार उद्योग धन्दाबाट निस्कने धुवाँधुलो, वनजंगलमा लाग्ने डँढेलो पनि प्रदुषण गराउने मुख्य कारक तत्व हुन् । तर यस वर्ष गत वर्षजस्तो वनजंगलमा कमै मात्रामा आगलागीका घटना भएका छन् ।

आँखा पिरो हुने धुँवा

गत मंसिरमा अत्याधिक प्रदुषण बढेपछि भारतका मुख्य शहरका विद्यालय बन्द गर्नेदेखि प्रदुषण घटाउन केही शहरमा लकडाउन नै लगाइएको थियो । गत वर्षको चैतमा काठमाडौं विश्वकै प्रद्ूषित शहरको सूचीमा समेत उक्लिएको थियो ।

देशको विभिन्न ठाउँमा लागेको डढेलोका कारण गत चैतको दोस्रो साता देशैभर नेपालको हावा एकदमै प्रदुषित बनेको थियो, जसले आँखा पिरो हुने समस्या एकदमै बढेको थियो । यस वर्ष पनि त्यस्तो अवस्था नआउँला भन्न नसकिने वातावरणविद् बताउँछन् ।

वायु प्रदुषणको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै तत्कालीन सरकारले देशैभर ४ दिन विद्यालय नै बन्द गर्नुपर्यो । यही प्रदुषणका कारण मृत्युसमेत हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

बालबालिका जोगाउन आह्वान

अहिले काठमाडौं उपत्यकालगायत देशभरको हावामा पीएम २.५ माइकोमिटर भन्दा साना धुलोको कणहरु भेटिन्छन् । पीएम २.५ भन्दा साना धुलोको कण सिँधै फोक्सोमा पुग्छ । पीएमको मात्रा जति बढ्दै जान्छ त्यति नै खतरनाक हुन्छ ।

काठमाडौंमा अहिले ९० को हाराहारीमा छ । त्यो भन्नुको मतलव बाहिर निस्कन घातक हुन्छ अवस्था हो । प्रदुषणm् विरामी, रुघाखोकी लाग्ने, बुढाबुढी, बालबालिकालाई मुटु र फोक्सो हानी पुर्याउँछ ।

वातावरणविद् डा. तोरण शर्मा काठमाडौंको वातारण विग्रदै गएकोमा चिन्तित छन् ।

उनी भन्छन्, ‘काठमाडौंको हालत खत्तमै छ । आकाश खैरो देखिन्छ । त्यो भनेको पीएम २।५ हो जुन खतरनाक मानिन्छ । पीएम २.५ले खाली फोक्सोलाई मात्र असर गर्ने होइन यसले मुटुलाई पनि असर गर्छ । शरीरका अन्य अंगलाई असर गर्छ ।’

प्रदुषणले पहिलो आक्रामण ५ वर्षभन्दा तलका बालबालिका र ७० पुगेका बुढाबुढीलाई गर्ने डा. शर्माले बताए ।

उनी भन्छन्, ‘जवानहरुसँग इम्युनिटी पावर बढी हुने भएकाले त्यसलाई धकेल्न सक्छन् । तर बालबालिकासँग इम्युनिटी पावर कम हुन्छ । त्यसैले सरकारले बालबालिकाको स्वास्थ्यमाथि गम्भिर भएर प्रदुषण घटाउनेतर्फ सोच्ने हो भने उनीहरुले स्वच्छ हावा लिन पाउँथे ।’

तर सरकारले प्रदुषणकै कारण बालबालिका विद्यालय जानबाट बञ्चित हुन्छन् भन्ने नसोचेको उनी गुनासो गर्छन् ।

प्रत्येक वर्ष यस्तो हुँदै जाने हो भने ४५ वर्षमै मान्छे बुढो देखिन थाल्ने उनको भनाइ छ ।

डा. शर्मा भन्छन्, ‘पहिला सडक र गाडी सफा हुनुपर्यो । सडकमा अहिले चारैतिर धुलैधुलो छ । काठमाडौंमा सडक खन्ने, घर बनाउँदा गिट्टी–बालुवा छोप्दै नछोपि राख्ने कामहरुमा नियन्त्रण हुनुपर्यो ।’

गाडीमा जोरविजोर प्रणाली लगाउने मात्रै हो भने पनि ७० प्रतिशत प्रदुषण अहिले देखि नै घट्न थाल्ने उनको सुझाव छ ।

‘सार्वजनिक सवारीलाई पनि चुस्त–दुरुस्त बनाउनुपर्छ । कतिपय कुरामा सरकारको सिधै हात हुनुपर्छ । सरकारले त केही गर्ला जस्तो देखिदैन । कसलाई भन्ने मैले जानेर मात्रै हुनेवाला केही छैन,’ उनले दुखेसो पोखे ।

अन्तबाट आएको प्रदुषण भन्न मिल्दैन

अहिले नेपाली आकाशमा अन्तबाट आएको तुवाँलोले मात्रै प्रदुषण बढाएको भन्न नमिल्ने वातावरण विज्ञ् डा. शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘नेपालमा प्रदुषण बढाउन सडक, धुवाँधुलो र सवारीसाधनले पनि मद्दत गरेको छ । साथै सवारीसाधनको चाप बढ्नेवितिकै इन्धनको खपत पनि बढ्ने भएकाले यसबाट निस्कने प्रदुषणले काठमाडौं प्रदुषित शहरको पहिलो नम्बरमा परेको हो ।’

वातावरणविद् डा. शर्मा १५ वर्ष अगाडिको काठमाडौं सम्झदै भन्छन्, ‘काठमाडौं उपत्यकाबाट यो सिजनमा त हिमाल, पहाड देखिनुपर्ने हो । आजभन्दा १५÷२० वर्ष पहिले डम्म कुहिरो लाग्थ्यो अनि आकाश खुल्थ्यो । निलो आकाश अनि चारैतिर हरियाली रमाइलो देखिन्थ्यो । अब त्यो दुर्लभ भयो ।’

काठमाडौंको हावा घातक बन्नुको एउटा कारण निर्माण कार्य पनि रहेको उनको बुझाइ छ । सडक निर्माण, घर निर्माण गर्दा धुवाधुलो सिँधै हावामा जम्मा भइ बस्ने उनी बताउँछन् ।

डा शर्मा थप्छन्, ‘जबसम्म यो निर्माण कार्य सकिँदैनर गाडीहरुलाई रेगुलेट गरिदैन तबसम्म यो प्रद्षण घट्ने अवस्था छैन ।’

मौसम हाम्रो हातमा छैनः वातावरण विभाग

वायु प्रदुषणसम्बन्धी काम गर्न वन तथा वातावरण मन्त्रालयले वातावरण विभागलाई जिम्मा दिएको छ । प्रद्षण नियन्त्रणसम्बन्धी काम, योजना सबै विभागले नै बनाउँदै आएको छ । विभागले उपत्यकासहित देशैभर प्रदुषण घटाउन कार्ययोजना बनाएको विभागको दावी छ ।

सोहीअनुसार सबै क्षेत्रमा प्रदुषण मापन गर्ने यन्त्र राख्ने, औद्योगिक क्षेत्रबाट निस्कने प्रद्षण नियन्त्रण गर्ने, खुलारुपमा फोहोर फाल्न निरुत्साहित गर्ने, विद्युतीय सवारीमा प्रोत्साहन गर्ने काम भइरहेको विभागले जनाएको छ ।

अहिले डढेलो लाग्न नदिनको लागि वन विभागले काम गरेको विभागका प्रवक्ता शंकर प्रसाद पौडेलले बताए ।

कहिले हट्ला प्रदुषण ?

मार्च १ तारिखदेखि प्रि मनसुन शुरु भए पनि लामो समयसम्म वर्षा नहुँदा प्रदुषणले अँध्यारो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राम्रो वर्षाको सिस्टम नआइसकेकाले तत्कालै प्रदुषण हट्ने संकेत नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

राम्रो वर्षा भएमा वा बेगले हावा चलेको भए प्रदुषण हटेर जाने उनको भनाइ छ । उनले भनिन्, ‘प्रि मनसुन शुरु भएपछि तापक्रम पनि बढ्छ । तापक्रम पनि बढेको बढ्यै छ । जनजीवन पनि सामान्य भएपछि प्रदुषण बढ्छ । वर्षा नभएसम्म, राम्रो हावा लाग्ने समय नआएसम्म यस्तै हुने देखिन्छ ।’

वर्षा गराउने सिस्टम नआइसकेको उनले बताइन् ।

तस्बिर:  उमेश कार्की

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर