त्रिपुरासन्दरी गाउँपालिकाको कार्यक्रम: भैंसीपालनमा किसानलाई आकर्षित गर्न दुई हजार भत्ता – Nepal Press

त्रिपुरासन्दरी गाउँपालिकाको कार्यक्रम: भैंसीपालनमा किसानलाई आकर्षित गर्न दुई हजार भत्ता

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका- ३ पिस्करका देव खडकाको घरमा पालेको भैंसी ब्याएपछि गाउँपालिकामा गएर त्यसको जानकारी गराए । गाउँपालिकाका कर्मचारीहरु उनको गोठमा गएर भैसीको बिमा गरिदिएको ट्याग लगाएपछि खडकाले गाउँपालिकाबाट दुई हजार बुझेर घरमा आए ।

सोही गाउँपालिकाका प्रकाश श्रेष्ठले पनि केही महिना अघि गाउँपालिकाबाट यसै गरेर दुई हजार भत्ता गाउँपालिकाबाट बुझेका थिए । त्रिपुरासुन्दरी गाउँपालिकाले कृषकहरुलाई भैसीपालनमा आकर्षित गर्नका लागि भैंसी ब्याएपछि त्यसबापत दुई हजार भत्ता दिने कार्यक्रम अघि सारेपछि स्थानीय खुसी भएका छन् ।

गाउँपालिकाका कृषकहरुलाई भैंसीपालनमा उत्साही गर्नका लागि गाउँपालिकाले गत आर्थिक वर्षदेखि भैसी भत्ता कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘दुई हजार भत्ता थोरै रकम हो,तर यसले किसानहरुुलाई उत्साही बनाउन मात्रै यो कार्यक्रम सुरु गरेका हौ’अध्यक्ष श्रेष्ठले भने ।

त्रिपुरासुन्दरी गाउँपालिकाले भैंसीको बिमा समेत निःशुल्क गरिदिने गरेको छ । गाउँपालिकाले भैसी ब्याएपछि भत्ता दिन थालेपछि गाउँपालिका भर भैसी पाल्नेहरुको संख्यामा समेत वृद्धि भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । एक वर्षको अवधीमा १ सय ६० स्थानीयले भैंसी ब्याएपछि त्यसबापतको भत्ता लिएको तथ्यांक गाउँपालिकासँग रहेको छ ।

गाउँपालिकाले दुई वडामा सहकारी मार्फत भैसी किन्नका लागि ५० प्रतिशत अनुदान दिने कार्यक्रम समेत अघि सारेका छ । अहिले हामीले वडा नम्बर मा मात्रै सहकारी मार्फत ५० प्रतिशत अनुदान दिएका छौ,आगामी वर्षदेखि सबै वडाहरुमा यो कार्यक्रमको सुरुवात गछौ गाउँपलिका अध्यक्ष श्रेष्ठले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *